मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

शुक्रबार, २८ फागुन २०७७, १० : ३०
शुक्रबार, २८ फागुन २०७७

डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । 

घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । 

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारीको भनाइ छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुन् । 

उनले विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए । मृतक भट्टराईका दाई उद्धव भट्टराईले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव नबुझ्ने बताउँदै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप