बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नारी दिवसले नछोएका नारी  !

सोमबार, २४ फागुन २०७७, २० : ४०
सोमबार, २४ फागुन २०७७

सुर्खेत । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशका शहरी भेगदेखि स्थानीय स्तरसम्म मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइएको यो दिवसले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि १६ दिनदेखि धर्नामा बसेका वादी समुदायका महिलालाई भने छोएन । 

१६ दिनदेखि भूमिको माग गर्दै धर्नामा बसेका महिला तथा बालबालिकाले राम्रोसँग खानसमेत नपाएको आन्दोलनरत वादी महिला भानु वादीले रातोपाटीलाई बताइन्  । ‘यो नारी दिवस भनेको के हो ?’ उनले सोधिन्, ‘हामीलाई काम गरी खानका लागि जग्गा चाहियो भनेर आन्दोलन गर्दै खुला आकाशमा बसेको १६ दिन भयो । कुनै महिला अधिकारवादीले बोलेका छैनन् ।’

विगतमा पनि नारी दिवस समेत भनिने श्रमिक दिवसका विषयमा जानकारी नभएको र आज पनि थाहा नभएको धर्नामा बसेकी दैलेख नारायण नगरपालिका– १ की कमला वादी बताउँछिन् । उनले भनिन् ,‘ हाम्रा त आफ्नाई पीडा छन् हजुर क्या नारी दिवस मनाउनु ।’ हामीलाई राम्रो सँग खाना र हाम्रो माग पुरा भएको भए हाम्रा लागि दिवस त्यही हुन्या थियो,’ आफ्नै भाषामा उनले भनिन्, ‘विगतमा दिनहरूमा खोलाका किनारमा बसेर गिट्टी, बालुवा कुटेर दिन गुजार्नुपर्थ्यो ।’ 

वादी महिलाहरूलाई नारी दिवसका विषयमा कुनै जानकारी नभएको कालिकोट खाँडाचक्र नगरपालिका पुष्पा वादीले बताइन् । ‘हाम्रो नाममा पाँच धुरमा बनेको घरबाहेक अरु केही पनि छैन,’ उनले भनिन्, ‘अहिले हामीलाई जग्गा चाहिएको छ । त्यो नारी दिवस किन चाहियो ? सोमबार उनीहरु रहेको स्थान सुनसान जस्तै थियो । वादी समुदायका महिलाहरु पाल मुनी ओत लाग्दै दिन समय बिताइरहेका थिए । उनीहरुले खेतीयोग्य जमिनको माग गर्दै आन्दोलन गरिरहेका छन् । तर, प्रदेश सरकारको शरणमा रहेका उनीहरु निमुखा जस्तै बनेका छन् ।‘आन्दोलन लम्बिँदै गयो । यहाँ रहेका १०४ भन्दा बढी बालबालिका र बृद्धबृद्धा बिरामी पर्न थालेका छन्,’ अर्का भुमी वादीले भनिन् , ‘आन्दोलन लम्बिँदै गएका कारण खानाका लागि समस्या हुँदै आएको छ ।’

राउटे महिलाहरु पनि उस्तै 
यस्तै नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना मानिने राउटे समुदायका महिला पनि दिवसको बारे बेखवर छन् । सरकारी कार्यालय एवं गैरसरकारी संघ संस्थाले नारी दिवसबारे जानकारी नगराइदिँदा ती समुदायकी महिला दिवसको बारे अनभिज्ञ भएका हुन् ।


गैर राउटे भन्दा राउटे महिलामा अधिकार पुरुषलाई भन्दा बढी छ । पुरुषले काठको भाडा बनाउने, गाउँबाट अन्न ल्याउने काम हुन्छ । राउटे महिला घरको आन्तरिक व्यवस्थापनका सर्बेसर्बा मानिन्छन् । उनीहरुको काम खाना बनाउने तरकारीको जोहो गर्ने घर सफा राख्ने मात्र हो । पुरुषले कोशी, खाट, झुमा बनाएर गाउँघर डुल्ने सिकार गर्ने गर्छन् । तर, विधुवा महिलालाई उनीहरुको आफन्तले कोशी सहयोग गरेर खानाको जोहोको लागि गाउँघर डुल्छन् । यी त उदाहरण मात्रै हुन कर्णालीका दुर्गम क्षेत्रका महिलाहरुलाई पनि नारी दिवसले खासै प्रभाव नै पर्दैनन्  ।

के भन्छन् त नेतृत्वमा रहेका महिला ?  
अधिकांश महिलाहरु घाँस, दाउरामै समय बिताउनुपर्ने भएकाले नारी दिवसको बारेमा जानकारी नै हुँदैन ,’ आठबीस नगरपालिका दैलेखका उपप्रमुख दीपा बोहोरा भन्छिन् ।  नेतृत्वमा रहेका महिलाहरुले अब ग्रामिण भेगका महिलाहरुलाई जागरण ल्याउन खालका कार्यक्रमहरु ल्याउन जरुरी छ । 
जिल्ला निर्वाचन कार्यालय सुर्खेतको नेतृत्व गरिरहेकी निर्मला रेग्मी भन्छिन्,‘ हरेक निकायमा नारी पुरुषको समान सहभागिता भनिएपनि अझै पनि महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने पितृसत्तात्मक सोच छ ।’ तर, महिलाहरु पनि सक्षम बनिसकेका छन् । 
देश संघीयतामा आएसँगै तिन तहका सरकारहरु बनेका छन् । स्थानीय सरकारहरूमा प्रमुख अथवा अध्यक्षमा पुरुषहरूको वर्चश्व छ भने महिलाहरुले  उपमेयर अथवा उपाध्यक्षको पदको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशको कुरा गर्ने हो भने एक जना मात्र महिलाले मन्त्रीको पद सम्हालेकी छन् । 

यही घटनालाई मात्र मध्यनजर गर्दा लाभका पदमा पुरुषले महिलालाई कसरी पन्छाउँछन् भन्ने पुष्टी गर्छ ।
उसो त कर्णाली प्रदेशमा ४० मध्ये १३ जना सांसद मात्र महिला छन् ।  प्रत्यक्ष निर्वाचनमा लड्न नपाएका उनीहरुलाई समानुपातिक कोटाले राहत दिएको छ । १३ महिला सांसदमध्ये भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मात्र विमला केसीले सम्हालेकी छन् । 

समाज जागरण केन्द्र स्याक नेपाल नामक संस्थाको  नेतृत्व गरिरहेकी मिना तिवारी भन्छिन्,’ संविधानमा महिला पुरुषको समान सहभागिता भनिएपनि कार्यान्वयनको पक्षले सार्थकता पाएको छैन ।’ 
कर्णाली प्रदेशको सामाजिक विकास समितिको नेतृत्व गरिरहेकी प्रदेश सभा सदस्य देवी वली कर्णालीका सबैजसो महिलाहरुलाई दिवसबारे जानकारी नभएको बताउँछिन्। अझै पनि नारीहरू घरभित्रको काममा लाग्नुपर्छ भन्ने सोच रहेको उनको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप