किन तारो बन्दैछ अक्सफोर्डको कोभिड–१९ भ्याक्सिन ?

के नेपालमा थप भ्याक्सिन आउने द्वार बन्द भएको हो ?

person explore access_timeचैत २, २०७७ chat_bubble_outline0

अक्सफोर्ड युनिभर्सिटी- जेनर इन्स्टिच्युट र ऐस्ट्रेजेनेका कम्पनीद्वारा विकसित प्रवर्द्धित भ्याक्सिनको भारतीय संस्करण भारतको सिरम इन्स्टिच्युटमा बनेको कोभिड–१९ भ्याक्सिन 'कोभिसिल्ड' सोचेभन्दा बढी सफल देखिएको निर्माता कम्पनीले बताइरहेको छ ।

झण्डै डेढ महिना पहिला सुरु भएको भ्याक्सिनेसन अभियानअन्तर्गत नेपालमा १५ लाखभन्दा बढी व्यक्तिले भ्याक्सिन लागाइसकेका छन् । १५ लाख व्यक्तिले भ्याक्सिन लाउँदासम्म नेपालमा भ्याक्सिनबाट कुनै गम्भीर किसिमको स्वास्थ्य प्रतिक्रिया ( रियाक्सन) भएको समाचार आएको छैन । यो नेपालका लागि अत्यन्त सकारात्मक एवं सुखद पक्ष हो साथै भारतीय उत्पादक कम्पनी सिरम इन्स्टिच्युट र कोभिसिल्ड भ्याक्सिनका लागि पनि ।

भ्याक्सिन निर्माणमा प्रयोग हुने 'बेस' पदार्थ (रसायन) तथा यसलाई लामो आयु प्रदान गर्न उपयोगमा ल्याइने 'संरक्षक तत्त्व' (preservatives -a chemical used to stop food and medicine products from decaying) को प्रवृत्ति 'रिएक्सनरी' रहेको हुन्छ । यसले मानिसमा अनेक किसिमका तात्कालिक विकार ल्याउने सम्भावना निहित रहेका हुन्छन् ।

नेपालमा भ्याक्सिनको कुनै किसिमको गम्भीर दुष्प्रभाव दिखएन । अझ दोस्रो चरणको भ्याक्सिनेसन अभियानअन्तर्गत ज्येष्ठ नागरिकमा पनि कुनै किसिमको गम्भीर 'रियाक्सन' भएको समाचार नआउनु (अत्यन्त नाजुक स्वास्थ्य स्थिति रहेका प्रधानमन्त्री केपी ओलीले पनि भ्याक्सिन लगाइसक्नु भएको छ) एक किसिमको चमत्कार नै हो । वास्तवमा देशलाई यस्ता थुप्रै चमत्कार चाहिएका छन् ।

नेपाल मात्रै होइन भारत लगायत कोभिसिल्ड प्रयोग भइरहेका अन्य कतिपय राष्ट्रमा पनि कोभिसिल्ड सफल रहेको समाचार आएका छन् । भारतमा अहिलेसम्म करोडौँ जनालाई कोभिसिल्डको भ्याक्सिन सुरक्षा प्रदान गरिसकिएको छ । उल्लेखनीय रूपमा भारतभरिबाट यस भ्याक्सिन विषयक नकारात्मक समाचार आएका छैनन् ।

युरोपका कतिपय देश लगायत अन्य देशमा लाग्यो प्रतिबन्ध-

 अक्सफोर्डको कोरोना भ्याक्सिन ऐस्ट्रेजेनेका (नेपालमा आएको कोभिसिल्ड) लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएके भन्दै विभिन्न देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन् । यी देशले यस भ्याक्सिनमाथि अस्थायी रूपमा रोक लगाएका हुन् ।

युरोपमा अहिलेसम्म ५० लाख व्यक्तिले यो भ्याक्सिन लगाइसकेका छन् । यसमध्ये झण्डै ३० जनामा रक्तनलीमा रगत जम्ने (ब्लड क्लाटिङ) समस्या देखिएको छ । 'ब्लड क्लाटिङ'का कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा अवरोध आउनाले हृदय, मस्तिष्क लगायतका अन्य अङ्गमा आवश्यक मात्रामा रगत पुग्न पाउँदैन । चिकित्सकहरूका अनुसार यस्तो भएमा मुटु तथा मस्तिष्कघात हुनसक्ने खतरा हुन्छ । अस्ट्रियामा भ्याक्सिन लगाएका एक जनाको ‘ब्लड क्लाटिङ' हुँदा ‘पल्मोनरी इम्बोलिज्म’का कारण मृत्यु भएको बताइए पनि भ्याक्सिनकै कारण यो समस्या उत्पन्न भएको हो/ होइन भन्ने पुष्टि भइनसकेको स्थिति छ ।

उक्त व्यक्तिको मृत्युबारे अन्तिम रिपोर्ट नआएसम्म भ्याक्सिन प्रयोगमा यी देशले अस्थायी बन्देज लाएका हुन् । मृत्युबारेको फाइनल रिपोर्टमा भ्याक्सिन कारण नभएको पुष्टि हुँदा मात्रै पुनः प्रयोगमा ल्याउन सकिने ती मुलुकहरूको भनाइ रहेको छ । थाइल्यान्ड र बुल्गेरियाले भने युरोपेली देशले प्रयोगमा रोक लगाएपछि आफूहरूले पनि भ्याक्सिन लाउने योजना स्थगित गरेको बताएका छन् ।

थाइल्यान्डले प्रधानमन्त्री र अन्य मन्त्रीहरूले अस्ती शुक्रबार खोप लगाउने कार्यक्रम रहे पनि खोप अभियान तत्काललाई स्थगन गरेको थियो ।

खोपमाथिका आशङ्का निवारण गर्दै प्रयोगका लागि सुरक्षित रहेको युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले स्पष्ट पारेपछि मात्रै प्रयोग गर्न सकिने बुल्गेरिया सरकारको भनाइ छ । ‘भ्याक्सिन लगाउन कुनै खतरा छैन भनेर विज्ञले नभनेसम्म हामी आमनगरिकलाई भ्याक्सिन लगाउँदैनौँ,’ बुल्गेरियाका प्रधानमन्त्री बोएको बोरिस्सोभले समाचार संस्था रोयटर्ससँगको भेटमा भनेका थिए ।

उता विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले भ्याक्सिन प्रयोगमा केही मुलुकले प्रतिबन्ध लगाएको बारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञ सम्मिलित सल्लाहकार समितिले यसबारे संज्ञान लिइरहेको बताउँदै डब्लूएचओको प्रवक्ता मार्गरेट ह्यारिसले भनेकी छन्, ‘खोप लगाउन नहुने कुनै कारण छैन ।’ उनले यसलाई ‘उत्कृष्ट’ खोपको संज्ञा पनि दिएकी छन् । हाल देखिएको भनिएको स्वास्थ्य समस्या र भ्याक्सिनमा कुनै अन्तरसम्बन्ध नरहेको दाबी गर्दै उनले भ्याक्सिन लगाउँदा आवश्यक सावधानी अपनाउनुपर्ने कुरा दोहर्‍याएकी छन् ।

भ्याक्सिनको सुरक्षाका विषयमा डब्लूएचओका सल्लाहकार समितिले विश्वभरबाट प्राप्त रिपोर्ट र तथ्याङ्कबारे अध्ययन गरिरहेको र असुरक्षाका केही सङ्केत देखिए तत्काल सचेत गराइने पनि उनले स्पष्ट पारिन् । उता भ्याक्सिन निर्माता कम्पनी ऐस्ट्रेजेनेकाले भने भ्याक्सिन परीक्षणका क्रममा यसको सुरक्षा चुनौतीबारे गहन अध्ययन गर्ने गरेको दाबी गरेको छ । 'हामीले व्यक्तिको उमेर, लिङ्ग, देश आदिका आधारमा यस्तो अध्ययनलाई निरन्तरता दिइरहेका छौँ' ऐस्ट्रेजेनेका कम्पनीका अधिकारीले जानकारी दिँदै भने ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले अहिलेसम्म ऐस्ट्रेजेनेकाको भ्याक्सिन माथि विश्वास राख्दै यसको प्रयोग गरिरहने जनाएको छ । यसका अनुसार 'क्लाटिङ'को केसको अध्ययन भइरहेको र यसको प्रयोग रोक्नुको कुनै अर्थ नभएको जनाएको छ । ऐस्ट्रेजेनेका भ्याक्सिनको जुन ब्याचलाई लिएर यो हङ्गामा मच्चिएको हो त्यो ब्याच नम्बर ABV5300 हो । यस अन्तर्गत भ्याक्सिनको दस लाख डोज बनेको थियो । यसको आपूर्ति युरोपियन युनियनका १७ वटा देश अस्ट्रिया, बुल्गेरिया, साइप्रस, डेनमार्क, इस्टोनिया, फ्रान्स, ग्रिस, आइसल्यान्ड, आयरल्यान्ड, लातभिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, द नेदरल्यान्ड्स, पोल्यन्ड, स्पेन, स्विडेनमा भएको थियो ।

युरोपका विभिन्न देशमा ५० लाखभन्दा बढी ऐस्ट्रेजेनेका खोपको प्रयोग हुँदा अहिलेसम्म 'ब्लड क्लटिङ'का तीसवटा घटना देखिन आएका छन् । यसै कारणले एक जनाको मृत्यु भएको समाचार छ । 'ब्लड क्लटिङ'को समस्या भ्याक्सिनका कारणले भएको हो भन्ने अहिलेसम्म प्रमाणित भएको छैन।

ब्याच नम्बर ABV5300 को भ्याक्सिन १७ वटा देशमा प्रयोग भइरहेको अवस्थामा एक दुई देशमा समस्या देखिनु अन्यत्र यस्तो समस्या नदेखिनु र ३० जनामा गम्भीर 'रियाक्सन' देखिन आएकले विभिन्न देशले भ्याक्सिनमाथि प्रतिबन्ध लाउनु रहस्यमय बन्दै गइरहेको छ । यो लेखी रहँदासम्म यस्तो प्रतिबन्ध लाउने सूचीमा एस्टोनिया, लातभिया, लिथुआनिया र लक्जेम्बर्ग पनि थपिएका छन् । यहाँनिर एउटा अर्को महत्त्वपूर्ण कुरा पनि छ । विश्व स्वास्थ्य सङ्गठनसहित विश्वका ५०-६० वटा देशले प्रयोगको अनुमति दिँदा पनि अहिलेसम्म अमेरिकाको The US Food and Drug Administration (FDA) ले ऐस्ट्रेजेनेका भ्याक्सिनलाई स्वीकृति दिएको छैन। 

सर्वविदित छ, अक्सफोर्डको ऐस्ट्रेजेनेका र कोभिसिल्ड भ्याक्सिन संसारकै सबैभन्दा सस्ता भ्याक्सिन हुन् । अन्य प्रतिस्पर्धी कम्पनीका भ्याक्सिन अक्सफोर्डको तुलनामा धेरै गुना महँगा छन् । यस्तोमा अक्सफोर्डको भ्याक्सिनविरुद्ध दुष्प्रचार हुनु स्वाभाविक हो । यसको खिलाफ दुष्प्रचार सफल भएमा अन्य कम्पनीहरु जसले महँगो दाममा भ्याक्सिन बेचिरहेका छन् । तिनलाई प्रत्यक्ष लाभ हुने निश्चित छ । भ्याक्सिनको खेल अब अन्तर्राष्ट्रिय मेडिकल माफियाको लोकप्रिय खेल बन्न पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन जस्तो संस्था कुनै न कुनै रूपमा यस षड्यन्त्रको मतियार बनेको छ ।

अहिले प्रचलनमा रहेका जुनसुकै भ्याक्सिन हुन, चाहे अक्सफोर्डको ऐस्ट्रेजेनेका होस्, रूसको 'स्पुतनिक भी' होस् । भारतको स्वदेशी भ्याक्सिन भारत बायोटेकको 'कोवैक्सिन' होस्, चिनियाँ 'सिनोफार्म' - 'सिनोवाक' हुन् अथवा नयाँ प्रविधि 'म्यासेन्जर अरएनए' प्रविधिका फाइजर अथवा मोर्डोना हुन्, ती सबै नै (भर्खरै आएको जोनसन एन्ड जोनसनको भ्याक्सिन बारेमा आफू अवगत नरहेको ) कोभिड–१९ को प्रारम्भिक कोरोना भाइरस 'स्ट्रेन'को 'जिनोम सिक्वेसिङ' बाट बनेका हुन्, ती सबै नै क्वालिटीमा उस्ताउस्तै नै हुन् । सबै भ्याक्सिन कोभिड–१९ को 'जेनेटिक म्याटेरियल'बाट बनेका हुन् । कुनै पनि भ्याक्सिन प्रभावकरितामा १९-२० भन्दा बढी फरक छैनन् ।

सबैभन्दा दुखद र चिन्ताजनक कुरा के हो भने यी कुनै पनि भ्याक्सिन विभिन्न देशमा देखा परेका कोरोनाका नयाँ 'भ्यारिएन्ट' विरुद्ध प्रभावकारी छैनन् । चाहे दक्षिण अफ्रीकाको भ्यारिएन्ट होस यूके भ्यारिएन्ट, ब्राजिलियन भ्यारिएन्ट वा भारतमा देखा परेका दुईवटा नयाँ भ्यारिएन्ट विरुद्ध कुनै पनि भ्याक्सिन कारगर छैनन् । भ्याक्सिनका दुइवटै डोज लिएका मानिसमा कोरोना सङ्क्रमण देखिएका केस आइसकेका छन् ।

अति शीघ्र नै यी सबै कम्पनीले आफ्ना भ्याक्सिनलाई कोरोनाका नयाँ भ्यारिएन्ट विरुद्ध 'अपग्रेड' गरी बजारमा ल्याउने छन् तर यस कार्यमा समय लाग्छ। यसरी 'अपग्रेड' गरिएका भ्याक्सिनले पनि परीक्षणका चरणबाट गुजरिनुपर्छ। स्थिति निश्चय पनि चिन्ताजनक छ, यस्तोमा अन्तर्राष्ट्रिय मेडिकल माफियाले एउटा भ्याक्सिनविरुद्ध गरेको दुष्प्रचार निन्दायोग्य छ । अक्सफोर्डको भ्याक्सिन कोभिड–१९ विरुद्ध (स्मरण रहोस् नयाँ भ्यारिएन्टका विरुद्ध होइन) प्रभावशाली र प्रभावकारी छ, लाउन सुरक्षित छ।

तर नेपाल सरकारको असंवेदनशीलताले यस क्षेत्रका समस्त विज्ञलाई आश्चर्यचकित तुल्याइएको छ । नेपालमा दिनहुँ सङ्क्रमणका नयाँ केस आउँदैछन् । तर हामीलाई थाहा छैन यी कुन कोरोना भाइरसका केस हुन् ? कोभिड–१९ का केस हुन कि विश्वभरी देखा परेका नयाँ नयाँ 'भ्यारिएन्ट' का केस हुन् ?

नेपालमा आएको भ्याक्सिन कोभिड–१९ विरुद्ध प्रभावी छ । अब कसैले पनि कोरोना भाइरसलाई कोरोना भाइरस भनेर बुझ्ने गल्ती नगरोस् । अब यसबारेमा चर्चा गर्दा कोभिड–१९ भाइरस र यसका नयाँ 'भ्यारिएन्ट' भनेर चर्चा गरिनुपर्छ । भाइरसका नयाँ 'भ्यारिएन्ट'ले कोभिड–१९ विरुद्ध बनेका सबै भ्याक्सिनलाई 'ओभरटेक' गर्नु का साथै कोभिड १९ बाट सङ्क्रमित भई निको हुनेहरुलाई पनि पुनः गम्भीर सङ्क्रमित बनाउन सक्छ, यससम्बन्धी समाचार प्रकाशित भइसकेका छन् । अर्थात कोभिड–१९ लागेर निको भएका मानिससँग रहेको एन्टिबडीविरुद्ध पनि नयाँ 'भ्यारिएन्ट'को भाइरस विजयी भइरहेको छ ।

नेपालमा भ्याक्सिन लिएका मानिसले पनि २०२० मा झैँ सुरक्षाका सबै उपाय अवलम्बन गरिरहनुपर्छ । नेपालमा अहिलेसम्म १५ लाख मानिसले खोप लिएको तथ्याङ्क छ । नेपालमा अहिलेसम्म तीन खेपमा गरी जम्मा २३ लाख ४८ हजार थान भ्याक्सिन भित्रिएका छन् । १५ लाखले पहिलो डोज लिइसके । अब यी १५ लाख मानिसलाई नै दोस्रो खुराकका रूपमा १५ लाख थान भ्याक्सिन आवश्यक हुन्छ। नेपाल सरकारसँग भ्याक्सिनको उपलब्धता मात्र ८ लाख ४८ हजार रहेको छ। यो लेख्दै गर्दा नै ६ लाख ५२ हजार डोजको अभाव भइसकेको छ। नेपाल सरकार अझै चेतेको छैन । भ्याक्सिनेसन अभियान अझै जारी छ । अन्ततः परिणाम हुन्छ कसैले पनि भ्याक्सिनको दोस्रो डोज पाउँदैनन् । दोस्रो डोज नपाएसम्म भ्याक्सिनले दिने सुरक्षा खै के खै के सरह नै हुन्छ।

भारतमा तीव्र रूपमा देखापरेको सङ्क्रमणको दोस्रो लहरले गर्दा अब भारतले थप भ्याक्सिन दिने सम्भावना छैन । निर्माता कम्पनी सिरम इन्स्टिच्युटले यस सम्बन्धमा नेपाल सरकारलाई अवगत गराउँदै पत्र पनि पठाइ सकेको छ ।

नेपाल सरकारले अविलम्ब भ्याक्सिनेसन अभियानलाई स्थगित गरी बाँकी रहेका भ्याक्सिनलाई दोस्रो खुराकका लागि सुरक्षित गर्नु नै बुद्धिमानी हुनेछ । अन्यथा पहिलो डोज लिएका मानिस नै सुरक्षित हुन सक्दैनन् । आशा गरौँ नेपाल सरकारले यसबारे उचित पाइला चाल्ने छ ।

भ्याक्सिन लिएका अथवा नलिएका सबै नेपाली नागरिकले सङ्क्रमणबाट जोगिन सबै किसिमका उपाय अपनाइरहनु नै कल्याणकारी हुनेछ। याद गर्नुस्, नेपालमा अब तत्काल भ्याक्सिन आउने सम्भावनाका सबै द्वार बन्द भइसकेका छन् । आफ्नो सुरक्षा आफै गर्नुस्, यसबाहेक अन्य केही उपाय छैन।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।