
हनुमन्ते खोला करिडोरको काम रोक्ने स्थानीयको चेतावनी

भक्तपुर । राज्यले उचित क्षतिपूर्ति नदिए भक्तपुरको हनुमन्ते खोला करिडोर विस्तारको काम रोक्ने स्थानीयले चेतावनी दिएका छन् । सोमबार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गर्दै हनुमन्ते करिडोर पीडित समितिका संयोजक ओम प्रकाश श्रेष्ठले भने, ‘करिडोर निर्माणका लागि जग्गा प्राप्ति गर्न कानुन बमोजिम स्थानीय मुल्य अनुसारको मुआब्जा र क्षतिपूर्तिको व्यवस्था हुुनु पर्दछ ।”
करिब ११ किलोमिटर सडक विस्तार गर्दा ९ सय ५० रोपनी जमिन पर्ने भएकाले धेरैको उठीबास लाग्ने श्रेष्ठको भनाइ छ । किसानले गरि खाने खेत मासिने भएकोले उचित व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।
नेपाल संविधानद्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकको संरक्षण गर्दै अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र मुआब्जा प्रयोजनका लागि सिमाङ्कन तथा नक्साकन हुुनु पर्ने पीडित स्थानीयहरुको माग रहेको छ ।
“कानूनी ढंगले जग्गा अधिग्रहण गरी जग्गा एकिकरण गर्ने काम यथाशिघ्र हुनुपर्दछ, ” संयोजक श्रेष्ठले भने ।
हनुमन्ते खोला करिडोर क्षेत्रमा विकास निर्माणको कार्य गर्दा हनुमन्ते करिडोर पीडितहरुलाई सहभागी गराउनुका साथै सहमति लिनुुपर्ने उनीहरुको माग रहेको छ ।
हनुमन्ते खोलाको बाहव क्षेत्र घटाउने तथा परिवर्तन गर्ने कार्य बन्द गर्नु पर्ने र पीडितले राखेका मागहरु पूरा नभएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने भन्दै उनीहरुले सम्बन्धित निकायलाई चेतावनी दिएका छन् ।
राज्य शक्तिको दुरुपयोग गरेर प्रमुख जिल्ला अधिकारी र सांसदले जबरजस्ती करिडोर विस्तार गर्नुको औचित्य के भन्दै उनीहरुले प्रश्न गरेका छन् । केही स्थानमा २०२१ सालको नापी नक्सा अनुसार खोलाको बहाव परिवर्तन गरेपनि सबै स्थानमा सो कुरा लागू नभएकाले आफुहरु सशंकित भएको पीडित समितिका सल्लाहकार सुरेन्द्र श्रेष्ठले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ