शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१३ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए यूकेको छैटौं काउन्सिल बैठक सम्पन्न

सोमबार, ०२ चैत २०७७, १० : १२
सोमबार, ०२ चैत २०७७

 

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आइतबार भर्चुअल रुपमा सम्पन्न छैठौं संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) ले १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काउन्सिल बैठकले गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता,भूतपूर्व गोर्खाहरुको समान हक स्थापनाको आन्दोलन, आइसीसीले अघि सारेको स्मार्ट एनआरएनएको अवधारणा, अनलाइन भोटिङ नेपाल सरकारको आर्थिक समृद्धिको लक्ष्य, नेपालको पर्यटन एवम् विदेशी लगानी प्रवर्धन, महिला सशक्तीकरण लगायतका एजेन्डामा प्रतिवद्धतासहित रचनात्मक पहल अघि बढाउन एनआरएनए यूकेलाई सुझाव दिएको छ ।

बेलायतस्थित १ सय ५० बढी नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागितामा सम्पन्न काउन्सिल बैठकमा संघका गतिविधिको समीक्षा र भावी कार्यदिशामा निर्देशनसहित घोषणापत्र जारी गरिएको हो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न काउन्सिल बैठक बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले उद्घाटन गरेका थिए ।

बैठकमा मन्तव्य दिंदै राजदूत लोकदर्शन रेग्मीले एनआरएनए यूकेसंग सहकार्यको अपेक्षासहित केही महत्वपूर्ण विषयमा प्रस्ताव राखेका थिए । ‘मैले आफ्नो प्राथमिकताको कार्यसूची नेपाल सरकारलाई पनि अवगत गराउने छु’, उनले भने ।

‘बेलायतमा अथाह बजार सम्भावना छ । यहाँ रुचाइने सेवा, वस्तु उत्पादन गर्ने सम्भावना नेपालमा धेरै छ’, राजदूतले भने, ‘विशेष गरि कृषि उत्पादनमा बेलायतबाट प्रविधि तथा सीप, वन, वनस्पति, हर्बलजस्ता औषधिजन्य सामग्रीको बेलायतमा बजार प्रवर्धन र लगानीमा एनआरएनए यूकेसंग साझेदारी, सहकार्य गर्न मेरो प्रस्ताव छ ।’

राजदूत रेग्मीले काठमाडौं लन्डन सिधा हवाइ सेवा सुचारु गर्ने पहलमा कुनै कसर बांकी नराख्ने जनाउँदै शिखरमा पुगिसकेका बेलायतस्थित नेपाली वौद्धिक वर्गबाट नेपालले धेरै लाभ लिन सक्ने पनि बताए ।

भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा आफूले गम्भीर रुपमा लिने प्रतिवद्धता राजदूत रेग्मीले व्यक्त गरेका छन् । उनले भने, ‘हामीलाई भूपू गोर्खाका थप उपलब्धि हासिल गर्नुछ । म त्यसमा लाग्नेछु ।’

कार्यक्रमको उद्घाटन सत्रमा एनआरएनए उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा हेमराज शर्मा, एनआरएनए सल्लाहकारहरु कुल आचार्य र विश्वआदर्श पण्डित, एनआरएनए यूके संरक्षक तथा पूर्व अध्यक्षहरू सूर्य गुरुङ र योगकुमार फगामी, आइसीसी सदस्य रामशरण सिम्खडा लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै, नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष डा. रमेश खोजु, मगर संघ यूके अध्यक्ष सुनिल राना, सल्लाहकार शिवजी श्रेष्ठ, नेपलिज वुमन एसोसिएसन यूके आरती श्रेष्ठ, तमुधिं यूके वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, पासा पुच गुठी यूके बोर्ड अफ ट्रष्टीज अध्यक्ष ओजेश सिंह, साझा नेपाली समाज मिडल्याण्ड महेश अधिकारी, कर्ण शाही, खुशीमान गुरुङ, बलबहादुर थापा, यज्ञमूर्ती ढकाल, अर्कराज तिमिल्सिना लगायतले पनि शुभकामना दिएका थिए ।

उद्घाटन सत्र समापन गर्दै एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतका नेपाली संघसंस्थासँगको समन्वय र सहकार्य आफूहरुको पहिलो प्राथमिकता रहेको स्पष्ट गरिन् ।

एनआरएनए यूके सिंगो समुदायको भावना र चाहनाअनुसार नै अघि बढ्ने विश्वास दिलाउँदै उनले रचनात्मक सल्लाह, सुझाव र मार्गनिर्देशन सधैं अपेक्षा राख्ने बताइन् ।

साझा मुद्धाहरुमा समुदायको एकताबद्ध पहल जरूरी रहेको भन्दै अध्यक्ष गुरुङले त्यसका लागि आवश्यक संयोजन र समन्वयको भूमिका निभाउन एनआरएनए यूके तत्पर रहेको जनाइन् ।

कार्यक्रम सञ्चालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रम संयोजक एवम् उपाध्यक्ष रोजिना प्रधान राईले स्वागत मन्तव्य दिएकी थिइन् । आइसीसी सदस्य रामशरण सिम्खडाले हालै निधन भएका एनआरएनए यूकेका संस्थापकमध्येका एक डा चन्द्र लक्सम्बाप्रति श्रद्धाञ्जली स्वरूप उनको प्रोफाइल प्रस्तुत गरेका थिए ।

दोश्रो चरणमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।उनीहरुले मुख्यगरी नेपाली नागरिकताको निरन्तरता, गोर्खाहरुको समान हक स्थापना, नेपालको आर्थिक एवम् पर्यटन प्रवर्द्धन , एनआरएनए अभियानमा महिला,युवासहित समुदायको सबै तप्काको सहभागिता बिस्तार लगायतका मुद्धामा रचनात्मक पहल अघि बढाउन एनआरएनए यूकेलाई सुझाव दिएका छन् ।

बेलायतका नेपालीहरुको अभिभावक संस्थाका रुपमा एनआरएनए यूकेले सबैको भावना र आकांक्षा समेट्दै र एकत्रित गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार उनीहरुले राखेका थिए ।

त्यसअवसरमा महासचिव फडिन्द्र भट्टराईले पेश गरेको संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्र रोकाले पेश गरेको आर्थिक प्रतिवेदन समेत छलफलपछि सर्वसम्मतिले पारित गरिएको थियो ।

त्यस्तै, स्मार्ट एनआरएनएका विषयमा आइसीसी सचिव गौरी जोशी, गोर्खा आन्दोलनका चुनौती र अवसरबारे आइसीसी गोर्खा टास्कफोर्स संयोजक ले रि चन्द्रबहादुर गुरुङ र यही मार्च २१ मा हुने बेलायतको जनगणनामा नेपालीको सहभागिताका विषयमा डा कृष्ण अधिकारी, समिर गुरुङ र माया केसीले छुट्टाछुट्टै प्रिजेन्टेसन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा एनआरएनए यूकेका मिडिया संयोजक ध्रुवराज अर्यालले काउन्सिल बैठकमा सहभागीहरूबाट व्यक्त सुझाव र धारणाहरुलाई समेटेर तयार पारिएको १३ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका थिए । घोषणापत्र लेखन आइसीसी मानार्थ सदस्य चिरन शर्मा र अग्रज पत्रकार नविन पोखरेलको संयोजनमा पत्रकार ध्रुवराज अर्याल, प्रमिला लाबुङ राई, एनआरएनए यूके प्रवक्ता रामकुमार गुरुङ र सचिव कोशलेश्वर ढकालले गरेका थिए ।

सोही अवसरमा एनआरएनए यूकेले कोभिड महामारीका बेला चलाएको सहयोग अभियानमा विभिन्न ढंगले सहयोग पुर्याउने ५१ संघसंस्थाहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

दोस्रो सत्रको सञ्चालन एनआरएनए यूके सचिव जीत रानाभाटले गरेका थिए ।

एनआरएनए यूकेको छैठौँ संघसंस्था प्रतिनिधिसभा काउन्सिल बैठकबाट जारी घोषणापत्र :

एनआरएनए यूकेको छैठौँ संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक)
१४ मार्च, आइतबार, २०२१
घोषणापत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको छैटौँ संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) १४ मार्च आइतबारका दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकको संयोजन संघकी उपाध्यक्ष तथा संघ संस्था समन्वय विभागकी प्रमुख रोजिना प्रधान राईले गर्नुभएको थियो । बैठकमा महासचिव फडिन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्र रोका मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भए ।

काउन्सिल बैठकमा भूतपूर्व गोर्खाका अधिकार, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अवधारणा, अनलाइन भोटिङ, बेलायतको जनगणनालगायत आम गैरआवासीय नेपालीका चासो र सरोकारका कयौं विषयमा व्यापक र महत्वपूर्ण छलफल भयो ।

बैठकमा उपस्थित भएर रचनात्मक सहभागिता जनाउनका साथै एनआरएनए यूकेलाई सहयोग र हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मी, विशेष अतिथिहरु गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशीसहित बेलायतस्थित सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, गोर्खा अभियन्ताहरु, समाजका अगुवा, बुद्धिजिवी, सञ्चारकर्मी, महिला तथा युवा अभियन्ता सबैप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दछ ।

१ सय ५० भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका सल्लाहकार, केन्द्रीय पदाधिकारी, समाजका अग्रज व्यक्तित्वहरु लगायतको उपस्थितिमा सम्पन्न बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सुझावका आधारमा यो काउन्सिल बैठकले निम्नानुसारको १३ बुंदे घोषणापत्र जारी गर्दछ ।

१. ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल भावना अनुसार नेपालको संवैधानिक प्रावधान अनुरुप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता गर्न हाल संघीय संसदमा विचाराधिन ‘गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन’लाई संसदको चालू अधिवेशनबाट अनुमोदन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

२. गैरआवासीय नेपाली तथा बेलायतस्थित भूतपूर्व गोर्खाहरुको सम्पतिको अधिकार सुरक्षित गर्न वंशजको नेपाली नागरिक सरह पूर्ण अधिकारको ग्यारेन्टी गर्न यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।

३. लामो समयदेखि भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन तथा बेलायती सेनामा अन्य सैनिक सरह पूर्ण अधिकारको मागप्रति यो बैठक पूर्ण रुपमा ऐक्यवद्धता व्यक्त गर्दछ ।

४. नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानमा सहकार्यका लागि सदैव उत्साहित एनआरएनए यूके नेपालमा सुनिश्चित लगानीको वातावरण निर्माणका लागि समेत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, गैरआवासीय नेपाली संघको सक्रियतामा नेपालमा शुरु हुन लागेको १० अर्ब लगानी कोषमा सहयोग गर्न बेलायतभरका गैर आवासीय नेपालीमाझ यो बैठक अपिल गर्दछ ।

५. यही मार्च २१, २०२१ का दिन बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा सक्रिय सहभागिता जनाई ’इथ्निसिटी’ तथा ’मुख्य भाषा’ मा ‘नेपाली’ लेख्न सम्पूर्ण बेलायतवासी नेपाली समुदायमाझ यो बैठक आव्हान गर्दछ ।

६. गैरआवासीय नेपाली संघले अघि सारेको स्मार्ट एनआरएनए तथा संघको पुर्नसंरचनाप्रति यो बैठक एक्येवद्धता व्यक्त गर्दछ । साथै, एनआरएनए यूकेको निर्वाचनमा अनलाइन प्रविधिमार्फत अनलाइन भोटिङको व्यवस्थासहित गैरआवासीय नेपाली संघका पञ्जिकृत सदस्यहरुका लागि निःशुल्क सदस्यता वितरण गर्नेबारे सरोकारवालासंगको आवश्यक छलफलपश्चात अघि बढ्न यो बैठक निर्देश गर्दछ ।

७. नेपालमा पछिल्लो समय महिला तथा बालबालिकाहरुमाथि बढ्दो दुर्व्यवहार , बलात्कार तथा घरेलु हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यो बैठक त्यस्ता किसिमका घरेलु तथा यौनिक दुव्र्यवहार अन्त्यका लागि नेपाल सरकारसहित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराउँछ । साथै, त्यस्ता घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई मनोपरामर्शसहित क्षतिपूर्तिको व्यवस्था गरिदिन यो बैठक नेपाल सरकार समक्ष माग गर्दै राष्ट्रिय समन्वय परिषद बेलायतलाई समेत महिला सशक्तिकरणमा जोड दिन निर्देश गर्दछ ।

८.आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई पनि मतदानको समान अधिकार प्रदान गर्न यसअघि नै नेपालको सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ । त्यसका लागि विदेशस्थित नेपाली दूतावासमार्फत मतदाता नामावली संकलन र मतदानको व्यवस्था गर्न यो बैठक नेपाल सरकारको ध्यानार्कण गराउँदछ ।

९. गैरआवासीय नेपाली संघ यूकेको मौजुदा विधानमा भएका जटिलताहरुबारे यो बैठक गम्भीर मनन गर्दै समय सापेक्ष परिमार्जन तथा संशोधनका लागि तुरुन्तै आवश्यक प्रक्रिया चाल्न कार्यसमितिलाई पूर्ण अधिकार प्रदान गर्दछ ।

१०. गैरआवासीय नेपाली संघ यूके बेलायतस्थित नेपाली राजदूतावास, बुद्धिजिवी, पत्रकार, महिला, युवा, विद्यार्थी, कलाकार, साहित्यकार, व्यवसायी, पेशाकर्मी लगायत सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

११. यस काउन्सिल बैठक बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मीद्वारा प्रस्तुत गैरआवासीय नेपाली संघ यूकेसँग सहकार्य गरी अगाडि बढ्ने प्रस्तावको हार्दिक स्वागत गर्दै नेपाली दूतावास लण्डनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

१२. विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड १९) का कारण निधन हुने एनआरएनए यूके पूर्व उपाध्यक्ष एवम् गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बासहित बेलायत र विश्वभर ज्यान गुमाउने गैरआवासीय एवम् सम्पूर्ण नेपालीहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

१३. यस काउन्सिल बैठक नेपालको आर्थिक समृद्धि, विकास, पर्यटन प्रवर्धन, वैदेशिक लगानी प्रवर्धन, महिला सशक्तिकरण लगायतका एजेण्डामा आवश्यक साथ र सहभागिताका लागि समस्त गैरआवासीय नेपालीहरुमा अपिल गर्दछ ।

गैरआवासीय नेपाली संघ यूके, १४ मार्च २०२१ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप