बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पौडेल–सिटौला समूहको एकै स्वर : प्रधानमन्त्रीमा ओलीको विकल्प दिऔँ !

शुक्रबार, २८ फागुन २०७७, १४ : ४२
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकअघि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच छलफल भएको छ । काँग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा काँग्रेस संस्थापन इतर पक्षका शीर्षस्थ नेताको सहभागिता रहेको थियो ।

समसामयिक राजनीतिका सन्दर्भमा विहान ९ बजे छलफल भएको नेता अर्जुननरसिंह केसीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार छलफलमा पौडेल, सिटौला, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह अर्जुननरसिंह केसी लगायतका नेताहरुको सहभागिता थियो । ‘अहिलेको वस्तुस्थितिमा नेपाली काँग्रेसको भूमिका अब आउने दिनमा कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भयो । पार्टी पदाधिकारी बैठकअघि साथीहरूबीच छलफल गरौँ भनेर बसेका हौँ,’ केसीले भने ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बेलाएका छन् । देउवाले पदाधिकारी बैठकपछि जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीका विषयमा छलफल गर्ने भएपछि बैठकमा जानुअघि पौडेल र सिटौला पक्षले छलफल गरेको बुझिएको छ ।

नेता केसीले यतिबेला काँग्रेसले सरकारमा जानेभन्दा वैकल्पिक सरकार दिनुपर्ने बताए । ‘बैठकमा मैले वर्तमान परिस्थितिमा काँग्रेसले सरकारमा जानेभन्दा वैकल्पिक सरकार दिनुपर्छ भनेको हुँ । काँग्रेसको अग्रसरतामा वैकल्पिक सरकार बन्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ यद्यपि वैकल्पिक सरकार दिने अवस्थामा आइपरेको खण्डमा सरकार नेतृत्व लिन पनि पछि हट्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री कोइरालानिकट स्रोतका अनुसार आजको छलफलले केपी ओलीको विकल्प दिनुपर्नेमा निष्कर्ष निकालेको छ । नेता केसीझैँ अन्य नेताहरुले पनि सोही खालको धारणा राखेको थिए । सोही ढंगले पदाधिकारी बैठक प्रस्तुत हुने पौडेल–सिटौला समूहको रणनीति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप