शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांसदहरुको अवरोधपछि भारतको राज्यसभाको बैठक फेरि स्थगित

बुधबार, २६ फागुन २०७७, १९ : ०४
बुधबार, २६ फागुन २०७७

एजेन्सी । भारतको सङ्घीय संसद्को माथिल्लो सदनको रुपमा रहेको राज्य सभाको बैठक बुधबार स्थगित भएको छ ।   विपक्षी पार्टीका सांसदहरुले बैठकमा होहल्ला गर्दै अवरोध गरेपछि यही मार्च १५ तारिखसम्मका लागि बैठक स्थगित भएको हो ।

विपक्षी सांसदहरुले अहिले चरम विवादमा परेको कृषिसम्बन्धी कानुनहरूको विरोध गर्दै ती कानूनहरु तत्काल फिर्ता गर्न माग गरेका छन् ।  त्यसैगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका धेरै विषयहरुलाई उठान गर्दै विपक्षी सांसदहरुले संसद् अवरोध गरेका हुन् ।

यसअघि पनि उनीहरुले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।  बुधबार सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् ।

भारतको राज्य सभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि बजेट अधिवेशनको दोस्रो सत्र सुरु भएको हो ।  भारतमा केन्द्रीय संसद्ले बनाएको कृषिसम्बन्धी तीन वटा कानूनलाई लिएर किसानले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसद्मा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय काँग्रेससमेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद् बैठक बहिष्कार गरेका थिए ।

दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने संसद् सचिवालयको योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसद्मा टेबुल भएको थियो ।  अधिवेशनमा आर्थिक विधेयकसँगै करसम्बन्धी प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्ताव पनि संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ । 

पश्चिम बङ्गाल, तमिलनाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद् अधिवेशनलाई दलले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप