बर्षाको फिल्म ‘सावधान’ सार्वजनिक
काठमाडौं । वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म ‘सावधान’ सार्वजनिक भएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित फिल्ममा बालयौन दूराचारको विषय उठाइएको छ । सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दूव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसङ्ग फिल्मले देखाउन खोजेको छ ।
वर्षाको अलवा काव्या अधिकारी, प्रविण खतिवडा, आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीलगायतको अभिनय रहेको फिल्ममा अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले निर्माण गरिएको निर्देशक लामाले बताए ।
‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलै दुर्घटना निम्तिन सक्छ ।’
करिव १० मिनेट अवधिको फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । ‘घरभित्र हुने यौन दुर्व्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडकहरु झन् उत्साही हुन सक्छन्, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो’ एक निर्माता फुर्वाले बताइन् ।
स्क्रिप्ट पढ्ने बित्तिकै कथाले मन छोएको र आफू अभिनय गर्न तयार भएको वर्षा राउत बताउँछिन् । उनले थपिन्, ‘यस्तो संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शक समक्ष पुर्याउनु कलाकारहरुको कर्तव्य हो । यो फिल्मले पनि यही उद्देश्य बोकेको छ ।’
शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो । दर्शकहरुले फिल्ममा समेटिएको सन्देशको प्रशंसा गरिरहेका छन् ।