बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–नेपाल पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?

आइतबार, २३ फागुन २०७७, ११ : ०२
आइतबार, २३ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव नेपाल पक्ष त्यसबारे अझै अनिर्णित बनेको छ । शुक्रबार आफू पक्षीय संसदीय दलको बैठक बसेर सो पक्षले आज बस्ने प्रतिनिधि सभा बैठक अघिनै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षसहित राजीनामा नगरे अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो । 

प्रतिनिधि सभा बैठक अपरान्ह चार बजे बस्दैछ । बैठक सुरु हुन केही घण्टामात्रै बाँकी रहेपनि प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्न सकेको छैन । 
सो पक्षले नेपाली काँग्रेस र जनता समाजवादीमध्ये एक दलसँग मिलेर मात्रै अविश्वास प्रस्ताव अघि बढाउने यसअघि तयारी गरेको थियो । तर, ती दलले नेकपा विवाद छिनोफानो नहुँदासम्म अविश्वास प्रस्तावमा सहभागी नहुने संकेत गरेपछि प्रचण्ड–माधव पक्षले पनि निर्णय गर्न नसकेको हो । 

‘के गर्ने भन्ने अझै निश्चित भैसकेको छैन । कसरी अघि बढ्ने भनेर नेताहरुबीच छलफल भइरहेको छ । बैठक बस्नु अघिसम्म सायद निष्कर्ष आउला’, प्रचण्ड–माधव पक्षका सांसद कृष्णभक्त पोखरेलले भने, ‘प्रधानमन्त्री र उहाँको दलको प्रस्तुति हेरेर पनि निर्णय गर्न सकिन्छ ।’ 

आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय  प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो । त्यसलगत्तै नेताहरुले सभामुख अग्नि सापकोटालाई पनि भेटेका छन् । 

यता ओली पक्ष पनि प्रचण्ड–माधव पक्षको रणनीति बुझेर अघि बढ्ने योजनामा छ । प्रधानमन्त्री ओली विश्वासको मत नलिने बरु अविश्वासको प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने पक्षमा रहेका छन् । त्यसका लागि शनिबार बसेको ओली पक्षीय संसदीय दलको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो रणनीति र संसदमा प्रस्तुत हुने विषयमा ब्रिफिङ गरेका थिए । 

खासगरी नेकपा विवादपछि सो पार्टीमा संसदीय दलको नेता र प्रमुख सचेतक दुई–दुई जना छन् । प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको छ भने ओली पक्षले प्रचण्ड–माधव पक्षमा लागेको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई तोकेको छ ।

यस्तो अवस्थामा आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले दलको नेता कसलाई मान्यता दिने हुन् भन्ने विषय जटिल बनेको छ । यदि दलको नेताको हैसियतमा सभामुख सापकोटाले प्रचण्डलाई बोल्न दिएमा ओली पक्ष नै संसद बैठक अवरुद्ध गर्ने तयारीमा छ । 

दलको प्रमुख सचेतक भट्टराईलाई बनाएको घोषणा गरेको ओली पक्षले उनलाई सभामुख सापकोटाले भेट दिन अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाएको छ । 
प्रतिनिधि सभा बैठक बस्नुअघि कसरी सभा सञ्चालन गर्ने भन्ने दलीय सहमतिका लागि सभामुखले प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने चलन छ । 
‘कार्यव्यवस्था परामर्श समितिको बैठक अनिवार्य हुदैन । सभामुखले आवश्यक ठान्नुभयो भने डाक्न पनि सक्नुहुन्छ । नत्र नडाक्दा पनि अनिवार्य छैन’, सभामुख सापकोटा निकट स्रोतले भन्यो, ‘आज पनि परामर्श समितिको बैठक बस्ने नबस्ने टुङ्गो लागि सकेको छैन ।’

संसद् सचिवालयले शनिबारै प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । यद्यपि दलहरु बीचको परामर्शमा उक्त कार्यसूची परिवर्तन हुनसक्ने संसद सचिवालय स्रोतको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप