ad
x
समाचार

चार वर्षअघि सीमा रक्षार्थ यसरी सहिद भएका थिए गोविन्द गौतम

सीमा समस्या ज्यूँका त्यूँ

person explore access_timeफागुन २६, २०७७ chat_bubble_outline0

कैलाली । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्ने पुनर्वास नगरपालिका वडा नं ४ स्थित आनन्द बजार निवासी गोविन्द गौतमले देशको सीमा रक्षाका लागि प्राण उत्सर्ग गरेको चार वर्ष पूरा भएको छ ।


चार वर्षअघि आजकै दिन अर्थात् २०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको मृत्यु भएको थियो ।





चार वर्षको यो अवधिमा सो क्षेत्रको सीमा विवाद त समाधान भएन नै, गौतमको परिवार पनि छिन्नभिन्न भएको छ । सरकारले गोविन्द गौतमलाई सहिद घोषणा गरे पनि उनको बलिदान, आफ्नो भूभाग रक्षार्थ सो क्षेत्रका बासिन्दाले गर्दै आएको संघर्ष र उनीहरुको चिन्ताबारे राज्यका तर्फबाट खासै चासो राखेको पाइँदैन ।



यसरी सुरु भएको थियो विवाद



भारतसँग सीमा जोडिएकाले त्यस क्षेत्रका बासिन्दा सरसामान खरिदका लागि भारतीय बजारमा निर्भर हुनु स्वाभाविक थियो । स्थानीयवासी भारतको बसैया हुँदै सम्पुर्णनगरबाट आवश्यक सामान खरिद गरी ल्याउने गर्दछन् ।



वर्षाको समयमा डुबान हुने भएकाले दुवै देशका अधिकारी बसेर भारततिर आवतजावत गर्न सहज हुनेगरी कल्भर्ट निर्माण गर्ने सहमति गरे ।

सोही अनुरुप पुनर्वास नगरपालिकाले कल्भर्ट निर्माणका लागि बजेट विनियोजन गरी काम सुरु गरेको थियो । होमपाईप बिछ्याउँछन् त्यसलाई ढाक्नका लागि बालुवामाथि ईटा राख्न थाल्नासाथ भारतीय एसएसबीले हस्तक्षेप गरी विवाद सुरु गरेको स्थानीय वीरबहादुर कार्की बताउँछन् ।

विवादले उग्र रुप लिएपछि गोविन्द पनि साइकल लिएर घरबाट निस्किए । स्थानीयवासी र एसएसबीबीच झडपको अवस्था सिर्जना भएपछि एसएसबीले चलाएको गोली लागेर गोविन्द ढले ।

गोविन्दका पिता भन्छन्– छोराको सपना पूरा होस्

सहिद गोविन्द गौतमका ७४ वर्षीय पिता खेमलाल गौतम आफ्नो छोराको सपना पूरा भएको हेर्न चाहन्छन् ।

दुःखका साथ हुर्काइ बढाइ गरेको छोराको मृत्यु भएकोमा भन्दा पनि समस्या ज्यूँका त्यूँ रहेकोमा दुखेसो पोख्छन् उनी । ‘छोरा त मरेर गइहाल्यो, समस्या उस्तै छ,’ उनले भने, ‘हामी बाँचेकाहरु पनि ढुक्कले बस्न सक्ने अवस्था छैन । कुन बेला आएर भारतीयले उठाउने हो, फेरि अर्को कसैले ज्यान दिनुपर्ने हो कि भन्ने चिन्ता कायमै छ ।’

‘मेरो छोरा घर बनाउन ब्यस्त थियो, लगभग डिपीसीसम्म निर्माण गरेको थियो । एक्कासी कल्भर्ट निर्माण गर्ने क्रममा भारतीयले अवरोध सिर्जना गर्दै छ भन्ने कुरा सुन्यो,’ चार वर्षअघिको घटना सुनाउँदै उनले भने, ‘घर बनाउँदैछस्, नजा भनेको पनि मानेन, मरे पनि मरिन्छ बुवा भन्दै साइकल चढेर निस्कियो ।’

केहीबेरमै दुवै पक्षबीच झडप हुँदा एसएसबीको गोली लागेर छोराको मृत्यु भएको खबर सुनिएको उनले बताए ।

आज पनि सीमा विवाद कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘छोराको सपना अधुरो छ, छोरा पनि मारियो, सीमा विवाद पनि जस्ताको तस्तै छ । सीमा विवाद समाधान भइदिए पनि छोराले प्राण उत्सर्ग गरेको खेर गएन भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो ।’

सीमा विवाद समाधान गरेमात्र यस क्षेत्रका नागरिक सुरक्षित हुने र आफ्नो छोराप्रति पनि सम्मान हुने उनको भनाइ छ ।

जङ्गे पिलर नै गायब

भारतले सो क्षेत्रको सीमा निर्धारण गर्ने २०० नम्बरको जङ्गे पिल्लर नै गायब पारेको छ । स्थानीयवासी कार्कीका अनुसार अझै पनि भारतीय सुरक्षाकर्मीले बेलाबखत सो क्षेत्रमा आएर उक्त भूभाग आफूहरुको हो भनेर दावी गर्दै आएका छन् ।

‘भारतीयहरु आएर यस क्षेत्रको आधा भाग भारतमा पर्ने दावी गर्छन्,’ उनले भने, ‘गोविन्दले ज्यान दिएको चार वर्ष बितिसक्यो, उपलब्धि शून्य छ ।’

लामो समयदेखि सीमा विवाद रहे पनि समाधानका लागि सरकारले ठोस पहल गर्न नसकेको उनको भनाइ छ । विवाद समाधानका लागि जति ढिलो हुन्छ, नेपाली भूभाग भारतले विभिन्न बहानामा कब्जा गर्ने खतरा उति बढ्ने उनले बताए ।

विवादित क्षेत्रमा कल्भर्टमात्र होइन, सो नजिकै रहेको १५ कठ्ठा जग्गा पनि भारतीयले कब्जा गरेको स्थानीयवासी विनय कार्कीले बताए । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं १ मा पर्ने उक्त जग्गाको लालपुर्जा २०२८ सालमा बनेको हो ।

सो जग्गा बेलौरी नगरपालिका–१ फटिया, हाल पुनर्वास नगरपालिका–४, आनन्द बजार बस्दै आएका करन बहादुर सुनारको नाममा छ ।

पुनर्वास नगरपालिका–४, आनन्द बजार ब्यवस्थापन समितिका उपाध्यक्ष सुरत बहादुर मल्ल पनि भारतीय एसएसबीको टोलीले लामो समयदेखि आफूहरुलाई सताउँदै आएको बताउँछन् ।

‘धेरैपटक प्रतिकार पनि गरियो,’ उनले भने, ‘बजार आसपासका घरबाट उनीहरुले अन्न बालीसमेत लुटेर लैजाने गरेका थिए, अहिले यो क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको छ । त्यसपछि भने भारतीयको ज्यादती अलि कम भएको छ ।’

बीओपी स्थापनापछि जनतालाई केही सहज अनुभूति भए पनि ढुक्क भने भइनसकेको उनको भनाइ छ । सीमा सुरक्षाका लागि हामी लडेका छौं, गोविन्द गौतम सहिद नै भए,’ उनले भने, ‘कहाँ छ सरकार ? सीमा विवाद अहिलेको मात्र होइन, पहिलादेखिकै हो, के सरकार सीमा विवाद समाधान नै गर्न सक्दैन र ?’

यस्तो छ, गोविन्द गौतमका परिवारको अवस्था

सहिद गोविन्द गौतमका परिवारमा १४ जना सदस्यमध्ये दाजु विष्णु र रेशम रोजगारीका लागि भारततिर छन् ।

गोविन्द गौतमकी आमा हरिदेवी गौतमको २०७६ चैत ८ गते मृत्यु भयो । गोविन्दका पिता दुःख सुख गाउँघरमै जीवन बिताइरहेका छन् ।

गोविन्दकी पत्नी लक्ष्मी गौतम काठमाडौंतिर गएको भन्ने सुनेको पिता खेमलाल बताउँछन् । गोविन्दकी तीन छोरीलाई सरकारले निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

पिता खेमलालका अनुसार बसोबास गर्दै आएको ३ कठ्ठा जमिनको जग्गा धनी पुर्जा छैन । आफूसँग खेतीयोग्य जमिन पनि नभएकाले दाल–चामलसमेत किनेर खानुपर्ने बाध्यता रहेको उनले सुनाए ।

सहिद गोविन्दका परिवारलाई नेपाल सरकारबाट रु १० लाख, पार्टी, स्थानीय तह लगायतले २२ लाख गरी जम्मा ३२ लाख रुपैयाँ राहत उपलब्ध गराइएको भन्ने आफूले सुने पनि बुहारी (गोविन्दकी पत्नी) ले नै सो रकम लिएको उनले बताए ।

सो रकमबाट पुनर्वासको ‘आइबिआरडी’मा २६ लाख रुपैयाँ हालेर घर किनेको र उक्त घर गोविन्दकी ३ छोरी र श्रीमती लक्ष्मी गौतमको नाममा रहेको उनले सुनाए ।

‘अब रोइ–कराइ गरेर के पाउनु छ र ? छोराले निर्माण सुरु गरेको घर बनाउन सहयोग र आफु बस्दै आएको जमिनको लालपुर्जा पाए जीवन अलि सहज हुन्थ्यो कि !’ उनले भने ।

उनले छोरा गोविन्दको शालिक निर्माणका लागि आफुले उपभोग गर्दै आएको जग्गा उपलब्ध गराएको पनि बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।