शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अद्भुत खगोलीय घटनाः आकाशमा विलुप्त भयो मघा तारा

बुधबार, २६ फागुन २०७७, १० : १४
बुधबार, २६ फागुन २०७७

९ मार्च तदनुसार फागुन २५ गते मङ्गलबार राती आकाशमा एउटा अद्भुत खगोलीय घटना घटित भयो । आकाशमा रहेको पृथ्वीबाट देखिने एउटा तारा एक सेकेण्डका लागि विलुप्त भयो।

पृथ्वीबाट ७७.५ प्रकाशवर्ष टाढा एउटा तारामण्डल छ। यस तारामण्डललाई 'अल्फा लियोनिस' (α Leonis या α Leo) ​ भनिन्छ । साथै हिन्दूहरुले यसलाई सिंह तारामण्डल भन्छन्।  यस तारामण्डलमा ९२ वटा तारा रहेका छन्। यी मध्ये १५ वटा तारा चम्किला छन् अर्थात् ठूला अथवा यस मण्डलका प्रमुख तारा झैं रहेका छन्। आकाशीय संरचनामा (कन्स्टिलेसन) यस ुलियोु तारामण्डलको  पश्चिममा कर्क तारामण्डल (Cancer constellation)​ तथा पूर्वमा कन्या तारामण्डल (Virgo constellation) रहेका छन्।

आधुनिक खगोल विज्ञानले सम्पूर्ण आकाशलाई ८८ वटा विभिन्न ‘कन्स्टिलेसन’  मा विभाजित गरेको छ । यस तारा मण्डलमा रहेका तारालाई  एउटा रेखाले जोडी हेर्दा सिंहको आकृति बन्न आउँदा  यसको नाम सिंह तारामण्डल रहन गएको हो । आधुनिक खगोल विज्ञानको उदय हुनुभन्दा धेरै पहिला, हजारौं वर्ष पहिला भारतीय ज्योतिष शास्त्रले यसबारे यतिको सूक्ष्म अध्ययन गर्नु आफैंमा विस्मयकारी घटना हो। यसले त्यस बेलाको ज्ञान  विज्ञानको सहज दर्शन गराउँछ ।

सिंह तारामण्डलमा दुइटा ठूला तारा छन् (  मघा अथवा  'रेगुलस' (Regulus )। रेगुलस ल्याटिन भाषाको शब्द हो यसको अर्थ हुन्छ राजकुमार। यसै तारालाई अरबीमा 'क़ल्ब अल-असद' (قلب لأسد‎) भनिन्छ  जसको अर्थ हुन्छ, सिंहको  मुटु । यस मण्डलको दोश्रो तारा हो 'बीटा लियोनिस' (β Leonis या Leo)  हिन्दूहरुले यसलाई उत्तर फाल्गुनी भनी बोलाउँछन्।  उत्तर फाल्गुनी पृथ्वीबाट देखिने ६१ औं नम्बरको  चम्किलो तारा हो र यो पृथ्वीबाट ३६ प्रकाशवर्ष टाढा रहेको छ ।

सिंह तारामण्डलको सबैभन्दा चम्किलो तारा मघा हो। प्रथ्वीबाट ७७।५ प्रकाशवर्ष टाढा रहेको यो तारा रात्रीकालीन आकाशको २२ औं नम्बरको चम्किलो तारा हो। वास्तवमा मघा एउटा तारा नभएर दुइटा 'द्विसङ्गी तारा' (binary star  system ) हो अर्थात् चारवटा ताराको समूह हो। पहिलो  'द्विसङ्गी तारा' लाई   मघा 'ए​' (Regulus A) र  दोश्रो 'द्विसंगी तारा'लाई मघा 'बी' (Regulus B)  भनिन्छ ।

हिन्दू ज्योतिषी परम्परामा मघा तारालाई मघा नक्षत्र मानिन्छ।  ज्योतिष  परम्परामा २७ वटा नक्षत्र मानिन्छन्।  मघा नक्षत्रले नक्षत्रमण्डलमा दशौं स्थान प्राप्त गरेको छ। मघा नक्षत्रका चारवटै चरण सिंह राशिमा गणना  गरिन्छन् । यस नक्षत्रको स्वामी केतु हो र यसको राशिको स्वामी सूर्य हो ।  ज्योतिष  परम्परामा यस नक्षत्रमा जन्मिएका जातकको स्वभाव जिद्दी  र यिनको जिउको बनावट मध्यम  आकारको अर्थात ५ फीट ६ इन्च हाराहारीको  हुने  दाबी समेत गरिन्छ।  

९ मार्चको राती एक सेकेण्डका लागि मघा तारा प्रथ्वीबाट हेर्दा विलुप्त हुन गयो । घटना एक सेकेण्डका लागि घटित भए पनि यो ब्रह्माण्डमा घटित भएको दुर्लभतम घटना हो ।

भारतीय तारा भौतिकी संस्थानका पूर्व प्रोफेसर रमेश कपूरका अनुसार हिजो राति भएको घटनामा सूर्यको परिक्रमा गरिरहेको एउटा क्षुद्रग्रह (एस्टेरोयड) 'ड्यनियल'  मघा तारालाई छेक्दै अघि बढ्यो, यस कारण एक सेकेण्डका लागि मघाबाट आउने प्रकाश बाधित हुन गयो र पृथ्वी​बाट एक सेकेण्डका लागि मघा तारा पूर्णग्रहणका भाँती ओझल हुन गयो।

'ड्यानियल' नामक ऐस्टेरोयडको खोज २२ अगस्त सन् १९७९ मा भएको थियो । हाम्रो सूर्य मण्डलमा मङ्गल ग्रह र वृहस्पति ग्रहको बीचको आकाश लाखौं पिण्डले भरिभराउ छ।  यी पिण्डलाई नै एस्टेरोयड भनिन्छ।  एस्टेरोयडले पनि अन्य खगोलीय पिण्डका भाँती सूर्यको परिक्रमा गर्छन् । 'ड्यानियल' नामक एस्टेरोयडले सूर्यको एउटा परिक्रमा ४.८९ वर्षमा पूरा गर्छ। ९ मार्च को राती यसै 'ड्यानियल'ले मघा तारालाई  छेकी  दिएको थियो जसले गर्दा मघा तारा १ सेकेण्डका लागि पृथ्वीबाट देखिएन  । ुड्यानियलु एस्टेरोयडको आकार ९.४ किमी रहेको छ । खगोल विज्ञानको ज्ञात इतिहासमा यस्तै घटना २० मार्च सन् २०१४ को राती पनि घटित भएको वर्णन  पाइन्छ । त्यसबेला एउटा अर्को एस्टेरोयड अरिगोनले छेकेर मघा तारा १४ सेकेण्डका लगी पृथ्वी​​बाट ओझल बन्न गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप