शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनापछि ‘यो जिन्दगानी’ मार्फत फर्कियो नेपथ्य

मङ्गलबार, २५ फागुन २०७७, ११ : ०६
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौँ । कोरोनाको कारण सेलाएको सांगीतिक माहोललाई सांगीतिक ब्यान्ड नेपथ्यले फेरि निरन्तरता दिने भएको छ । नेपथ्यले आफ्नो एउटा सर्वकालीन हिट गीतको ‘लाइभ भिडियो’ श्रोता दर्शकसामु प्रस्तुत सो जानकारी दिएको हो । सबैले सँधै सुन्दै आएको र प्रत्येक जसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो– ‘जीवन हो घाम छाया, सुख दुःख दुबै हुन्छ ’ ।

परिस्थितिसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो । यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एक अर्काप्रति समभाव जगाउने भावना यस गीतले बोकेको छ ।

यो गीत नेपथ्यले दुई दसश अघि उसको प्रसिद्ध एल्बम ‘रेशम’मा समावेश गरेको थियो । पोखराका संगीतकर्मी श्यामसुङ तामाङले यस गीतलाई तयार पारेका हुन् ।

‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौ’, गायक अमृत गुरुङ सम्झन्छन् –‘असाध्यै मन परेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं ।’ तर, त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन् ।

‘आफ्नो ब्यान्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ भन्छन् ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो । यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोस्रोपटक उनलाई अनुरोध गरेँ ।’ यस्तो अवस्थामा दोश्रो पटक भने उनीबाट पाएको अनुमति अनुसार गीतको रेकर्डिङ गरिएको अमृत सुनाए ।

यसरी तयार भएको गीत पहिलेभन्दा सरल हुँदाहुँदै अझ बढी मार्मिक बन्न पुग्यो ।

गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो । अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ ।

यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो ।

यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो । झण्डै डेढ दशकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो ।

पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप