शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता राजनीतिका ‘भेट्रान खेलाडी’ देउवा उथलपुथलमा पनि किन शान्त ?

जसपालाई प्रधानमन्त्री दिन काँग्रेस सकारात्मक !
बिहीबार, २७ फागुन २०७७, १० : १६
बिहीबार, २७ फागुन २०७७

काठमाडौं । भावी सत्ता समीकरणबारे काँग्रेस सभापति शेरबहादुर देउवा मौन जस्तै छन् । एकमना सरकार चलाएको ‘नेकपा’ एमाले र माओवादी केन्द्रमा फर्किँदा पनि देउवामा हलचल आएको छैन । नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र बूढानीलकण्ठ (देउवा निवास) शान्तजस्तै छ । वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार बनाउन तीव्र दौडधुप चलिरहेका बेला देउवाको मौनता आश्चर्य लाग्दो छ ।

सत्ता राजनीतिका भेट्रान खेलाडी भनिने देउवा यो पटक प्रधानमन्त्री बन्ने मौका आउँदा निश्कृय जस्तो देखिएको पाइन्छ । तर महामन्त्री पूर्णबहादुर खड्का भने देउवा प्रधानमन्त्रीको रेसभन्दा बाहिर र निश्कृय पनि नरहेको बताउँछन् । उनले भने, ‘सभापतिजीले प्रधानमन्त्री रेसमा छैन मात्र भन्नु भएको छैन, संसदीय व्यवस्थामा विपक्षी दलको नेता ‘प्राइममिनिस्टर इन वेइटिङ’ हो पनि भन्नु भएको छ । प्रधानमन्त्री लागि उथलपुथल गर्ने प्रवृत्तिमा छैन भन्नु भएको हो ।’

खड्का अनुसार अहिले प्रधानमन्त्री को बन्छ भन्ने कुराको प्रारम्भिक संवाद सुरु गर्ने बेला भएको छैन । ‘नेकपा एमाले र माओवादीले हिजो मात्र आधिकारिकता पाए । उहाँहरुले आफ्नो पार्टीको औपचारिक गतिविधि नै सुरु गर्नुभएको छैन । काँग्रेस वा अन्य पार्टीले प्रधानमन्त्रीका कुरा गर्नु हतारो हुन्छ । अहिले दलहरुबीच समझदारी कसरी गर्ने भन्नेमा छलफल जुट्नुपर्छ,’ उनले भने ।

तर राजनीतिक छलफलको अग्रसरतामा समेत सभापति देउवा उदासीन देखिन्छन् । संसदको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाटमा तीव्रता दिँदा देउवा सत्ता समीकरणका लागि अग्रपंक्तिमा देखिएको पाइँदैन । ‘काँग्रेस सभापति देउवाले राजनीतिक संवादमा किन अग्रसरता लिनुभएन ?’ भन्ने प्रश्न खड्काले भने, ‘सभापति र हाम्रो ध्यान महाधिवेशनतिर छ । हाम्रो प्रमुख जिम्मेवारी महाधिवेशन सम्पन्न गर्नु छ । तर सभापति सक्रिय नै हुनुहुन्छ । बाहिर हल्ला गरिएको छैन । सबैसँग संवादमै हुनुहुन्छ ।’

राजनीति दलसँग आंशिक सहमति भएपछि मात्र काँग्रेसले निर्णय लिने उनको भनाइ छ । काँग्रेसले सरकार बनाउनेदेखि अर्ली इलेक्सनसम्मको सहमति खोजेको देखिन्छ । काँग्रेस नेता रमेश लेखकले पनि काँग्रेसको मुख्य मुद्दा ‘अर्ली इलेक्सन हुनुपर्ने बताए । त्रिशङ्कु संसद्ले स्थिरता दिन सक्छ भएकाले अब ताजा जनादेशका लागि अर्ली इलेक्सनमा जानुपर्ने उनको राय छ । पार्टी सभापतिका विश्वास पात्रसमेत रहेका लेखकले भने, ‘मूल कुरा अर्ली इलेक्सनमै जानुपर्छ । नेतृत्व कसले गर्ने भन्ने कुरा सेकेन्डरी हो ।’

प्रधानमन्त्रीभन्दा सभापतिमा दोहोरिने चाहना बढी

देउवाले पछिल्लो आन्तरिक भेटघाटमा पनि प्रधानमन्त्री बन्ने उत्कट आकांक्षा नराखेको बुझिएको छ । बरु देउवा फेरि सभापतिमा दोहोरिने कसरतमा बढी व्यस्त देखिन्छन् । सत्ता समीकरणभन्दा महाधिवेशनबारे संवाद गर्न बूढानीलकण्ठ पुग्नेलाई देउवाले बढी महत्त्व दिने गरेको पाइन्छ । संसद विघटनयता देउवा निवास सत्ता समीकरणको प्रस्ताव लिएर पुगेका प्रचण्डसँग एक आधा घण्टा मात्र संवाद गरेका थिए ।

तर पार्टी महाधिवेशनबारे संवाद गर्न पुगेका जिल्ला तहका नेता कार्यकर्ता र भ्रातृ तथा शुभेच्छु संघका पदाधिकारीसँग उनी घण्टौँ गफिने गरेका छन् । त्यसको उदाहरण हो केही दिनअघि शिक्षा संघका पदाधिकारीसँग ४ घण्टा गरेको संवाद ।

देउवाले आफू निकट नेता कार्यकर्तालाई सरकारमा नभइ महाधिवेशनमा जोड दिन निर्देशन दिएको बुझिएको छ । बूढानीलकण्ठ स्रोतका अनुसार देउवा यतिबेला भदौभित्र महाधिवेशन गराउने र फेरि सभापति बन्ने ध्येयमा रहेको बुझिएको छ । राजनीतिक दलहरुले पाँच–पाँच वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्थाको काँग्रेस चेपुवामा  छ ।

संविधानको धारा २ सय ६९ को उपधारा ४ को खण्ड ‘ख’ले पाँच वर्षभित्र दलले आफ्नो निर्वाचन गर्न नसकेमा ६ महिना थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्मका लागि थप गरेको छ । ०७८ भदौ ७–१० का लागि तय भएको पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने देउवामाथि चुनौती छ ।

यस्तै गाउँ–नगर वडा अधिवेशन असार ५ गते, गाउँ र नगरपालिका  अधिवेशन असार ७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गतेका लागि तय गरिएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन  साउन ३ गते र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ६ गते हुनेछ । प्रदेश अधिवेशन साउन १० र ११ गते लागि तय गरिएको छ । यही अनुसार काँग्रेस प्रमुख रुपमा महाधिवेशन केन्द्रित भएको महामन्त्री खड्काले बताए ।

काँग्रेसको पहिलो प्राथमिकता महाधिवेशन सम्पन्न गर्नु भएको खड्काको भनाइ छ । उनले भने, ‘पार्टी सभापति पार्टी अधिवेशनलाई गम्भीरतापूर्वक लागि राख्नुभएको छ । पार्टी अधिवेशनका गर्नेका लागि मूल भूमिका सभापतिको हो । उहाँको नेतृत्वमा हामी सबै लागेका छौँ । भदौसम्म हामी कुनै पनि हालतमा अधिवेशन गर्नुछ ।’ त्यसैले सत्ता समीकरणमा देउवाको भूमिका केही फरक देखिएको उनको भनाइ छ । तर मुलुकलाई राजनीतिक निकास दिन जिम्मेवार र धर्यतापूर्वक काँग्रेसले नेतृत्वदायी भूमिका खेल्ने खड्काको भनाइ छ । काँग्रेसले सरकारको नेतृत्व गर्नेबारे उत्सुक नरहेको काँग्रेस नेताहरुको भनाइ छ ।

जसपालाई प्रधानमन्त्री दिन काँग्रेस सकारात्मक !

यता ओली सरकार जोगाउने र गिराउने खेलमा निर्णायक देखिएको संसदको चौंथो दल जसपाले प्रधानमन्त्रीतिर नजर लगाएको देखिन्छ । देउवाले प्रधानमन्त्री पद छोड्ने कुरामा उदारता देखाए ओली सरकारको बहिर्गमनको लागि गठबन्धन बनाउन सजिलो हुने ओली इतर पक्ष बुझाइ छ । किनभने प्रधानमन्त्रीसँग निकट सम्पर्कमा रहेको जसपा पक्षले ओली इतर पक्षसँग भने प्रधानमन्त्री पदका लागि बार्गेनिङ गर्न थालेको बुझिएको छ । काँग्रेसका नेताहरु पनि महन्थ ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने विषय सकारात्मक रहेको स्रोतको दाबी छ ।

लामो समय काँग्रेसमा राजनीति गरी मधेश केन्द्रित राजनीतिमा होमिएका ठाकुरप्रति काँग्रेसभित्र सदासयता रहेको पाइन्छ । जसपाका प्रतिनिधिसभा सदस्य प्रमोद साहले जसपा नेपाल सरकारको नेतृत्व गर्न तयार रहेको बताए । जसपाले सरकारको नेतृत्व गर्न चाहेको उनको भनाइ छ । यस्तै जसपाका कार्यकारिणी सदस्य योगेन्द्र राय यादवले पनि जसपाले प्रधानमन्त्री पद खोजेको बताए । ‘त्यसका लागि आन्तरिक रुपमा नेताहरुको बीचमा कुराकानी पनि भइरहेको छ । थोरै थोरै सिट भएका राप्रपाका सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दहरू प्रधानमन्त्री बन्न सक्छन् भने जसपा नेपालबाट प्रधानमन्त्री किन बन्न सक्दैन ?,’ उनको प्रश्न छ ।

अहिले राजनीतिक संक्रमण र ठूला दलहरुभित्र आन्तरिक समस्यामा देखिएकाले सरकारको नेतृत्व गर्नका लागि जसपामात्र उपयुक्त देखिएको यादवको तर्क छ । प्रचण्डले प्रधानमन्त्री बन्नुभन्दा ओली सरकार गिराउनुमा सफलता ठानेको बेला देउवाले पनि उदारता देखाए जसपाले प्रधानमन्त्री पाउने देखिन्छ । देउवाको अहिलेसम्मको गतिविधि हेर्दा पनि त्यही संकेत देखाउँछ ।

पार्टीका केही नेताहरुलाई सरकारमा पठाउँदा महाधिवेशनमा अनकुल वातावरण र टिम तय सकिने देउवा बुझाइ रहेको उनी निकट नेताहरुको बताउँछन् ।

देउवाले पनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउँदै आएका छन् । शनिबार मात्र बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका थिए । ‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला,’ देउवाको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा फागुन १९ गते चितवनमा आयोजित कार्यक्रममा पनि काँग्रेसलाई पदको लोभ पनि नभएको देउवाले बताएका थिए ।

‘टाउकोमा आए भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ देउवाले भनेका थिए, ‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो ।’ उनको यो अभिव्यक्तिले पनि देउवाले प्रधानमन्त्री बन्नका यो पकट मरिहत्ये गर्दैनन् भन्ने बुझ्न गाह्रो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप