क्याप्टेन विजय लामाको जीवन : 'क्विक डिसिजन'ले म धेरै पटक जोगिएको छु
विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् । तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइन्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयरलाइन्सका बिमान उडाउँछन् । साहसी, आँटिलो र मानवता भएको विमान चालकमा समेत आफूलाई चिनाउँदै आएका लामा राम्रो कलाकार हुन् । विसं २०४० मा निर्माण भएको ‘आदर्श नारी’ फिल्मबाट अभिनेताका रूपमा अभिनय सुरु गरेका उनको अभिनय यात्रा अहिले पनि जारी छ । उनी अभिनयलाई दोस्रो पेसासमेत मान्छन् । गायक, टेलिभिजन प्रस्तोताका रूपमा पनि चिनिएका लामाले करिब ५० वटा नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा समेत अभिनय गरिसकेका छन् । आफैले विमान हाँकेर २० बढी देशमा पुगेका लामाले कोरोना समयमा जोखिम मोलेर विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए । विमान उडानका क्रममा थुप्रै पटक जोखिमको सामना गरेका लामा आफूमा रहेको ‘क्विक डिसिजन’ क्षमताले धेरै पटक जोगिन सफल भएको बताउँछन् । पाइलट विजय लामाको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा छोटकरीमा उनकै शब्दमा ।
मेरो खाना
सामान्य नेपाली खाना दालभात र तरकारी मनपर्छ, त्यो पनि घरमै बनेको । अर्काे मनपर्ने खाना चाइनिज पनि हो । माछामासु पनि खान्छु । चिनी हालेर बनाएको खानेकुरा भने मनपर्दैन ।
रेस्टुरेन्ट परिवार, साथीभाइ सबैसँग जान्छु । फाइभस्टार होटलको खानेकुरा भन्दा सानोतिनो रेस्टुरेन्टको खाना बढी मनपर्छ । रेस्टुरेन्टमा चाइनिज, थाई लगायत खाना खान्छु ।
पकाउनतिर पनि मेरो रुचि रहेको छ । सबै प्रकारको परिकार पकाउन सक्छु । मीठो पकाउने दाल हो ।
मेरो फिट्नेस
फिटनेसका लागि सजग छु । नियमित एक्सरसाइज गर्छु । कोरोना लागेर रिकभर भएपछि भने फिट्नेसमा ध्यान दिएको छैन । अब फेरि फिट्नेस सुरु गर्छु । जिम क्लब सधैँ जान्छु । ढाडको कारणले वाक गर्नुहुँदैन । कहिलेकाहीँ दौडन्छु । ट्रेडमिल, डम्बेल लगायत घरमा फिट्नेसको सामान पनि छन् ।
मेरो अध्ययन
बिहान बेलुकी किताबहरू पढ्छु । पछिल्लो समय भने पुस्तक पढ्न पाएको छैन । वास्तविकतामा आधारित कथा, जीवनी, प्रेरणा दिने खालका पुस्तक पढ्न मनपर्छ । फिक्सन कथा भने मनपर्दैन ।
मेरो घुमघाम
पेसाले नै मलाई धेरै स्थान घुमाउने गरेको छ । तर मलाई घुमघामभन्दा कोठामा बस्न मनपर्छ ।
घुम्नुपर्यो भने काठमाडौँ बाहिरका डाँडाकाँडा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको ठाउँहरु मनपर्छ । देशका केही ठाउँमा घुमेको छु । विदेशका भने अनगन्ती देश पुगेको छु ।
मेरो फुर्सद
फुर्सद मिलायो भने फुर्सद पनि हुन्छ । त्यसैले फुर्सद छैन भन्न मिल्दैन । फुर्सदमा घरमै बस्न, परिवारसँग रमाउन, उनीहरुका लागि समय दिन मनपर्छ । साथीभाइ, आफन्तलाई समेत समय दिन्छु ।
मेरो खेलकुद
खेलकुदमा रुचि पहिले पनि थियो अहिले पनि छ । पहिले त म लङ टेनिसको राष्ट्रिय स्तरको खेलाडी थिएँ । कराँतेको पनि राम्रो खेलाडी थिएँ । अहिले पो भ्याउँदिन ।
अहिले टिभीमा खेलहरु हेर्छु । धेरै हेर्ने भनेको फाइटिङका खेलहरु हुन् । अन्य खेलहरु पनि हेर्ने गरेको छु ।
मेरो मोबाइल
अहिले मसँग साओनी ब्रान्डका दुईवटा मोबाइल छन् । डाटाहरु एकदमै चाहिने भएकाले दुईवटा मोबाइल बोक्ने गरेको हो ।
कुराकानी गर्न, फेसबुक हेर्न, पढाउने डाटाहरु राख्न, पावर प्वाइन्ट, आर्टिकल लेख्न, गीत सुन्न, म्यासेन्जर चलाउन, फोटो खिच्न, भिडियो खिचेर एडिट गर्न, युट्युब हेर्न हरेक प्रयोजनका लागि मोबाइल प्रयोग हुने गरेको छ । म मोबाइलको राम्रो सदुपयोग गर्छु ।
मेरो टिभी
टिभी हेर्दिनँ । टिभीमा हेर्ने भनेको मनोरञ्जनका कार्यक्रम, अन्तर्वार्ता र समाचारका लागि हो । मनोरञ्जनका कार्यक्रम, अन्तर्वार्ता युट्युबमा समेत आउने गरेका छन् ।
समाचार कोही न कोहीबाट नियन्त्रित भएको पाइन्छ । प्रत्येक टिभीका समाचार फरक फरक हुन्छन् । त्यसैले पनि टिभी हेर्दिनँ ।
मेरो चलचित्र
फिल्म मेरो दोस्रो पेसा हो । यसबाट मलाई धेरै नाम, सम्पूर्ण नेपाली दर्शकको मायालगायत धेरै प्राप्त भएको छ । विमान चालक हुनु अगाडिदेखि म कलाकारितामा छु । साङ्गीतिक क्षेत्र हुँदै कलाकारितामा भित्रिएको हुँ ।
कलेजमा शास्त्रीय सङ्गीत अध्ययन गरेको थिएँ । सङ्गीत विद्यालयबाट पनि सङ्गीत सिकेको छु । विसं २०४० मा निर्माण भएको फिल्म ‘आदर्श नारी’बाट मेरो अभिनय प्रारम्भ भएको हो । उक्त फिल्ममा म ‘हिरो’ थिएँ । त्यसपछि ‘राँको’, ‘ट्रक ड्राइभर’ अभिनयदेखि अहिलेसम्म करिब ५० फिल्म अभिनय गरे होला ।
हलिउड फिल्ममा समेत काम गरेको छु । भिडियो मोडलिङ र टेलिसिरियलमा समेत मेरो अभिनय रहेको छ ।
मेरो पेसा
मेरो मुख्य पेसा विमान चालक (पाइलट) नै हो । लामो समयदेखि यही पेसालाई निरन्तरता दिइरहेको छु । सन् १९८५ देखि पाइलट पेसामा छु । अमेरिकाबाट तालिम गरेर फर्किएपछि १९८८ बाट मात्र नेपाल एयरलाइन्समा जागिर खाएको थिएँ ।
अहिले नेपाल एयरलाइन्सको सिनियर क्याप्टेन हुँ । अहिले नेपालमा ठूलो जहाज उडाउने ४ विमान चालकमध्यको एक म पनि हुँ । आफैले विमान उडाएर अस्ट्रेलिया, जापान, हङ्कङ्, बैङ्कक, भारत, सिङ्गापुर, बेलायत, दोहा, अफ्रिका, जर्मन, इजरायल लगायत २० भन्दा बढी देश पुगेको छु ।
विमान चालक (पाइलट) जोखिमको पेसा पनि भन्ने गर्दछन् । तर म आफू सक्षम नभए हरेक पेसामा जोखिम छ भन्छु । पेसागत रूपमा हेर्दा पाइलट अलि जोखिम भने हो । त्यो जोखिममा म कार्यरत छु । कसरी अगाडि बढ्ने भन्नेमा म कन्फिडेन्ट छु ।
मेरो यो पेसामा एक चोटि मिस्टेक भयो भने आफ्नो मात्र होइन, धेरैको जीवन सकिन्छ । त्यसैले हामीले हावाको गतिसँगै क्विक डिसिजन गर्नुपर्छ । उडानको क्रममा धेरै पटक यस्तो अवस्था आएको छ । सो अवस्थामा क्विक डिसिजनले म धेरै पटक जोखिएको छु । मसँग त्यो क्षमता छ । भगवानको कृपा, आफूले पढेको नलेज र सबैको आशीर्वादले अहिलेसम्म क्विक डिसिजन सही भएको छ ।
कोरोनाको बेला पनि मैले जोखिम उठाएर धेरै मानिस ल्याएँ । त्यसको कारणले म पनि सङ्क्रमित भएँ । उक्त समय कसैले विमान उडाउन मानेका थिएनन् । मैले भने धर्म, पेसा सम्झेर जोखिम उठाए । विदेशमा अलपत्र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीको उद्दार गरे । मलाई मानवताले यो काम गर्न लगायो । त्यो मानवता नै मेरो प्रेरणाको स्रोत पनि हो ।
मेरो प्रेम
मेरो पारिवारिक कुरा अहिलेसम्म पनि बाहिर आएको छैन । म कहिलै पनि फ्यामिली एक्सपोज गर्दिनँ । त्यसैले अहिले पनि बाहिर नआओस् भन्ने चाहना हो । यस विषयमा केही भनिन् । परिवार र प्रेम दुवै मसँग छ ।
मेरो सपना
आजको दिनसम्म जहाज उडाएर नेपालीहरूको सेवा गरिरहेको छु । भोलिका दिनमा देश राम्रो बनाउन, नेपालीको स्तर राम्रो बनाउन कुनै पनि राज्यको पद मिल्छ भन्ने त्यो हाँक्न पनि तयार छु । पर्यटनलाई बढावा दिएर केही न केही गरेर देशको समृद्ध बनाउने सपना पनि छ । मेरो काम राम्रो लागेर कसैले राजनीतिमा केही स्थान दिन चाह्यो भने म काम गर्न तयार छु ।
मेरो गीतसङ्गीत
म पहिले त गायक हुँ । सङ्गीत पनि सिकेको छु । गीत पनि गाएको छु । ५ एल्बमसमेत आएको छ । अहिले पनि गीतहरू बनाई रहेको छु । फ्युजन खालका गीतहरु म आफै कम्पोज समेत गर्दछु ।
म ओपन माइन्डेट भएको मानिस हुँ । त्यसैले मैले ‍याप, हिपअप, शास्त्रीय क्लासिकल गायनदेखि सबै प्रकारको गीतहरु सुन्छु, मनपर्छ ।
मेरो भुल
भुल नगर्ने मानिस सायदै होला । मानिस भएपछि कहीँ न कहीँ भुल हुन्छ नै । भुलबाट सिक्ने पनि हो । भुल थाहा भएपछि नदोहोर्याउने कोसिस गर्छु ।
पछुताउनुपर्ने त्यस्तो भुल अहिलेसम्म केही छैन । मेरो डाक्टर बन्ने रहर थियो । केही कारणले मेडिकल पढ्न सकिनँ । कहिलेकाहीँ त्यो भुल हो भन्ने लागेर पछुतो पनि लाग्छ । तर भगवानले मलाई विमान चालक बनाउन जन्मदिए जस्तो पनि लाग्ने गरेको छ ।
मेरो मापसे
कहिलेकाहीँ मापसे गर्छु । साथीभाइको जमघट, पार्टीमा लिनैपर्ने हुन्छ, थोरै लिन्छु । त्यो पनि बियर थोरै मात्र । सधँै खाने बानी छैन ।
बुबासँग बसेर पनि कहिलेकाहीँ खान्छु । नखाई बस्नै नसक्ने भने होइन । धेरैजसो समय बियर, डबल ब्ल्याक लेभल पनि थोरै खान्छु । घरमा थुप्रै ब्रान्डका रक्सी सजाएर राखेको छु । साथीहरु आउँदा काम लाग्ने गरेको छ ।
मेरो रोग
मलाई ढाडको प्रोब्लम छ । केही समयअगाडि कोरोना लागेको थियो । त्यो रिकभर हुँदैछ । सानोमा दमको रोग थियो । नियमित एक्सरसाइज र ब्यालेन्स डाइटले आफै हरायो ।
भगवानको कृपाले प्रेसर, सुगर जस्ता रोग अहिलेसम्म केही छैन ।
मेरो राशि
मेरो राशि ‘कर्कट’ हो । ग्रहको प्रभावमा मलाई विश्वास छ । हेर्ने मानिसको भने विश्वास लाग्दैन । ऊ आफै अर्काको हात हेरेर बाँचेको छ । त्यसले भनेको के विश्वास गर्नु र खै । त्यसैले आफै हेर्छु । भगवानप्रति भने आस्था छ ।
मेरो मृत्यु
जीवनको एक मात्र सत्य भनेकै मृत्यु हो । अन्य सबै झुट हुन् । हामीले गर्ने सबै प्रकारको क्रियाकलाप भ्रम भन्छु म । एक मात्र सत्य मृत्य राम्रो होस् भनेर हामीले राम्रो कम गर्नुपर्छ ।
सुतेको समय बिहान नउठौँ । दुःख केही नपाई मृत्यु होस् । यही छ मेरो चाहना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन