बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

दुई सय जनाकी कमान्डर शान्ता

शान्ता बाँस्कोटा कोइराला, प्रबन्ध निर्देशक, कञ्चनजङ्घा टी एन्ड रिसर्च सेन्टर
सोमबार, २४ फागुन २०७७, १६ : २७
सोमबार, २४ फागुन २०७७


बाबुको बिँडो अर्थात् विरासत कसले थाम्छ ? सामान्यतया यो प्रश्नको उत्तर छोराले थाम्ने भन्ने आउन सक्छ । तर यहाँ यो उत्तर गलत देखिन्छ । बाबुको विरासत छोरीले पनि थाम्न सक्छन् भन्ने धेरै उदाहरणहरू छन् । बाबुको कमाइमा रमाउँने र कमाउँनेभन्दा बढी गुमाउने जमात पनि छन् ।

यद्यपि सही ढङ्गले बाबुका वर्षौं पुरानो व्यापार व्यवसाय अझ भनाँै बाबुले जे अँगालेका छन् त्यसैलाई आफ्नो काँधमा बोक्न तयार छन् कतिपय छोरीहरू । बाबुको विरासत आफ्नो काँधमा बोकेकी छोरी शान्ता बाँस्कोटा कोइरालाको आफ्नै कथा छ ।

हरेक दिन कार्यालय आउने ग्राहकले सोध्ने गरेको एउटा प्रश्न, ‘यो अफिसको सर कता हुनुहुन्छ ?’ यही प्रश्नले शान्ता बाँस्कोटा झुक्किन्थिन् जतिबेला उनी आफ्नो पेसाको बोस (हाकिम) नै भएर बसेकी थिइन् । प्रबन्धक निर्देशकको कुर्सी जहाँ शान्ता बाँस्कोटा बस्न थालेको पनि २० वर्ष भयो । तर उनलाई सुरुवाती दिनका सम्झाना अझै झलझली आउँछ ।

पहिलो दिन सर नदेखेर फर्कनेहरु दोस्रो दिन पनि सर खोज्दै आउँथे तर उनीहरु शान्ता नै त्यहाँकी सर हुन भन्ने सोच्दैनथे ।

अनि फेरि सोध्ने ‘यहाँको सर कता हुनुहुन्छ ?’

शान्ता अचम्ममा पर्थिन् र मनमनै सोच्थिन्, जो आए पनि सर हुनुहुन्न मात्र भन्छन् ।  यहाँँको सर म नै हुँ भनेर यिनीहरुलाई कसरी बुझाउने होला भन्ने कुराले उनलाई सताउन थाल्यो । त्यस्ता कुर्सीमा पुरुष मात्र बसेको देख्ने नजरले प्रबन्ध निर्देशक महिला पनि हुन्छ भन्ने बुझ्दैनथ्यो सायद । र त घरीघरी सोधिरहन्थे यहाँको सर कता जानु भयो ?

शान्ताले भन्न थालिन् म नै हो यहाँको, के गर्नुपर्यो भन्नुस् न ? अनि आगन्तुक भन्थे हाई लेभलको निर्णय गर्नु छ । हामी सरसँगै कुरा गर्छौं । शान्ता फेरि थप्छिन् म नै हो यहाँको सर । हाई लेभलमा  म नै छुँ । तर उनीहरु पत्याउँदैनथे ।

कञ्चनजङ्घा टी एन्ड रिसर्च सेन्टरकी बाँस्कोटा जतिबेला सो व्यवसायमा हामफालेकी थिइन् त्यतिबेला सो क्षेत्रमा महिलाको प्रवेश नै थिएन । त्यसैले उच्च तहमा मिस÷ म्याडम खोज्न कोही आउँदैनथे । उनी भन्छिन्, ‘जहिले पनि कार्यालयमा मानिसहरु आउने अनि सर हुनहुन्न भनेर सोध्ने अनि मैले  के गर्नुपर्ने  हो, म गर्दिन्छु भन्दा उहाँहरु हाई लेभलबाट निर्णय गराउनुछ भन्दै सर खोज्थे ।’

विस्तारै उनी नै सर हो भन्ने कुरा आउनेहरुले पनि बुझ्न थाले । आजभन्दा २० वर्षअगाडि चिया क्षेत्रमा प्रवेश गरेकी उनले बुबाको विरासत मात्र थामेकी छैनन् स्वयं लगानी पनि हालेकी छन् र झण्डै २ सय जनालाई रोजगारीसमेत दिएकी छन् ।

टाई सुट लगाउने अधुरो रहर...

उनलाई स्कुल होस् वा कलेज पढ्दा होस् टाई सुट लगाएको मासिन देख्दा संसारकै स्मार्ट मानिस यिनै हुन् जस्तो लग्थ्यो । उनलाई सो पहिरन लगाउन र स्मार्ट देखिनकै लागि बैङ्कको जागिर खाने हुटहुटी नचलेको पनि होइन । समाज शास्त्रमा स्नातकोत्तर गरेपछि उनले थुप्रै बैङ्कमा जागिरका लागि आवेदनसमेत दिएकी थिइन् । उनी जागिरका लागि भाँैतारिएको देखेर उनका श्रीमानले उनलाई सोधेछन्, ‘तिमी जागिर किन खान्छौ ? तिमीले त अरूलाई जागिर दिने हो । यसरी बायोडाटा बोक्दै नभौँतारिनू ।’

यति सुनेपछि शान्ता झसङ्ग भइन् । वास्तवमै आफूले सही गरेको छ वा छैन भन्दै सोच्न लागिन् र अन्ततः उनले आफ्ना बैङ्कको जागिरप्रतिको सारा हुटहुटीलाई तिलाञ्जली दिएर व्यवसाय गरेर सफल उद्यमी बन्ने बाटो रोजिन् ।

उनले आफ्ना श्रीमानको त्यो भनाइ अहिले पनि सम्झन्छिन्, ‘त्यति नभनिदिएको भए म जागिरका लागि तड्पन्थे होला । तर अहिले जागिरे होइन उद्यमी बनेको छु । सफल महिला उद्यमीको नाम लिँदा १०, १२ जनाभित्र मेरो नाम पनि पर्छ ।’

उनको पाँचथरको फिदिममा ९५ हेक्टरमा चिया उत्पादन हुँदै आएको छ । देशमा मात्र होइन उनले विदेशमा समेत निर्यात गर्छिन् । चिया बगानमा चिया टिप्ने काममा मात्र सीमित रहने महिलाको भिडमा शान्ता हाई लेभलमा बसेर २ सय कामदारको कमान्डर बनेकी छन् । शान्ता अहिले जुन स्थानमा छिन् उनी सो पेसाप्रति नतमस्तक छिन् । अझ अरूलाई रोजगारी दिन पाउँदा गौरवशाली व्यक्तिका रूपमा उभिएका बताउँदै उनी भन्छिन्, बैङ्कमा जागिर खाएको भए एउटा कोठाभित्र मात्र सीमित बन्थे होला तर व्यवसाय रोजी यसले मेरो जिन्दगी नै बदलिदिएको छ । कञ्चनजङ्घा टी एन्ड रिसर्च सेन्टरको नामबाट सञ्चालित उनको व्यवसाय देशकै नमुना व्यवसायमा पर्छ । बुबाको व्यवसाय सम्हाल्छु भन्ने उनले कहिले सोचिनन् । पढेर जागिर खाने कुरा मात्र उनको दिमागले भनिरहन्थ्यो । यहाँको सर म नै हो भनेर नपत्याउनेहरु पनि उनको क्षमताको प्रसंशक छन् अहिले  ।

देशमा १०, १२ जना महिला उद्यमीको नाम कसैले लिन्छ भने त्यो सूचीमा उनको नाम पनि अटाउँछ । बहिनी तारा बाँस्कोटा र शान्ता बाँस्कोटा चिया क्षेत्रको हाई लेभलका पहिलो महलिा हुन्  । जागिरका लागि भौँतारिँदै गर्दा शान्ताको श्रीमानले भनेको एउटा वाक्य ‘जागिर खाने होइन दिने हो’ भन्ने वाक्यले उनको जीवन नै बदलिदियो । आफ्नो उत्पादन, आफ्नै फ्याक्ट्री, काठमाडौँमा मार्केटिङ कार्यालय रहेको उनीहरुको व्यवसाय रहरलाग्दो छ ।

निर्यात गरेर विदेशी मुद्रा आर्जन

गाउँलेहरुलाई सहयोग पनि गरेका छन् । नेपाली उत्पादन अर्गानिक चियालाई विदेशमा समेत परिचित गराउन उनीहरुले हरबखत प्रयास गरिरहे । थोरै भए पनि डलर भित्र्याउने काम उनीहरुको व्यवसायबाट पनि भएको छ कञ्चनजङ्घा टी एन्ड रिसर्च सेन्टरले ३५ सय विद्यार्थीसमेत पास आउट गरिसकेको छ । चिया बगानमा काम गर्ने कामदारको आर्थिक स्थिति उकास्न हरेक कामदालाई उनीहरुले गाइदिएका छन् । जसबाट आएको मल चिया बगानमा प्रयोग हुन्छ तर त्यसका लागि पनि फ्याक्ट्रीले शुल्क तिर्छ । गाईले दिने दूध उनीहरुले नै आफ्नो जीविकोपार्जनका लागि बेच्छन् । इको हाउस भनेर गार्डेनमा काम गर्न आउनेका लागि बस्ने व्यवस्था छ । उनीहरुले सामाजिक को–अपरेटिभ मोडलमा काम गरिरहेका छन् । नेपालमा को– अपरेटिभ मोडल भित्र्याउने उनका बुबा पहिलो व्यक्ति हुन्, जो गृह राज्य मन्त्रीसमेत बनिसकेका व्यक्ति हुन् ।

उनीहरुको व्यवसायमा आबद्ध कामदारमा ८० प्रतिशत कामदार महिला छन् । वार्षिक ४० देखि ५० हजार किलो चिया उत्पादन गर्ने कञ्चनजङ्घाले ७० प्रतिशत चिया निर्यात गर्छ । फ्रान्स, इटाली, जापान, अमेरिका, क्यानडा, हङकङ लगायत देशमा उनीहरुले  निर्यात गरिहेका छन् ।

अझै पनि महिला भएर र पुरुष बनेर काम गर्नु निकै अन्तर रहेको उनको बुझाइ छ । पहिलाका महिलाहरु घरायसी काममा मात्र हुन्थे तर अहिले अफिसियल र घरायसी दुवै काममा महिला छन् । यसकारण पनि दोहोरो जिम्मेवारीमा रहेका महिलाहरुका लागि सबै पक्षको सकारात्मक सोचाइ आवश्यकता रहेको उनको तर्क छ । 

पितृसत्तात्मक सोच र माइन्ड सेट जसले महिलालाई अगाडि बढ्न रोक्छ । जबसम्म यस्ता कुरामा परिवर्तन हुँदैन तबसम्म महिला दिवस, सो दिवसमा लिइने नारा सबै वाहियात बन्छन् । श्रीमतीलाई सपोर्ट गर्ने छोरालाई जहिलेसम्म नराम्रो मानिन्छ र छोरीलाई सपोर्ट गर्ने ज्वाइँलाई  जहिलेसम्म गतिलो मानिरहन्छ र यी दुई बीचको समानता हुँदैन तबसम्म महिलाका लागि हरेक बाटा र परिस्थिति सङ्घर्षशील बन्ने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप