शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय दलको बैठकमा ओलीले दिए सांसदहरुलाई यस्तो निर्देशन

शनिबार, २२ फागुन २०७७, १८ : १२
शनिबार, २२ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको र यो संख्या बढेर जाने दावी गर्दै सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफुहरुकै जित हुने बताएको उनको भनाइ छ । उनले भने, ‘संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बस्यो । आज हामी असाध्यै उत्साहप्रद रुपमा बैठक सम्पन्न गरेका छौँ । र बैठकमा संख्यात्मक हिसाबले १ सय १५ भन्दा बढीको उपस्थिति भएको छ । २४ जना राष्ट्रिय सभाका सदस्यहरु उपस्थित हुनुहुन्छ र केही राष्ट्रिय सभा सदस्यहरुले हामी भोली उपस्थित हुन्छौँ भनेर उहाँहरु बाहिर भएका कारणले केही उपस्थित हुन सक्नुभएको छैन । ९१ जना प्रतिनिधि सभाका सदस्यहरु उपस्थित हुनु भो । १ सय १५ जनाको उपस्थिती आज रहेको छ । केही आउँदै पनि हुनुहुन्छ । अहिले पनि बाटोमै हुनुहुन्छ । हामी असाध्यै उत्साहजनक हिसाबले यो बैठक सम्पन्न ग¥यौँ । प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा चाहिँ आज हामी यहाँ १ सय १५ जना उपस्थिति भयौँ भोली यो संख्या बढ्छ । १ सय २०, १ सय ३० हुँदै यो संख्या बढेर जान्छ । यो देशको पक्षमा, जनताको पक्षमा हामी लागिराखेका छौँ । सरकार त्यस हिसाबले चलिराछ । हाम्रो संसदीय दल त्यस हिसाबले क्रियाशिल छ । त्यसो भएको हुनाले उत्साहजनक हिसाबले अगाडी बढौँ । हामी देश र जनताको पक्षमा छौँ । जित हाम्रो हुन्छ । ढुक्क भएर अगाडी बढौँ भनेर उहाँले सम्बोधन गर्नुभयो ।’

प्रमुख सचेतक भट्टराईले संसदमा अविश्वासको प्रस्ताव पास नहुने भएकाले अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने दाबी पनि गरे । 

शुक्रबार नेकपा प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । शनिबारको ओली पक्षीय संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । प्रतिनिधि सभाको बैठक २३ गते अपरान्ह ४ बजे बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप