शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सत्ता साझेदारीबारे प्रचण्डसँग छलफल गर्न जसपाका नेताहरु पेरिसडाँडामा

बुधबार, २६ फागुन २०७७, १६ : १७
बुधबार, २६ फागुन २०७७

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पबारे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामै पुगेर जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले छलफल गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’का अनुसार करिब एक घण्टा भएको छलफलमा समसामयिक विषयमा कुरा भएको थियो ।

जसपाका नेताद्वय ठाकुर र महतो तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिन सकारात्मक बनेको समाचार प्रकाशमा आइरहँदा दुवै नेताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।

माओवादी केन्द्रले सरकारप्रतिको समर्थन फिर्ता लिएको अवस्थामा ओली नेतृत्वको सरकार अल्पमतमा पर्दछ । १२१ सांसद रहेको एमालेका लागि सरकार टिकाउन कम्तीमा पनि १५ सांसदको आवश्यकता पर्दछ । प्रतिनिधिसभाका चार सदस्य संसदीय कारवाहीमा सामेल हुन नपाउने भएसँगै सत्ताका लागि कम्तीमा १३६ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहकार्य भएमा संसदबाट नयाँ सरकार गठन हुन सक्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप