मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेगन मर्केलले ओप्रा विनफ्रीलाई भनिन्, ‘म बाँच्न चाहन्नथेँ

सोमबार, २४ फागुन २०७७, १० : २१
सोमबार, २४ फागुन २०७७

बेलायतकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन मर्केलले चर्चित अमेरिकी टिभी प्रस्तोता ओप्रा विनफ्रीलाई दिएको अन्तरवार्तामा निकै महत्वपूर्ण कुरा गरे ।

अमेरिकी समाचार च्यानल सीबीएसमा प्रसारण भएको यो बहुचर्चित अन्तरवार्तामा ओप्रा विनफ्रीसँग मेगनले भनिन्, ‘मेरा श्रीमान् ह्यारीले मलाई शाही परिवारबारे जति बताएका थिए, त्यति मात्रै थाहा थियो । मानिसहरुको सोच्छन् कि यो एक परीको दुनियाँ हो तर वास्तविकता योभन्दा निकै भिन्न छ ।’

मेगनका अनुसार विवाहको दिन उनीहरुलाई थाहा थियो कि यो दिन उनको र ह्यारीका लागि नभई यो संसारको लागि थियो ।

मेगनले भनिन्, ‘जब मैले महारानीलाई पहिलो पटक भेट्दै थिएँ तब उहाँ विन्डसर क्यासलमा हुनुहुन्थ्यो । मलाई ह्यारीले महारानीलाई भेट्दा औपचारिकताबारे थाहा छ भनेर सोधे ? म अचम्मित भएँ किनभने मलाई थाहा थिएन कि कुनै नीजि भेटमा पनि यस्ता औपचारिकता पूरा गर्नुपर्छ ।’

‘मैले पूरा औपचारिकता सिकेँ र महारानीलाई भेटेँ ।’

मेगनले ओप्रा विनफ्रीलाई बताए अनुसार उनले प्रिन्स ह्यारीसँग विवाहको सार्वजनिक समारोहभन्दा तीन दिन अघि विवाह गरेकी थिइन् ।

मेगनले भनिन्, ‘हामीले आर्चबिशप र क्यान्टबरीलाई यो समारोह दुनियाँका लागि हुने बतायौं तर हामी चाहन्छौं कि हाम्रो विवाह दुनियाँका लागि नभई हाम्रो लागि हुनुपर्छ ।’

ओप्राले ‘के फ्लावर गर्लको कपडाको विषयमा केट मिडल्टन र मेगन मर्केलबीच भएको खटपटले केटलाई रुवाएको थियो ?’ भन्ने प्रश्न सोधिन् ।

यसको जवाफमा मेगनले भनिन्, ‘यो सनसनीपूर्ण रिपोर्ट झुटो थियो । यसको ठिक विपरित भएको थियो । केट फ्लावर गर्लको कपडाका लागि खुसी थिइनन् र यो कुराले मलाई रुवाइदियो । यद्यपि, त्यसपछि केटले मेरा लागि फूल र एउटा नोट पठाइन् र माफी मागिन् ।’

‘मैले यो कुरा केटलाई होच्याउन भनिरहेकी छैन । केट निकै राम्री छिन् ।’ केट मिडल्टन प्रिन्स विलियम्सकी श्रीमती हुन् ।

मेगनले आफ्नो अन्तरवार्तामा शाही परिवार र फर्मबीचको अन्तरबारे कुरा गर्दै शाही परिवारको व्यापारसँग सम्बन्धि मानिसहरुलाई फर्म भनिने जानकारी दिइन् ।

मेगनले भनिन्, ‘महारानीको व्यवहार मसँग सधैं उत्कृष्ट रह्यो । उहाँको वरिपरि बस्दा मलाई असाध्यै राम्रो लाग्थ्यो ।’

सन् २०१८ मा महारानीसँग आफ्नो पहिलो सार्वजनिक उपस्थितीमा मेगन भन्छिन्, ‘मलाई महारानीले मोतीको सेट उपहारमा दिनुभएको थियो ।’

शाही परिवारसँग बस्दा आफ्नो अनुभवबारे मेगन भन्छिन्, ‘थुप्रै दिनसम्म असाध्यै एक्लो महसुस गर्दथेँ । यति धेरै कि मैले आफ्नो जीवन कहिल्यै पनि गरेकी थिइनँ । नानाथरी नियमले बाँधिएको थियो । म साथीहरुसँग बाहिर खाना खान पनि जान सक्दिनथेँ । ’

उनले भनिन्, ‘म ह्यारीसँग भने एक्लो महसुस गर्दिनथेँ तर जब उनी कुनै कामले बाहिर जानुपर्दथ्यो तब थुप्रै पटक आधार रातमा यस्तो पल हुन्थ्यो जब म असाध्यै एक्लो महसुस गर्दथेँ । मलाई धेरै कुरा गर्न अनुमति थिएन । त्यसैले सायद एक्लोपन बढ्दै गयो ।’

अघिल्लो वर्षको सुरुवातमा नै प्रिन्स ह्यारीले आफू र उनकी श्रीमती मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूलाई अलग गरिरहेको र आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनका लागि काम गर्नेछन् ।

छोरा आर्चीलाई राजकुमारको उपाधि छैनः

ओप्रो विनफ्रीले मेगन र ह्यारीका छोरा आर्चीको जन्मँदा ‘प्रिन्स’ उपाधि नदिएकोबारे प्रश्न सोधिन् । यसको जवाफमा उनले भनिन्, ‘यो खबरले मलाई गहिरो झट्का लाग्यो किनभने यो एउटा उपाधि मात्रै होइन, उसको सुरक्षा महत्वपूर्ण छ ।’

‘मेरो लागि सबैभन्दा ठूलो उपाधि ‘आमा’ हो तर हाम्रो छोरासँग कुनै पनि सुरक्षा छैन । साथै ऊ शाही परिवारको पहिलो गैर–श्वेत नाती हो । उसलाई त्यो स्थान दिइएन जुन त्यो परिवारका अन्य नाती–पनातीलाई दिने गरिन्छ ।’

मेगनले भनिन्, ‘मेरो सन्तानलाई ‘प्रिन्स वा प्रिन्सेस’ को उपाधि दिइने नियम त्यतिबेला परिवर्तन गरियो जब म गर्भवती थिएँ ।’

मेगनले भनिन्, ‘यो अधिकार उहाँहरुले खोस्न पाउनु हुँदैनथ्यो । जब म गर्भवती थिएँ तब उहाँहरुले यो नियम मेरो सन्तानका लागि परिवर्तन भइसकेको छ भन्नुभयो । मेरो प्रश्न छ, ‘किन ?’’

ओप्राले मेगनलाई ‘शाही परिवारले आर्चीलाई प्रिन्स किन बनाउन चाहँदैन ? के उसको रङका कारण यस्तो गरिँदैछ ?’ भनेर सोधिन् ।

यो प्रश्नको जवाफमा मेगनले भनिन्, ‘म यसको इमान्दारितापूवर्क जवाफ दिनेछु ।’

‘जब म गर्भवती थिएँ तब मेरो बच्चाले सुरक्षा पाउने नपाउने, उपाधि नपाउने र बच्चा जन्मँदा छालाको रङ कति कालो होला भन्ने विषयमा चिन्ता व्यक्त गर्दै कुराकानी हुने गर्दथ्यो । ’

ओप्राले आखिर कसले यो चिन्ता व्यक्त गरेका थिए भन्ने विषयमा बारम्बार सोध्दा पनि मेगनले यसको जवाफ दिइनन् ।

नाम थाहा पाउन सोधिएको प्रश्नमा मेगनले भनिन्, ‘मैले ती व्यक्तिको नाम बताउँदा उनको साख थप धुमिल गरिदिनेछ । मलाई यो कुरा ह्यारीले भनेका थिए किनभने उनीसँग यस्ता विषयमा कुराकानी हुने गर्दथ्यो ।’

ओप्रोले सोधिन्, ‘तपाईंले आफ्नो अनुभवको बारे कुरा गर्दा ‘अनसर्वाइवेबल’ शब्दको प्रयोग गर्नुभएको थियो, यसको अर्थ के थियो ?’

मेगन भन्छिन्, ‘म खासमा बाँच्न नै चाहँदैनथेँ । म यो कुरा ह्यारीलाई भन्न असहज महसुस गर्दथेँ  किनभने उसले जीवनमा धेरैकुरा गुमाएका छन् । यो डरलाग्दो विचार मेरो दिमागमा सधैं चलिरहन्थ्यो ।’

मेगन भन्छिन्, ‘यसका लागि मैले ‘संस्था’ सँग मद्दतको रुपमा अनुमति पनि मागेँ कतै गएर आवश्यक मद्दत लिन सक्छु भनेर । तर हाम्रो माग खारेज गरियो ।’

ओप्रोले सोधिन्, ‘के तपाईंलाई आत्महत्याको विचार आइरहेको थियो ?’ यसको जवाफमा मेगनले भन्छिन्, ‘हो, किनभने मैले यस्तो गर्दा सबका लागि भलाई हुन्छ जस्तो लागेको थियो ।’

‘फर्मले हाम्रो बारे झुटो फैलाइरहेको छ’

अन्तरवार्तामा राजदरबारको कस्तो प्रतिक्रिया होला, यो प्रश्नको जवाफमा मेगन भन्छिन्, ‘फर्मले हाम्रो बारे झुटो फैलाउन सक्रिय भूमिका निभाइरहेका बेला पनि हामीहरु चुप नै बस्नुपर्छ भनेर उहाँहरुले कसरी आशा गर्नुहुन्छ भनेर मलाई थाहा छैन ।’

‘एक समय आउँछ जब तपाईंले निश्चित गर्नुहुन्छ कि कसैले त वास्तविकताबारे जानकारी दिनुपर्छ । यद्यपि, धेरैकुरा गुमाउने जोखिम हुन्छ । हामीले पहिले नै धेरै कुरा गुमाइसकेका छौं ।’

मेगन दोस्रो पटक गर्भवती छिन् र उक्त अन्तरवार्तामा प्रिन्स ह्यारीले उनको घरमा छोरीको जन्म हुन लागेको जानकारी दिए ।

ह्यारीले राजदरबारको सिनियर रोयलको पद छोड्ने बेला आफ्ना हजुरआमा र महारानी एलिजाबेथ द्वीतीयलाई नजरअन्दाज गरेका हुन् ?

यसको जवाफमा ह्यारी भन्छन्, ‘मैले कहिले पनि आफ्नी हजुरआमालाई नजरअन्दाज गरेको छैन । उनका लागि मेरो मनमा असाध्यै सम्मान छ ।’

उनका अनुसार निर्णयबारे घोषणा गर्नुअघि उनले महारानीलाई तीनपटक फोन गरेका थिए ।

उनका अनुसार उनका पिता चार्ल्ससँग पनि दुईपटक फोनमा कुरा भएको थियो ‘त्यसपछि उनले मेरो फोन उठाउन नै बन्द गरिदिए ।’

‘मेरा पिताले मसँग यसकारण कुरा गर्न बन्द गर्नुभयो किनभने मैले यो पूरा मामिला आफ्नो हातमा लिएको थिएँ ।’

‘डर थियो कि इतिहास पुनः दोहोरिँदै छ’

‘हामी थोरै विश्राम लिएर आनन्दको सास फेर्न चाहन्थ्यौं । हामी एकपछि अर्को गर्दै विभिन्न कुरामा उल्झिएका थियौं ।’

ह्यारी भन्छन्, ‘मैले इतिहास दोहोरिन लागेको देख्दै थिएँ, यो मेरो सबैभन्दा ठूलो डर थियो । मैले जे देखेको थिएँ, त्यो यहि थियो ।’

उनी थप्छन्, ‘यसपटक मेरी आमामाथि जे भएको थियो, त्योभन्दा पनि खतरनाक हुँदै थियो किनभने यसपटक घटना जातीय पहिचानसँग पनि जोडिएको थियो र सोसल मिडियाको प्रभाव पनि निकै ठूलो भइसकेको थियो ।’

‘ह्यारी थप्छन्, ‘मैले थुप्रै पटक यसरी लगातार कसैको पनि आलोचना हुनु हुँदैन, यसलाई रोक्नुपर्छ भनेँ तर मैले ‘यस्तो हुन्छ’ भन्ने जवाफ पाएँ ।’

मेगन र ह्यारीका अनुसार लगातारको आलोचना, प्रतिबन्ध नै प्रतिबन्धका कारण उनीहरु सिनियर रोयल पदबाट हट्न चाहन्थे तर उनीहरु शाही परिवारका हिस्सा हुन् र यस नाताले उनीहरु शाही बनिरहन चाहन्थे तर उनीहरुको सुरक्षा खोसियो र सिनियर रोयलमा नबस्ने निर्णयका कारण यस्तो गरिएको तर्क दिइयो ।

‘म दुःखी छु कि मेरो परिवारमा जातीय भेदभावको विरोध गरिएन’

ओप्राले ह्यारीलाई ‘मेगनको आत्महत्याको विचारसँग कसरी डिल गर्नुभयो ?’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले केही बुझ्न सकिरहेको थिइनँ कि के गरुँ ? म यसका लागि तयार थिइनँ । म आफैं एक अँध्यारो स्थानमा पुगेको थिएँ ।’

ह्यारीले यसबारे शाही परिवारमा कसैसँग पनि कुरा नगरेको बताए किनभने ‘यो यस्तो कुरा होइन, जसबारे परिवारसँग कुरा गर्न सकिन्थ्यो ।’

‘उहाँहरुसँग यसबारे कुरा गर्नका लागि सायद मलाई लज्जा महसुस भयो । मसँग कोही पनि थिएनन् जोसँग मैले मद्दत माग्न सक्थेँ । परिवारमा सदस्यको मानसिकता त्यस्तै थियो । भन्थे, ‘यस्तै हुन्छ.... यसलाई परिवर्तन गर्न सकिँदैन... हामी सबैसँग यस्तो भएको छ ।’’

‘मेरा लागि सबैभन्दा महत्वपूर्ण मेगनको जातीय पहिचान थियो र यो जातीय पहिचान उनको मात्रै थिएन । उनले त्यो पहिचानको प्रतिनिधित्व पनि गर्छिन् ।’

‘यो एउटा मौका थियो कि उहाँहरु (शाही परिवार) ले सार्वजनिक समर्थन देखाउन सक्थे तर सबैभन्दा दुःखी बनाउने कुरा यो हो कि शाही परिवारका कसैले पनि तीन वर्षमा यसबारे केही पनि गरेनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप