माओवादी केन्द्र बैठकः मन्त्रीहरुलाई आफ्नो पार्टी कुन हो सुसूचित गर्न निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । आइतबार पेरिसडॅाडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले नेकपा(माओवादी केन्द्र)बाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग गरि सरकारबाट फिर्ता हुन केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई नै सदर गर्दै फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले नेकपा(माओवादी) केन्द्र छाडेका नेताहरुलाई पार्टी परित्याग गरेको हो/होईन स्पष्टिकरण दिन पनि भनेको छ ।
प्रवक्ता श्रेष्ठले भने– ‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरे अनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरुलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा निर्णय गरेको छ । त्यसैगरी हिजोकै केन्द्रीय कार्यालयको प्रस्तावअनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्यहरु अर्को पार्टीमा रहनुभएको सार्वजनिक रुपमा सूचना प्राप्त भएको छ । त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नको निम्ति र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति र आगामी दिनको कार्यभारको सम्बन्धमा रिपोर्टिङ गर्नुका साथै नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्म माथि कसरी प्रहार भयो र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मन्तव्य रिपोर्टिङ गरेका थिए ।
प्रवक्ता श्रेष्ठले भने– ‘अध्यक्ष कमरेड प्रचण्डले संक्षिप्तमा अहिलेको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, हाम्रो पार्टीका सामु देखा परेका चुनौति र नेपाली कम्युनिष्ट आन्दोलनको सम्बन्धमा देखापरेको चुनौती र भावी हाम्रो कार्यभार बारेमा संक्षिप्तमा रिपोर्टिङ गर्नुभयो र दिशानिर्देश गर्नुभयो । त्यसपछि केन्द्रकै तर्फबाट रिर्पोटिङ गर्ने क्रममा पार्टीको केन्द्रको तर्फबाट रिर्पोटिङ नारायणकाजी श्रेष्ठ, मैले पनि गरें । हाम्रो पार्टी एकताको उदेश्य, औचित्य र मर्म के थियो, पार्टी एकताको उदेश्य र मर्म माथि कसरी प्रहार भयो ? त्यसपछि पार्टी माथि र नेपालको अग्रगामी परिवर्तनमाथि कसरी आक्रमण भयो ? र हामीले अहिले पुनः नेपालको राजनीतिलाई ऐतिहासिक उपलब्धिको रक्षा गर्दै अगाडी बढ्ने दिशातिर र पार्टीलाई पुनः क्रान्तिकारी पार्टी निर्माणको दिशातिर अगाडि बढ्ने कार्यभारको बारेमा चर्चा गर्ने काम गरियो ।’
बैठकमा पार्टी संगठनको अवस्थाको सम्बन्धमा १ नम्बर प्रदेशबाट सह इन्चार्ज मायाप्रसाद काफ्ले, २ नम्बरबाट सह इन्चार्ज विश्वनाथ शाह, बागमती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले, सुदूरपश्चिम प्रदेशबाट सचिव नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए भने उपत्यका विशेष कमिटीको तर्फबाट इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाईंले रिर्पोटिङ गर्नुभएको प्रवक्ता श्रेष्ठले बताए ।
केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । सोमबारको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले वर्तमान सन्दर्भमा आफ्नो विचार राख्ने, संगठनात्मक काम, पार्टीको विधान परिमार्जन र पार्टीको अनुशासन, पाँचौ राष्ट्रिय भेला गर्ने लगायतका कार्यसूचीमा रहेको विषयमा छलफल गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै