हेटौंडा अस्पतालका दुईजना चिकित्सक बर्खास्त

हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुई जना चिकित्सक बर्खास्त गरिएका छन् । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको शुक्रबारको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए ।
करिब ६ वर्षदेखि हेटौंडा अस्पतालमा कार्यरत डा. अन्सारीविरुद्ध बारम्बार सेवाग्राहीको गुनासो आउने र ड्युटी समयमा धेरै पटक निजी क्लिनिकमा काम गर्दै गरेको अवस्थामा भेटेपछि अस्पतालले बर्खास्त गरेको डा. श्रेष्ठले बताए ।
डा. अन्सारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफ्नै निजी क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् । अस्पतालमा बिरामीको जाँच गर्न छोडेर डा. अन्सारी ड्युटीको समयमै निजी अस्पताल तथा क्लिनिकहरूमा व्यस्त रहने गरेको हेटौंडा अस्पताल विकास समितिको निष्कर्ष छ ।
त्यस्तै, अस्पताल विकास समितिले छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकबाटै औषधि खरिद गर्न बाध्य बनाउने गरेको भन्दै सेवाबाट हटाएको छ । डा. पाण्डेले अस्पतालका बिरामीहरुलाई औषधि खरिदका लागि निजी क्लिनिक तोकेर पठाउने गरेको र अस्पतालमा जानकारी नगराई आफुखुशी बिदा बस्ने गरेको कारण सेवाबाट हटाएको अस्पतालले जनाएको छ ।
शुक्रबार नै एक सेवाग्राहीले अडियो रेकर्डसहित अस्पताल प्रशासनमा गुनासो गरेपछि उनीहरुलाई अस्पतालले सेवाबाट हटाएको डा. श्रेष्ठ बताउँछन् ।
सेवाग्राहीको गुनासोका आधारमा अस्पतालले उनीहरुसँग बारम्बार स्पष्टिकरण सोधेको र चेतावनीस्वरुप पटक पटक निलम्बनसमेत गरेको थियो ।
अस्पताल प्रशासनको निलम्बन र चेतावनीको बेवास्ता गर्दै काममा कुनै सुधार नआएपछि उनीहरुलाई सेवाबाट हटाउन बाध्य भएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ