झण्डै आईपीओ मूल्यकै हाराहारीमा पाइन्छ यी कम्पनीको सेयर, जलविद्युतको सेयरमा किन छैन आकर्षण ?
सेयर बजारमा जलविद्युत कम्पनीको सेयरले अझै पिक अप लिन सकेको छैन । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३७ जलविद्युत कम्पनीमा १० वटा जलविद्युत कम्पनीको सेयर मूल्य अझै पनि आईपीओ मूल्य कै हाराहारीमा छन् । यद्यपि केही जलविद्युत कम्पनीले भने राम्रै प्रगति गरिरहेका छन् ।
सामान्यतयाः जलविद्युतमा लगानी गर्नेले तत्कालै मुनाफा नपाउने भएकाले पनि जलविद्युतको सेयरमा लगानीकर्ता आकर्षित हुन नसक्ने विज्ञहरु बताउँछन् । विज्ञ डा. केशव श्रेष्ठले जलविद्युतको लाभांश खान समय लाग्ने र उसले शून्यबाट काम गर्ने भएकाले पनि तत्कालै लाभांश चाहने लगानीकर्ता जलविद्युतको सेयरमा त्यति आकर्षण नहुने बताए । सामान्यतया जलविद्युतले निर्माण कार्य सकिए पश्चात विद्युत् बेच्न थालेपछि लाभांश दिन थाल्दछ ।
अहिले सबैभन्दा कम मूल्य दिव्यश्वरी जलविद्युत कम्पनीको छ । नेपाल स्टक एक्सचेन्जमा यसको २६ लाख ४० हजार कित्ता सेयर सूचीकृत छ । नेप्सेले पहिलो कारोबारको लागि प्रति कित्ता १ सय १६ रुपैयाँदेखि ३ सय ४८ रुपैयाँसम्म प्राइस रेन्ज राखेको थियो । तर अहिले ओपनिङ रेन्ज भन्दा पनि कम छ यसको सेयर मूल्य । नेप्सेमा बुधबार (फागुन २६) सम्म सेयर मूल्य प्रतिकित्ता १ सय १२ रुपैयाँ छ ।
यता खानीखोला हाइड्रो पावरको सेयर मूल्य १ सय १६ रुपैयाँ छ । यसको दोस्रो बजारमा ४६ लाख ५७ हजार १ सय ४३ कित्ता सेयर सूचीकृत छ । घलेम्दी हाइड्रोपावरको पनि उस्तै छ अवस्था । यसको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता १ सय ४४ रुपैयाँ छ ।
आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य १ सय ४३ रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ सय २९ रुपैयाँ, पञ्चकन्यामाइ हाइड्रो पावर कम्पनी १ सय ५४ रुपैयाँ, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ सय १७ रुपैयाँ सेयर मूल्य छ । यस्तै युनाइटेड मोदी हाइड्रोपावरको १ सय ६५ रुपैयाँ, युनिभर्सल पावर कम्पनीको १ सय ४२ रुपैयाँ, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १ सय ८९ रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १ सय ५८ रुपैयाँ छ छ । यस्तै छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १ सय ९९ रुपैयाँ छ ।
दुई फाइनान्स र दुई बैङ्कको पनि सेयर मूल्य आईपीओकै हाराहारीमा
सामान्यतया बैङ्क तथा फाइनान्स भनेका तत्कालै लाभांश दिन सक्ने क्षमता भएको कम्पनी भन्ने आम मानिसको बुझाइ छ । तर यहाँ केही फाइनान्स र बैङ्कको सेयर मूल्य अत्यन्तै न्यून देखिन्छ ।
वेस्ट फाइनान्सको सेयर मूल्य अहिले प्रतिकित्ता १ सय १६१ रुपैयाँ छ । यसको नेप्सेमा ८२ लाख ८९ हजार १ सय ३८ कित्ता सेयर सूचीकृत छ । यस्तै मल्टी प्रपोज फाइनान्सको पनि सेयर मूल्य १ सय ७९ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको यसको सेयर मूल्य भने बढ्न सकेको छैन । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा छ । यसले भोलिबाट (फागुन २८) १७ लाख ५९ हजार ६ सय २१ कित्ता संस्थापक सेयरसमेत लिलामीमा बिक्री खुलाउँदैछ । यसले पटक—पटक लिलामी खुला गर्दा पनि सेयर बिक्री नभएपनि पुनः लिलामीमा बिक्री खुला गरेको हो ।
यता सप्तकोशी डेभलपमेन्ट बैङ्क र सिन्ध विकासको सेयर मूल्य पनि दोस्रो बजारमा ज्यादै सस्तो छ । सप्तकोशीको सेयर मूल्य १ सय ६५ रुपैयाँ छ भने सिन्धुको १ सय ८५ रुपैयाँ छ । यस्तै सेन्चुरी कर्मसियल बैङ्कको प्रमोटर सेयर मूल्य पनि १ सय १२ रुपैयाँ प्रतिकित्ता कायम छ । सप्तकोशीको दोस्रो बजारमा ८३ लाख ४३ हजार ३ सय ८५ कित्ता सेयर सूचीकृत छ । यसले चैत २८ गते साधारण सभा गर्दै छ तर लगानीकर्तालाई कुनै लाभांश छैन । यता सिन्धु विकास बैङ्कको दोस्रो बजारमा ५५ लाख ७५ हजार ९ सय ५४ कित्ता सेयर सूचीकृत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन