शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुद्दा लडेर आएपछि ‘ताजुव’ देखियो: प्रधानमन्त्री ओली

सोमबार, २४ फागुन २०७७, १५ : २९
सोमबार, २४ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछि ताजुब देखिएको बताएका छन् ।  १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि पार्लियामेन्टमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परिणत गरेको बताए । 

‘मुद्दा लडेर आएपछि ताजुव देखियो । एउटा फैसला अदालतको जय जयकार । अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ?’ प्रधानमन्त्री ओलीले अदालतका फैसलापछि आएका प्रतिक्रिया र दृश्यहरुको चर्चा गरे । उनले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मान गर्न आग्रह गरे । ‘मैले प्रतिनिधिसभा विघटन गरेँ, दुरदिन देख्नु थियो पुनःस्थापित भयो । पुनःस्थापनापछि चुनावमा जाने बेलामा नारा जुलुस हेर्नुस् त । एकाथरी गुरुरुर कुदछन्, अर्को थरी नारा लगाउँछन् । पहिलो गाँसमै झिंगा’ प्रधानमन्त्री ओलीको भनाइ छ ।  उनले यस्तै दुर्दिन देख्न नपरोस् भनेर नै प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनःस्थापित भएपछि त्यस्तो दृश्य देख्न परेको टिप्पणी गरे । 
उनले प्रचण्ड माधव पक्षले अझैपनि अर्जुनले माछाको आँखोमात्र देखेजस्तै पद, सत्ता र स्वार्थ मात्रै देखिरहेको बताए । ‘केही मान्छेहरु छन् जो अरु थोक केही पनि देख्दैनन् । अर्जुनले माछाको आँखोमात्रै देखेजस्तै पद, सत्ता र स्वार्थमात्रै देख्छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ । 

उनले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधिएकामा आक्रोश व्यक्त गरे । ‘अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको ?’ प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो । आइतबार संसदमा नेकपा खारेज भइसकेको अवस्थामा प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गर्नुपर्ने बेला भएको भन्दै सांसद भीम रावलले टिप्पणी गरेका थिए । 

‘उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो र कुन पार्टीको सदस्य भन्ने’, ओलीले आफु कुन पार्टीको प्रधानमन्त्री भन्ने प्रश्नको जवाफ सर्वोच्च अदालतलाई सोध्न आग्रह गरे । 

‘अदालतले भनेको पनि नसुन्ने, देख्नै पनि नखोज्ने, कान भएर के गर्ने सुन्दै नसुन्ने ? अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउ रे ! सर्वोच्च अदालत जानु कुन पार्टीको भन्ने’, ओलीको जवाफ थियो ।  त्यस्तै मानिसहरुले समस्या पैदा गरेको दावी गर्दै उनले लडाई गरेर, मुद्दा लडेर संसद पुनःस्थापना गरेकोमा आक्रोश पोखे । ‘यतिबेला चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोकेर संसद किन पुनःस्थापना गरेको रहेछ भन्दा उफ्रिन । नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन पो रहेछ’, उनले पुनःस्थापित संसदलाई देशका समस्या छलफल गर्ने थलो बनाउनुपर्नेमा छलफल गरौं न भन्दा पनि माननीय भनेपनि व्यवहार त्यो अनुसार नदेखिएको टिप्पणी गरे । 

‘माननीय भनेर अगाडि लेखिएको हुन्छ । माननीय भनेर लेखिएजस्तो, माननीयले बोल्ने भाषा जस्तै छलफल गरौं न । तर, छलफल गरेको होकी, उफ्रेको होकि धामी नाच होकि ? पार्लियामेन्ट ?’ पहिलो दिन नै संसद अवरुद्ध र बहिस्कार गरेकोमा प्रधानमन्त्रीले सांसदहरुप्रति आक्रोश पोखे । ‘पार्लियामेन्ट सुरु भएको छ । गुरुरर कुदेर वेलमा आएर नारा लगाएका छन्, कराएका छन् । के बिग्रियो त भन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश टेवल गर्न आँट्यो सरकारले भनेर पो रहेछ । फेल गरे भैगो नि सक्छौ भने । मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन’ ओलीको भनाई थियो । उनले अध्यादेश एसिड छयाप्न हुने रोक्नचाही नहुने ? भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप