शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अदालत मकवानपुरबाट चालु आर्थिक वर्षमा ८४५ मुद्दा फैसला

बुधबार, २६ फागुन २०७७, १० : ३१
बुधबार, २६ फागुन २०७७

हेटौंडा । जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको सामना गर्दै चालु आर्थिक वर्षको फागुन २४ गतेसम्म ८४५ मुद्दा फैसला गरिसकेको छ भने एक हजार ४० वटा मुद्दा फैसलाको चरणमा रहेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ९१४ मुद्दा र आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका एक हजार ११ नयाँ मुद्दासहित कुल एक हजार ९२५ मुद्दामध्ये फागुन २४ गतेसम्म ८४५ मुद्दा फैसला भइसकेको अदालतले जनाएको हो ।

‘एक मिसन–एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ सिद्धान्तलाई आत्मसाथ गर्दै न्याय सम्पादनमा अदालत अग्रसर रहेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । कोभिड–१९ का कारण मुद्दा फर्छ्योटमा समस्या देखिए पनि अदालतको कामलाई तीव्रता दिएको उनले बताए ।

जिल्ला अदालत मकवानपुरमा दुई वर्ष नाघेका ४ मुद्दा छन् भने १८ महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा छन् । एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, ६ महिनादेखि १ वर्षसम्मका ३०१ मुद्दा र ६ महिना यताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेष्तेदार भट्टराईले जानकारी दिए ।

भवन निर्माणको ठेक्का सम्झौता

जिल्ला अदालत मकवानपुरका लागि सुविधा सम्पन्न भवन निर्माणको काम सुरु भएको छ । सर्वोच्च अदालतको १८ करोड १२ लाख १३ हजार रुपैयाँ लागतमा अदालतको भवन निर्माणको काम सुरु गरिएको हो । साविक जिल्ला अदालत रहेकै स्थानमा ६ तलाको सुविधासम्पन्न भवन निर्माण गर्न कविन्द्र नवसिर्जनशील स्लेट जेभीले ठेक्का सम्झौता गरिसकेको श्रेष्तेदार भट्टराईले बताए ।

सम्झौता मितिले ३० महिनाभित्र काम सक्ने गरी २०७७ माघ २२ गते भवन निमार्णको ठेक्का सम्झौता भएको अदालतले जनाएको छ । हाल उच्च अदालत पाटन हेटौंडा इजलासको प्रशासनिक भवनबाट जिल्ला अदालतले कार्य सम्पादन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप