शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता समीकरणको गोलचक्कर : तीन दलको बैठक अनिश्चित

सोमबार, ०२ चैत २०७७, २३ : ५८
सोमबार, ०२ चैत २०७७

काठमाडौं । सत्ता समीकरणका लागि तीन दलबीच हुने भनिएको वार्ता अनिश्चित भएको छ । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा झण्डै तीन बर्ष अघिको अवस्थामा फर्केपछि सुरु भएको नयाँ सत्ता समीकरणको प्रयास र नेताहरुको दौडधूप भने जारी नै रहेको छ ।

परिवर्तित राजनीतिक अवस्थासँगै केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता गर्न तयार भएको नेकपा माओवादी केन्द्र नयाँ सत्ता समीकरणका लागि दलहरुबीचको सहकार्य सुनिश्चिततालाई पर्खेर बसेको छ ।

सर्वोच्च अदालतले नेकपा विवादमा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेपछि एमाले र माओवादी पुर्ववत अवस्थामा फर्केपछि माओवादी केन्द्रसहित नेपाली काँग्रेस र जसपाले नयाँ सत्ता समीकरण बनाउने प्रयास जारी राखेका छन् । त्यसका लागि यी तीनवटै पार्टीबीच फागुन २३ यता विभिन्न पटक छुट्टाछुट्टै वार्ता गरिरहेका छन् । उता केपी ओलीले पनि जसपालाई आफ्नो पक्षमा पार्न दुई चरण वार्ता गरिसकेका छन् । जसपमा एक पक्ष ओलीलाई साथ दिनुपर्ने मनस्थितिमा छ भने अर्को पक्ष त्यसको विपक्षमा उभिएको छ । महन्त ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक हुन चाहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओलीसँग सहकार्य कुनै हालतमा गर्नुनहुने बताइरहेका छन् । 

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिदै संघर्षरत काँग्रेस, समाजवादी पार्टी र माओवादीबीच एजेण्डाको हिसावले नयाँ सत्ता समीकरण हुने बताइएपनि दलहरुबीचको लेनदेन नटुङ्गिँदा ढिलाइ भइरहेको नेताहरुको भनाइ छ ।

खासगरी ओली सरकारको विस्थापन गर्नुपर्ने पक्षमा रहेका यी तिनै दलमध्ये काँग्रेसलाई सरकारको नेतृत्व गर्नेगरी सहमति जुटाउन लागेपनि उनीहरुबीचको आन्तरिक लेनदेनमा ठोस सहमति भैसकेको छैन ।

यसअघि शुक्रबार ओली र समाजवादी तथा शनिबार माओवादी र जनता समाजवादीका नेताहरुबीच सत्ता सहकार्यबारे छलफल भएको थियो । शनिबार भएको माओवादी समाजवादीका नेताहरुबीचको छलफलमा काँग्रेस, समाजवादी र माओवादीबीच छलफल गर्ने सहमति भएको थियो । तर, यस्तो सहमति भएको ३ दिन बित्न लाग्दा समेत तीन दलबीचको वार्ता हुन सकेको छैन ।

तीन दलको संयुक्त बैठक सोमबार बस्ने भनेपनि माओवादी नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले तीन दलबीचको वार्ताबारे आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘तीन दलको बैठक कतिबेला बस्ने हो ?,’ भन्ने रातोपाटीको प्रश्नमा श्रेष्ठले भने, ‘आज ३ दलको बैठक छ र ?’ भन्दै प्रतिप्रश्न गरे । ‘खै, मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस्तै काँग्रेस नेता तथा महामन्त्री डा. शशांक कोइरालाले पनि तीन दलबीचको वार्ताबारे आफुलाई कुनै जानकारी नभएको बताए । ‘मलाइ त थाहा छैन, सभापतिजीले एक्लै गर्न खोजेको भए थाहा भएन’ कोइरालाको भनाई छ । उता काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले पनि यसबारे प्रस्ट जवाफ दिएन । ‘वार्ता हुने कुरा भएपनि निश्चित भैसकेको छैन’, सभापति देउवाका स्वकीय सचिव भानु देउवाको जवाफ छ ।

चैत ३ गते मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । यसअघि नै दलहरुबीच सहमति जुटाउने प्रयास भएपनि तीन दलको बैठक नै अनिश्चित बन्दा नयाँ सरकार गठनको प्रक्रियामा ढिलाइ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप