बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसला रिट निवेदकको मागदावी बाहिर: नारायणकाजी श्रेष्ठ

आइतबार, २३ फागुन २०७७, २२ : २४
आइतबार, २३ फागुन २०७७

काठमाडौं । साविक नेकपा प्रचण्ड माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले नेकपा नामको विवादमा सर्वोच्चले दिएको फैसला सोच्नै नसकिने र यसले कमन सेन्स भएका सवैलाई आश्चर्यचकित र स्तव्ध बनाएको बताएका छन् । साथै उनले सर्वोच्चको फैसला, त्यसको समग्र पक्ष र पार्टी नीतिका बारेमा सोमबार बस्ने पार्टीको स्थायी समिति बैठकले ठोस निर्णय गर्ने समेत जनाएका छन् ।  

नेता श्रेष्ठले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्,  ‘सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिइनेछ ।’

साथै उनले ‘अहिलेलाई यति भनि हालौँ’ भन्दै थप लेखेका छन्, ‘एक ,यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध ( कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ । यो फैसलाले रिट निवेदकको मागदावी  भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरु बीचको एकीकरण र एकीकृत पार्टी निर्माणको बारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन । रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने माग दावी गरेको छ ।’ 

त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक बेठीक जे भएपनि स्वाभाविक हुने थियो भन्दै उनले  ‘तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ, संविधान एवं कानूनको बिरुद्धमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति’ रहेको जनाएका छन् । 

नेपालको राष्ट्रिय सार्वभौमिकता ,नेपाली जनतामा निहित सार्वभौमसत्ता , नेपाली जनताको आत्मनिर्णयको अधिकार ,संविधान ,लोकतन्त्र ,राजनीतिक स्थिरता ,कानूनको शासन र ब्यबस्थाको बिरुद्ध बिभिन्न शक्तिहरूको षडयन्त्र जारी छ भन्नेतर्फ पनि गम्भीर ध्यान जानु आवश्यक देखिएको श्रेष्ठको भनाइ छ ।

‘त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा वक्तव्यमा थप भनेको  थियो–अहिले असंवैधानिक एवम् प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुद्ध सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ’, श्रेष्ठले स्मरण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप