‘द ग्रेटेस्ट जिनियस अफ द म्यानकाइन्ड’

person explore access_timeचैत १, २०७७ chat_bubble_outline0

 

विश्वमा अनेक दिन अनेकथरिका ‘स्मृति दिवस’ मनाउने प्रचलन छ । विभिन्न अन्तर्राष्ट्रिय दिवस मनाइन्छन् । यसबारेमा मेरो  किञ्चित पनि विरोध छैन । एउटा माग मात्रै तेर्स्याउने भूमिका बाँधेको हो । प्रत्येक वर्षको मार्च १४ लाई ‘इन्टरनेसनल ‘जिनियस’ डेका रुपमा मनाउनुपर्ने आवश्यकता छ ।

आउनुस् तपाईंलाई इतिहासको यात्रामा लैजाऔँ । सन् १९०५ तिरको कुरा हो । एउटा कम्पनीमा काम गर्ने ‘क्लर्क’ मनमनै आफैसँग प्रश्न गरिरहेको थियो । प्रश्न थियो, यदि प्रकाशको गति सर्वाधिक २ लाख ९९ हजार ७ सय ९२ किमि प्रतिसेकेन्ड एवं स्थिर भयो भने के हुन्छ होला ? यदि म २ लाख ९९ हजार ७ सय ९२ किमि लामो रेलको पहिलो डब्बा 'ए'माथि उभिएको छु । मेरो पाठक एवं मित्रका रूपमा तपाईं सबैभन्दा पछाडिको डब्बा 'बी'  माथि उभिनुभएको छ ।

तपाईंले एउटा टर्चलाइट बाल्नुभयो र मतिर ‘फोकस’ गर्नुभयो । भौतिक विज्ञानको पूर्णतया पालन गर्दै ‘टर्चलाइट’ को प्रकाश ‘मसम्म’ एक सेकेन्डको निर्धारित समयमा आइपुग्यो । नबिर्सनु होला हाम्रो रेलको लम्बाइ २ लाख ९९ हजार ७ सय ९२ किमि  छ । यति नै १ सेकेन्डमा प्रकाशले हिँड्ने स्थिर अङ्क छ ।

अब त्यो क्लर्कले अर्को कल्पना गर्‍यो, यदि त्यो ‘ट्रेनलाई’ प्रकाशको गतिको आधी गतिले अर्थात १,४५,८९६  किमि प्रति सेकेन्डले  गुडाइयो । तपाईंले फेरि टर्चको प्रकाश मतिर फ्याल्नु भयो ।

अब तपाईं स्वयं नै म भएतिर प्रकाशको आधी ‘स्पिडले’ आउँदै हुनुहुन्छ । यस बेला प्रकाश आधी सेकेन्डमै “मसम्म” आइपुग्नु पर्ने हो !?

‘क्लर्क’का आँखा चम्किए । उनले जवाफ पाइसकेका थिए । तर तिनलाई त्यतिखेरसम्म थाहा थिएन, उनले पाएको जवाफले ब्राह्माण्ड र समयका बारेमा सबै प्रचलित मान्यता ध्वस्त गर्दै विज्ञान नयाँ आयाममा प्रवेश गर्न गइरहेको छ ।

क्लर्क महाशयले १९०६ मा ‘साइन्टिफिक  जनरल’मा लेखे । समय सापेक्ष हुन्छ, प्रत्येक व्यक्तिले भिन्नभिन्न समय अनुभव गर्छन् । तपाईं जति  छिटै हिँड्नु हुन्छ, समय तपाईंका लागि त्यति नै ‘स्लो’ हुँदै जान्छ । स्विस पेटेन्ट कम्पनीमा कार्यरत ती क्लर्कका अनुसार माथिको प्रयोगको दोस्रो चरणमा पनि प्रकाशलाई 'ए' बोगीबाट 'बी' बोगीसम्म पुग्न १ सेकेन्डकै समय लाग्छ ।

शास्त्रीय व्याख्यामा जेसुकै भनिए पनि वास्तवमा समय भनेको “कणहरुको (फोटान) गति” हो ।

ती युवा क्लर्कले १९०६ ताका भनेको कुरा ‘समय गतिसँग परिवर्तित  हुन्छ’ भन्ने कुरा परीक्षण गर्ने कुनै उपाय थिएन । हाम्रा घडी पनि त्यति दुरुस्त थिएनन् । तर अहिले तपाईं समयको सटिक  परिभाषा बुझ्नु सक्नु हुन्छ । १ सेकेन्डको समय कति लामो हुन्छ ? कहिल्यै सोच्नु भएको छ ?

‘सिजियम’ (CAESIUM 133)  तत्त्वका ‘इलेक्ट्रोनले’ ‘इनर्जी’ पाएर आफूले परिक्रमा गरिरहेको केन्द्रबाट ‘जम्प’ गरेर ‘हाई इनर्जी आर्बिट’ मा पुग्छ ।

 ‘हाई इनर्जी आर्बिट’मा पुगेर एउटा ‘फोटान’ (प्रकाशकण) छाडेर पुनः आफ्नो कक्षामा फर्किन्छ । यस प्रक्रियालाई इलेक्ट्रनिक ट्रान्जिट भनिन्छ ।

केन्द्रमा परिक्रमारत इलेक्ट्रानले जम्प गरी 'हाई इनर्जी आर्बिट’मा पुगी यसरी ‘फोटान’ छाड्ने प्रक्रिया ९ अरब १९ करोड, २६ लाख  ३१ हजार, ७ सय ७० पटक दोहर्‍याउनु नै  हाम्रो १ सेकेन्ड हुन्छ ।

वैज्ञानिकहरुले  ‘एटमिक क्लक’ बनाइसकेपछि एउटा प्रयोग गरे ।

सन् १९७१ को अक्टोबर महिनामा यूस नभल आबजरभेटरीले एउटा हवाई जहाजमा चारवटा ‘एटमिक क्लक’ राखेर विश्व परिक्रमामा  पठायो । विमान फर्केपछि घडी ‘चेक’ गर्दा सबै चिकित बन्न पुगे । घडीको समयमा परिवर्तन आइसकेको थियो ।

हवाई जहाजको गति १०००-१२००  किमि प्रति घण्टा हो । यो गतिमा तपाईं हामी समय ‘स्लो’ भएको अनुभव गर्न सक्दैनौँ, ‘एटमिक क्लक’ले गर्‍यो । ती क्लर्कले ६५ वर्ष पहिला दाबी गरेको कुरा सत्य सावित भयो ।  समय गतिको सापेक्ष हुन्छ, समय परिवर्तनशील छ ।

तपाईंहामी परोक्ष रुपमा अहिले पनि गतिले समय ‘स्लो’ हुन्छ भनेर अनुभव गर्न सक्दैनौँ । यदि तपाईंसँग प्रकाशको गति ९९.९९९९ ‘स्पिड’ले उड्ने कुनै अन्तरिक्ष यान छ र तपाईं त्यसमा बसेर १ दिन अन्तरिक्षमा घुमेर पृथ्वीमा फर्किनुहुन्छ भने तपाईंको लागि १ दिन वितेको हुन्छ तर पृथ्वीमा भने ६१२८६ वर्ष बितिसकेका हुन्छन् । पत्याउन गाह्रो भयो, होइन ! तर सत्य यही  हो ।

हो, प्रकाशको गति ९.९९९९ ‘स्पिड’ले उड्न सक्ने ‘स्पेस क्राफ्ट’ बनाउन मानिसलाई अझै हजारौँ वर्ष लाग्छ ।

स्वीकार गर्नुस् पाठकगण, ती युवा क्लर्क तपाईंहामीभन्दा लाखौँ गुणा ‘जिनियस’ थिए । हुन त तपाईंमध्ये धेरै जनाले क्लर्क महाशयलाई चिनिसक्नु भएको होला । तर म उनको नाम लेख्नुभन्दा पहिला उनीबारे केही अरु लेख्ने मुडमा छु ।

पछि गएर उनी अमेरिकाको ‘प्रिन्सटन विश्वविद्यालयमा काम गर्न थाले । एक दिन विश्वविद्यालयबाट घर फर्कन ट्याक्सी चढे । तर उनलाई फसाद पर्यो ! आफ्नो घरको ठेगाना नै बिर्सेछन् । ट्याक्सी ड्राइभर उनलाई अनुहारले चिन्दैन थियो ।

उनले ड्राइभरलाई भने, मैले आइन्स्टइनको घर पुग्नु छ, के तपाईंलाई उनको घर थाहा छ ? ट्याक्सी ड्राइभरले भन्यो, ‘प्रिन्सटनमा आइन्स्टइनको घर थाहा नपाउने कोही पनि छैन । म तपाईंलाई सोझै उनको घर पुर्‍याइदिन्छु’ । ओर्लेपछि पैसा तिर्दै ती महान् ‘जिनियस’ले भने ‘धन्यवाद । म नै आइन्स्टइन हुँ, मैले आफ्नो घरको ठेगाना बिर्सेको थिए ।

हत्तेरिका ! नाम खुलिगयो नि ! अर्को एउटा घटना, उनी रेलमा यात्रा गरिरहेका थिए । ‘टिकट चेकर’ आयो । उनले सर्वत्र खोजे तर टिकट भेटिएन । चेकरले म तपाईंलाई चिन्छु, तपाईं जस्तो मानिस टिकट नकिनी हिँड्दैन, खोज्न छाडिदिनुस् भन्दै चेकर अगाडि बढे । 

तर आइन्स्टाइनले टिकट खोज्ने प्रक्रिया जारी राखे । यो देखेर अर्का सहयात्रीले भने, छाडी दिनुस् महाशय ‘चेकर’ गइसके ।

आइन्स्टाइनले जवाफ फर्काए, ‘टिकट नभेटिए मैले कहाँ पुगेर ओर्लिनु छ, कसरी थाहा पाउने !?

यी महानतम् ‘जिनियस’ आइन्सटाइन १४ मार्च सन् १८७९ मा  जर्मनीको एउटा यहुदी परिवारमा जन्मेका थिए । उनका बुवा हर्मन आइन्स्टाइन र आमा पाउलिन आइन्स्टाइन थिए । चार वर्षको हुँदासम्म उनी बोल्न सक्दैनथे । उनले पहिलो पटक बोलेको वाक्य थियो सुप धेरै तातो छ । केटाकेटीमा आइन्स्टाइन मन्द बुद्धिको थिए तर पछि गएर महानतम् वैज्ञानिक बने ।

आइन्सटाइनलाई आज विश्वभरि नै सर्वसाधारणले E=Mc2 का लागि चिन्छन् । तर विज्ञानका विद्यार्थीहरुका लागि उनी ‘जनरल रिलेटिभिटी’, ‘स्पेसल रिलेटिभिटी’, फोटो इलेक्ट्रिक इफेक्ट’, ‘ब्रोनियन मोसन थ्योरी’, ‘आइन्स्टाइन फिल्ड इक्वेसन’, ‘बोस आइन्स्टाइन स्टेटिक्स’, ‘बोस आइन्सटिन कन्डेन्सेन्ट’ ‘ग्रेभिटेसनल वेभ’, ‘कास्मोलोजिकल कान्सटेन्ट’, युनिफाइड फिल्ड थ्योरी’, ‘ईपीआर प्यराडाक्स थ्योरी’ जस्ता अनेकौँ वैज्ञानिक सिद्धान्तका लागि विख्यात छन् ।

‘क्वान्टम थ्योरी’को आविस्कारकका रुपमा विख्यात वैज्ञानिक म्याक्स प्लाङ्कले एक पटक भनेका थिए, “आधुनिक भौतिक शास्त्रमा यस्तो कुनै विषय छैन, जहाँ आइन्सटाइनको केही न केही योगदान न होस्” ।

‘पार्टिकल थ्योरी’, मोसन अफ मालिक्युलस’ र प्रकाशको ‘थर्मल प्रोपर्टी’को उनको सिद्धान्तले पछि गएर ‘फोटान थ्योरी’ प्रतिपादित  भयो ।

अर्का एकजना भौतिकविज्ञ रिचर्ड फेन्मनले भनेका थिए, ‘प्रत्येक सैद्धान्तिक भौतिकविद् आइन्स्टाइनकै कुनै न कुनै खोजलाई अगाडि बढारहेका छन् । उनी असाधारण र अत्यन्त क्षमता समपन्न थिए । उनको मस्तिष्क आकाशमा थियो, खुट्टा पृथ्वीमा । हामीमध्येका व्यक्तिहरुले आकाश र पृथ्वी मध्ये एउटामा टेकेका हुन्छौँ ।

विज्ञानमा रुचि राखेर अध्ययन गर्ने पाठकहरुलाई विदित नै होला । दुई तीन वर्ष पहिला जुन ‘माइक्रोवेभ ब्याग्राउन्ड रेडिएसन’को खोज भयो । झण्डै सय वर्ष पहिला त्यसको घोषणा आइन्स्टाइनले गरिसकेका थिए ।

आउने कयौँ शताब्दीसम्म विज्ञानले जे नयाँ नयाँ खोज गर्छ, त्यसको केन्द्रमा कतै न कतै आइन्स्टाइनको प्रभाव हुनेछ । आइन्सटाइनले जुन बेला प्रिन्स्टन विश्वविद्यालय प्रवेश गरे, त्यहाँको ‘म्यानेजमेन्ट कमिटी’ले उहाँसँग, ‘उहाँलाई आफ्नो शोधका लागि केकस्तो ल्याब, उपकरण र अन्य सामग्री चाहिन्छ लेखेर दिने अनुरोध गर्‍यो  ।

उनले एउटा ‘ब्ल्याकबोर्ड’, ‘चक’, ‘पेपर’ र कलमका साथै एउटा ठूलो ‘डस्टबिन’ मागे । उनको भनाइ थियो, काम गर्दा मबाट धेरै गल्ती हुन्छन् । लेखेका कागज फ्याल्नुपर्छ । ‘डस्टबिन’ सानो भयो भने छिटै भरिन्छ । हो, उहाँको मस्तिष्क नै उहाँको विराट प्रयोगशाला  थियो ।

अन्तरिक्ष, समय प्रकाश, गुरुत्वाकर्षण लगायत जुनसुकै भौतिक शास्त्रका क्षेत्र पढ्नुहोस्, आइन्स्टाइनसँग तपाईंको जम्काभेट हुने निश्चित छ ।

१८ अप्रिल १९५५ का दिन यी महान् ‘जिनियस’ को निधन भयो । डा. थोमस हार्बेले यिनको मस्तिष्क सुटुक्क झिकेर राखे । २० वर्षपछि १९७५ मा आइन्स्टाइनका छोराले अनुमती दिएर मस्तिष्कलाई २४० भागमा बाडेर संसारभरीका शोधकर्ताहरुलाई ‘रिसर्च’का लागि  पठाइयो ।

आइन्स्टाइन मावनताको इतिहासकै सर्वाधिक ‘जिनियस’ मानिन्छन् । ‘द ग्रेट जिनियस’ ।

आइन्स्टाइनले आफ्नो जीवनमा अनेकौँ पुस्तक एवं ‘रिसर्च पेपर’ लेखे । उनको जीवन र कार्यबारे अनेकौँ लेखकले कयौँ पुस्तक लेखेका छन् । यिनी महान् ‘जिनियस’ को सम्झनामा हामीले १४ मार्चलाई ‘जिनियस डे’ का रुपमा मनाउनु सर्वथा उपयुक्त हुनेछ । संसारभरी आइन्स्टाइनको नाम ‘जिनियस’को पर्याय बनी नै सकेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।