शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा झण्डै दुई लाख जनाले लगाए कोरोनाविरुद्ध खोप

आइतबार, ०१ चैत २०७७, २१ : ४५
आइतबार, ०१ चैत २०७७

हेटौंडा । बागमती प्रदेशमा झण्डै दुई लाख जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । प्रदेशका १३ वटा जिल्लाका विभिन्न खोप केन्द्रबाट दुई चरणमा गरी एक लाख ९८ हजार २ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा र दोस्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई निःशुल्क कोरोनाविरुद्धको खोप सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

प्रदेशभरका १३ जिल्लाका स्थानीय तहमार्फत दोस्रो चरणको खोप सेवा सञ्चालन भइरहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले बताए ।

उनका अनुसार दोस्रो चरणसम्ममा प्रदेशका ४ लाख ५७ हजार ७ सय ६६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य छ । प्रदेशमा लक्ष्यअनुसार ४३ दशमलब ३० प्रतिशतले खोप सेवा लिइसकेको उनले बताए ।

उनका अनुसार दोलखाका ४ हजार ४००, सिन्धुपाल्चोकका १२ हजार ६३४, रसुवाका १ हजार ९२५, धादिङका १५ हजार १४०, नुवाकोटका १२ हजार १६७, काठमाडौंका ५५ हजार ६९२, भक्तपुरका १२ हजार ३८६, ललितपुरका १९ हजार ६२७ जनाले खोप लगाएका छन् । यस्तै, काभ्रेका १२ हजार ११२, रामेछापका ८ हजार ५७५, सिन्धुलीका ८ हजार ७०९, मकवानपुरका ८ हजार ७९९ र चितवनका २५ हजार ६५२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

मकवानपुरमा खोपप्रति जनताको उत्साह कम

मकवानपुरमा भने कोरोनाविरुद्धको खोपप्रति जनताको उत्साह नदेखिएको डा. सेढाई बताउँछन् ।

मकवानपुरका दशवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । मकवानपुरमा ६१ हजार १६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ८ हजार ७९९ जनाले मात्र खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप