आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिगः स्पर्स, आर्सनल विजयी, युनाइटेड रोकियो

शुक्रबार, २८ फागुन २०७७, ०७ : ४६
शुक्रबार, २८ फागुन २०७७

ह्यारी केनको दुई गोलको मद्दतले क्रोएसियन टोली डाइनामो जाग्रेबलाई हराउँदै टोटनहम हटस्पर्सले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको २५ औँ मिनेटमा स्पर्सलाई अग्रता दिलाएका केनले ७० औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । केनले टोलीका लागि यो सिजन सबै प्रतियोगितामा २६ गोल गरेका छन् ।

यद्यपि, खेलको अन्त्यतिर केन चोटका कारण खेल छाड्न बाध्य बनेका थिए । स्पर्सले आइतबार नर्थ लण्डन डर्बीमा आर्सनलको सामना गर्दैछ । जोसे मोरिन्होले उक्त खेलका लागि केन उपलब्ध हुने आशा व्यक्त गरेका छन् ।

उता, आर्सनलले पनि ग्रीक टोली ओलम्पियाकोसमाथि ३–१ को जीत हासिल गरेको छ । आर्सनललाई जीत दिलाउन मार्टिन ओडेगार्ड, ग्याब्रियल र मोहमद इल्नेनीले एक–एक गोल गरे । आडेगार्डको गोलपछि युसेफ एल अरबीले बराबरी गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

म्यान्चेस्टर युनाइटेड भने एसी मिलानसँग बराबरीमा रोकिएको छ । अन्तिम १६ को पहिलो लेगको खेलमा इन्जुरी समयमा गोल गर्दै एसी मिलानले युनाइटेडको डिफेन्सको कमजोरीको फाइदा ओल्ड ट्राफोडमा बराबरी गर्न सफल भएको हो । खेलको दोस्रो हाफको सुरुवातमा अमाद डिआलोले युनाइटेडलाई अग्रता दिलाएका थिए ।

अन्य खेलमा आयाक्सले योङ ब्वाइजलाई ३–०, भिल्लेरियालले डाइनामो किएभलाई २–० र एएस रोमाले साख्तार डोनेन्स्कलाई ३–० ले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप