बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

सिरियामा एक दशकको युद्धमा तीन लाख ८८ हजार भन्दा बढीको मृत्यु

आइतबार, ०१ चैत २०७७, २२ : ४५
आइतबार, ०१ चैत २०७७

एजेन्सी । सिरियामा एक दशक पहिले  शुरू भएको  गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ । 

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सको तथ्याङ्कअनुसार द्वन्द्वका कारण एक लाख १७ हजार ३८८ नागरिकको मृत्यु भएको र तीमध्ये २२ हजारभन्दा बढी बालबालिका रहेका छन् ।  

सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानवअधिकारवादी संस्थाले बताएको छ ।  संस्थाले गत डिसेम्बरमा उपलब्ध गराएको तथ्याङ्कमा सिरियामा गृहयुद्धमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार रहेको थियो ।

सन् २०२० मा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या युद्ध सुरू भएपछिको करिब एक दशकको अवधिमा सबैभन्दा कम रहेको संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए । यो वर्षको उत्तर पश्चिमी सिरियामा युद्धविराम भएको कारण रूपमा युद्धका घटनामा कमी आएको र उक्त समय विश्वव्यापी महामारीका कारण सिरियामा पनि यस प्रकारका गतिविधि कम भएको बताइएको छ । 

सन् २०११ मा सरकार विरोधी प्रदर्शनमाथि क्रुर दमनपछि द्वन्द्व थप चर्किएको र कारागार र नजरबन्द तथा हिरासतहरूमा कम्तिमा १६ हजार व्यक्तिको मृत्यु भएको अभिलेख सरकारको रहेको छ ।  यद्यपि मानव अधिकारवादी संस्थाहरूले उक्त सङ्ख्याभन्दा निकै बढी अर्थात् ८८ हजार मानिसहरूले सरकारी जेल तथा हिरासतमा ज्यान गुमाएको दावी गरेका छन् । 

सन् २०१५ पछि रूसी सहयोगमा बसर अल असदको नेतृत्व रहेको सरकारले विद्रोही विरुद्धको कारबाहीलाई सशक्त बनाएपछि अहिले सरकारको नियन्त्रणमा ६० प्रतिशत भूभाग रहेको तथ्याङ्क रहेको बताइने गरिएको छ ।

उत्तर प्रदेशको इदलिबको अन्तिम विद्रोही क्षेत्र, उत्तरी सिमानामा टर्कीले नियन्त्रण गरेका क्षेत्रहरू र युएस समर्थित कुर्दिश सेनाको नियन्त्रणमा रहेको देशको उत्तरपूर्वी भागहरू सरकारको पहुँचभन्दा बाहिरको क्षेत्रहरू हुन् । युद्धले मुलुकको आधा भन्दा बढी जनसंख्यालाई आफ्नो घर छोड्न बाध्य तुल्याएको छ । युद्ध अनुगमनकारी संस्थाका अनुसार सिरियामा लगभग दुई लाख मानिस बेपत्ताको सूचीमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप