आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको सहयोगमा निर्मित सहकारी प्रवर्द्धन केन्द्रको भवन उद्घाटन

बुधबार, २६ फागुन २०७७, २१ : २७
बुधबार, २६ फागुन २०७७

काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको सहकारी प्रवर्द्धन केन्द्र भवनको उद्घाटन भएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप प्रमुख नामग्य सी खम्पाले नयाँ भवनको उद्घाटन गरेकी हुन् ।

भारत सरकारको ३ करोड ५ करोड लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो। भवन उद्घाटन कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री उदय राणा, जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल, स्थानीय निकायका जनप्रतिनिधि सहभागि थिए ।

‘नेपाल भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित तीनतले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खुल्ला बजारका लागि प्रयोग गरिनेछ । दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेना गृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङको सुविधा हुनेछ ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला सहकारी संघका अध्यक्ष दुलालले भवन निर्माणका लागि पूर्व अर्थ राज्यमन्त्री राणाले सुरुवातदेखि योगदान दिएको उल्लेख गरे । सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेड अन्तर्गत ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी व्यक्ति सदस्य छन् ।

नवनिर्मित सहकारी प्रवर्द्धन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । यसका साथै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ । सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । बागमती प्रदेशमा मात्रै ललितपुर जिल्लाका ९ वटा परियोजनासहित ८४ वटा परियोजना निर्माण भएको भारतीय दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप