बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान संकटमा ओली नै बढी जिम्मेवारः जनमोर्चा

सोमबार, २४ फागुन २०७७, ११ : ३८
सोमबार, २४ फागुन २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले प्रतिनिधिसभा विघटन र नेकपाभित्रको अन्तरविरोध वा कलहमा केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको भन्दै अहिले देखिएको संकटमा पनि ओली नै बढी जिम्मेवार रहेको प्रस्ट पारेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिनुपर्ने उल्लेख गरेका छन् ।

नेकपा विवादबारे सर्वोच्च अदालतले गरेको फैसलापछि उत्पन्न परिस्थितिमा नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प रहेको बताएका छन् ।

नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुनसक्ने तर्फ पनि अध्यक्ष केसीले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् । ‘त्यही कारणले हामीले केपी ओलीको सरकारलाई समर्थन गरेका थियौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौँ । अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन । त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ ।’

सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको भन्दै राष्ट्रिय जनमोर्चाले भनेको छ, ‘प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनर्स्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो ।’

अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत नरहेको र त्यो स्थितिमा झन् राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको पनि राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप