बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तानातानमा जसपा : एकै समयमा ओली र देउवाको निम्तो

शुक्रबार, २८ फागुन २०७७, १२ : ४९
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । पुनःस्थापित संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजिरहेको छ । ३४ सांसद गरेको जसपा सरकार जोगाउन र नयाँ निर्माणका लागि निर्णायक छ ।

प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ भने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकार निर्माणका लागि जसपाको साथ अनिवार्य छ ।
यही परिदृश्यका बीच जसपा तानातानमा परेको हो । शुक्रबार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले एकै समय छलफलका लागि जसपालाई बोलाइएको पाइएको छ ।
ओलीले विहिबारको छलफलको निरन्तरताका लागि शुक्रबार अपरान्ह चार बजे सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

यस्तै देउवाले पनि जसपाका शीर्ष नेतालाई ठीक त्यही समय बूढानीलकण्ठ बोलाएका छन् । जसपाका नेता लक्ष्मणलाल कर्णले चार बजे प्रधानमन्त्रीले बोलाएको बताए । यता अध्यक्ष उपेन्द्र यादवले सोही समय देउवाले पनि बोलाएको रातोपाटीलाई जानकारी दिए ।

चार बजे जसपा बालुवाटार जान्छ कि बूढानीलकण्ठ भन्नेमा जसपामा नेताहरु नै अन्यौल देखिएका छन् । सत्ता समीकरणबारे निर्णय लिन जसपा संसदीय दलको बैठक पनि बोलाइएको छ । जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ ।

सत्ता गठबन्धनबारे जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई देउवा–प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिएको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप