बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्य वृद्धिसँगै बजारमा कागज अभाव, अनावश्यक मौज्दात नराख्न महासंघको आग्रह

सोमबार, २४ फागुन २०७७, ११ : ११
सोमबार, २४ फागुन २०७७

छिमेकी मुलुक भारत लगायत बिश्व बजारमा कागजको भाउ वृद्धि संगै नेपाली बजारमा समेत कागजको भाउमा अत्यधिक वृद्धि भएको छ । अहिले नै करिव ३० प्रतिशतले वृद्धि भईसकेको कागजको मुल्य ४० प्रतिशत सम्म वृद्धि  हुन सक्ने सम्बन्धित बिषयका जानाकार तथा ब्यवसायीहरु बताउँछन् । 

नेपालमा शैक्षिक सत्र र नयाँ बर्षको सुरुवातसंगै कागजको माग उच्च रहेकै समयमा कागजको भाउ आकासिँदा कागज ब्यवसायीहरु मात्र नभई मुद्रण उद्योगी, प्रकाशक र अन्य सरोकारवाला पक्षहरु समेत मर्कामा परेका छन् । मुल्य वृद्धिसगै आपुर्तीमा समेत कमी आएका कारण बजारमा कागजको समेत अभाव रहेकाले महंगो तिरेर पनि कागज नपाउने अवस्था सृजना भएको हो । 

सिजनको समयमा कागजको अभाव हुनका साथै मुल्यमा समेत वृद्धि हुनुको असर कागज ब्यवसायी, मुद्रण उद्योगी र प्रकासकहरुलाई मात्र नभई मजदुर बर्र्गलाई समेत परेको छ । शैक्षिक सत्रको सुरुवात संगै पाठ्य पुस्तक, अभ्यास पुस्तिका लगायत शैक्षिक समाग्रीको माग तथा आपुर्ती उच्च रहने र नयाँ बर्षको सुरुवात संगै भित्ते पात्रो लगायतका सामाग्रीहरुको समेत छपाई उच्च रहेने भएकाले अहिलेको समयलाई कागज ब्यवसायी, मुद्रण उद्योगी र प्रकाशकहरु सिजनको रुपमा लिने गर्दछन् ।  
 
बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बिगत एक बर्ष कागजको प्रयोगमा कमी आएको, प्रयोग भएका कागजका समेत रद्दी तथा झुरा कागजको संकलन हुन नसकोको र पछिल्लो समयमा संकलित भएपनि त्यस प्रकारका रद्दी तथा झुरा कागजको भन्डारका लागि समस्या रहेका कारण कच्चा पदार्थको आपुर्तीमा कमी भएकाले माग अनुरुप रिसाईकल कागज उत्पादन गर्न नसकिएको मिलहरु बताउने गर्दछन् । 

रिसाईकल कागजको प्रयोग नगरी पल्पमात्रको प्रयोगबाट उत्पादन हुने उडफ्रि, आर्ट बोर्ड तथा आर्ट पेपर लगायतका गुणस्तरीय कागजहरु नेपालमा उत्पादनै नहुने तथा भारतमा समेत न्यून मात्रामा उत्पादन हुने भएकाले तेस्रो मुलुकबाट आयात हुने गर्दछ । 
त्यसरी तेस्रो मुलुकबाट आयात हुने गुणस्तरीय कागजहरु समेत अन्तराष्ट्रिय बजारमा पानी जहाज तथा ढुवानीको मुल्यमा वृद्धि भएका कारण मुल्य वृद्धि हुन पुगेको सम्बन्धीत ब्यवसायी चिरञ्जीबी शर्माको भनाई रहेको छ । मुल्यमा अस्वभाबिक रुपमा वृद्धि भएकाले कागज आयातकर्ता ब्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेकाले पनि बजारमा अहिले कागज अभाव सृजना हुन पुगेको छ । 

बजारमा कागजको मुल्यमा वृद्धि भएसगै मुद्रण ब्यवसायीहरु समेत मुल्य वृद्धि गर्न बाध्य हुने अवस्था सृजना भएको मुद्रण उद्योगी तथा ब्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघ बताउँदछ  । मुद्रण कार्यको मुल्य मुख्य रुपमा कागजको मुल्यमा नै आधारित रहने भएकाले कागजको मुल्य वृद्धि संगै मुद्रण कार्यको मुल्य समेत स्वत वृद्धि हुने महासंघका अध्यक्ष पुस्कल गौतम बताउँछन् । 

साथै महासंघले कागज अभावको बहानामा भएको कागजलाई लुकाई कालो बजारी गर्ने सम्भावना समेत रहने कुरालाई औंल्याउँदैे मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई अनावश्यक मौजदात नराख्न र कागज आयातकर्ता, डिलर तथा खुद्रा बिक्रेतालाई कागज मौज्दात राखि अभाब सृजना खडा नगर्न र उपलब्य कागज सहज रुपमा बिक्रि गर्ने वातावरण सृजना गर्दै सहज आपुर्तीका लागि अग्रसर रहन आग्रह गरेको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप