शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तामा राइँदाइँ गर्नेहरुका लागि संकटका दिन सुरु भए : रामकुमारी झाँक्री

सोमबार, २४ फागुन २०७७, २१ : ०४
सोमबार, २४ फागुन २०७७

बर्दिवास । नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकट सुरु भएको बताएकी छिन् । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले सत्तामा रहेर राइँदाइँ गर्नेहरुका लागि संकटको दिनगन्ती सुरु भएको बताइएकी हुन् ।

उनले निर्वाचन आयोगको अकर्मण्यताका कारण दुई दल मिलेर बनेको नेकपा पार्टीको अवस्थामा सर्वोच्च अदालतले हस्तक्षेप गरेकोप्रति आक्रोश व्यक्त गरिन् । उनले भनिन्, निर्वाचन आयोगको अकर्मण्यताले गर्दा मुलुकलाई द्वन्द्वमा फसायो । निर्वाचन आयोगले एक व्यक्तिको पक्षमा फैसला गर्न चाहने, तर कानून र राजनैतिक न्यायको सिद्धान्तको पक्षमा न्याय दिन नसक्नु आयोगको अकर्मण्यता नै हो ।

उनले अघि थप्दै भनिन्, हिजो अस्ति राष्ट्रियसभा, स्थानीय निकायदेखि विभिन्न निर्वाचनका क्रममा नेकपाको नामबाट निर्वाचित भएकाहरुलाई अब कुन दलको सर्टिफिकेट दिने आयोगले दिने ? पार्टीको विवादको बारेमा फैसला अड्काउने काम गरेर दललाई अनिर्णयको बन्दी बनाउने काम आयोगले गरेको छ ।

उनले हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा रहेको बताउँदै नेतृ झाँक्रीले सर्वोच्च अदालतको फैसलाले आफूहरुलाई अलग गर्ने प्रयास गरेको बताइन् । उनले यो संसदीय व्यवस्थाको खतरनाक खेल रहेको समेत बताइन् ।

उनले भनिन्, यो पेचिलो र कठिन घडीमा अझै एकता हौँ । पार्टीले कसैलाई पद र प्रतिष्ठाको लागि हामी एकता भएका होइनौँ । हामी सयौँ मरनी देवी जन्माउनुका लागि कम्युनिष्ट संघर्ष आन्दोलन र पार्टी एकताको पक्षमा हामी छौँ । कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण हुन सफल छ । प्रधानमन्त्री ओलीले त सहमतीमा पार्टी फोड्ने अभियान नै चलाएको थियो । उनीहरुलाई अब कम्युनिष्ट आन्दोलनबाट अलग गरेर नयाँ ढंगले अघि बढौँ । को प्रधानमन्त्री र को राष्ट्रपति हुने र कसलाई बनाउने हाम्रो अभियान होइन । हाम्रो अभियान कम्युनिष्ट आन्दोलन, वर्गीय आन्दोलन र मुक्तिको आन्दोलन नै हाम्रो अभियान हो र हाम्रो संकल्प हो ।

उनले नाम र झण्डा भन्दा पनि कम्युनिष्टको सिद्धान्त र विचार आफ्नो लागि प्यारो रहेको बताइन् ।

उनले लोकतन्त्र र संविधानलाई सही बाटोमा हिँडाउन सफल भएको दावी गरिन् । उनले भनिन्, हरेक समस्याबाट हामी अघि बढ्ने छौँ, अँध्यारोबाट उज्यालो र वाहिनीको सूर्य उदयमानले नयाँ सन्देश अवश्य पनि दिने छ । कसैले चिन्ता नगर्दा हुन्छ  ।

नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीले चालेको पुस ५ गतेको कदम राजा महेन्द्रले चालेको कदम नै रहेको बताउँदै उनले आफू आन्दोलन गरेरै घुँडा टेकाउन सफल भएको बताइन् ।

उनले भनिन्, हामी सही बाटोमा रहेकोले हाम्रै जीत हुनेछ । सर्वोच्च अदालतको फैसलाले हिजोदेखि सरकारले विश्वासको मत लिनुपर्छ । अब प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नका लागि मरिहत्ते गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप