मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माधव पक्षको अनुपस्थितिमा एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज, महाधिवेशन आगामी मंसिरमा

शुक्रबार, २८ फागुन २०७७, १७ : ००
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । बैठकमा माधव नेपाल पक्षधर भने अनुपस्थित थिए ।  सोही बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईले केही विभागीय र भौगोलिक जिम्मेवारी हेरफेर गरिएको बताए । बैठकले महाधिवेशनको मितिसमेत तोकेको उनले सुनाए । उनका अनुसार ०७८ मंसिर २ देखि ८ मा एमालेको महाधिवेशन गर्ने निर्णय भएको छ ।

यस्तै रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ ।

स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । पूर्वमाओवादी सदस्य रहेका उनी नेकपा विघटनका बाबजुद एमालेमै रहने निर्णयमा पुगेका थिए ।

एमालेले प्रदेश १ मा सुवास नेम्वाङ र प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज तोकेको छ । यस्तै, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।

यस्तै, एमाले प्रचारविभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ भने संगठन विभागको प्रमुखमा विष्णु पौडेल, विदेश विभागको प्रमुखमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत ७ गते बस्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप