शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा कालु पाण्डेको समाधिस्थलको अवलोकन, तस्बिरमा हेर्नुहोस्

शनिबार, २९ फागुन २०७७, ११ : २४
शनिबार, २९ फागुन २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गरिन् । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराए ।

ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा बर्सेनि फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ ।

विसं २०७५ फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गरेका थिए । त्यसयता प्रधानमन्त्री ओली प्रत्येक वर्ष फागुन ९ गते दहचोकमा हुने इन्द्रदह पर्यटन महोत्सवमा पुग्दै आएका छन् । यही फागुन ९ गते प्रधानमन्त्री ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गरेका थिए ।

दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नुभएको थियो । काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकामनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थल गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थल गरिएको इतिहास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप