बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसलाप्रति कानुन व्यवसायीहरुको यस्तो प्रतिक्रिया

आइतबार, २३ फागुन २०७७, १९ : २७
आइतबार, २३ फागुन २०७७

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयनमा जोड दिएका छन् ।  आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ । यसले राजनीतिक वृत्तमा तरंग नै ल्याएको छ ।

सर्वोच्च अदालतको यस फैसलालाई कानुन व्यवसायीहरुले स्वभाविक मान्दै यसको कार्यान्वयनमा जोड दिएका छन् । अधिवक्ता राजाराम घिमिरेले ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा(माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइदिएको बताए । सर्वोच्च अदालतको फैसलालाई कसैले अवज्ञा गर्न नमिल्ने उनको भनाई छ ।

अधिवक्ता राधिका खतिवडाले सर्वोच्च अदालतको फैसला मान्दिनँ भन्न नमिल्ने बताइन् । सर्वोच्चको फैसलाले ओली र प्रचण्ड नेतृत्वको नेकपाको वैधानिकता समाप्त भएको उनको भनाई छ । फैसलाले पुरानै वैधानिक हैसियतअनुसार काम गर्न दलहरूलाई ब्युझाइदिएको उनले बताइन् ।

अधिवक्ता वीरभद्र जोशीले पूर्ववत् अवस्थामा फर्किएकाले दुई दल एक हुन चाहे नयाँ नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सक्ने बताए । अब नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) संवैधानिक हैसियतमा आएको उनको धारणा छ ।
अधिवक्ता नवराज पाण्डेले ऋषि कट्टेलले न्याय पाएको बताए । एकिकरण गर्न चाहे पुनः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को हैसियतमा निर्वाचन आयोगमा गएर नयाँ नाममा दर्ता गर्न खुल्ला गरिएको उनको भनाई छ ।

सर्वोच्च बारका केन्द्रीय कार्यसमिति सदस्य विकास भट्टराई सर्वोच्चको फैसलाले राजनीतिक रुपमा अन्योलता सिर्जना गरेको बताउँछन् । सरकारको वैधानिकता र मन्त्रीहरुको वैधानिकता माथि प्रश्न उठेको पनि उनको भनाई छ ।
सर्वोच्च अदालतको यस फैसलालाई केपी शर्मा ओली पक्षले स्वागत गरेका छन् भने पुष्पकमल दाहाल प्रचण्ड पक्षीय नेताहरुले अनपेक्षित भनेर प्रारम्भिक टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप