मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नागरिकता नपाउँदाको पीडा : छचल्किए आँशु, पाइलैपिच्छे समस्याका चाङ

शनिबार, २२ फागुन २०७७, १८ : ०४
शनिबार, २२ फागुन २०७७

जोनका बुबाआमा को हुन् उनलाई थाहा छैन । उनी नेपालभित्रै जन्मिए र काठमाडौंको स्वयम्भूमा रहेको नयाँ ज्योति नामक अनाथालयमा हुर्किए । जव उनले क्याम्पस पढ्ने बेला भयो, तब उनलाई नागरिकताको प्रमाणपत्रको आवश्यकता पर्न थाल्यो । यसका लागि उनले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय धाउने काम गरे पाउन सकेनन् । उनी हुर्किएको संस्थाको नामबाट पनि नागरिकता दिने कुरा पनि भएको थियो तर उनलाई अनाथालयमा राख्ने बेला संस्था पनि दर्ता नभएको र उनको बारेमा प्रहरी रिपोर्ट नबनाएका कारण समस्या भयो । 

२१ वर्षका उनी हाल काठमाडौं विश्वविद्यालय अन्तर्गत बीबीए चौथो सेमेस्टरमा अध्ययन गरिरहेका छन् । ६ महिनापछि उनको पढाइ सकिन्छ । त्यसपछि जागिर खानका लागि पनि नागरिकता नै चाहिन्छ । कसरी नागरिकता प्राप्त गर्ने भन्ने कुरामा उनी अन्योलमा परेका छन् । 

शनिवार काठमाडौंमा महिला कानुन र विकास मञ्चले गरेको आगामी संसद् अधिवेशनको सन्दर्भमा नेपालमा नागरिकता ऐन (संसोधन) विधेयक सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम गरेको थियो । सो अवसरमा बोल्दै जोनले संविधानको धारा १० ले कुनैपनि नेपाली नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको तर किन नागरिकता पाउन सकिएको छैन भन्दै उनले प्रश्न गरे । 

२५ वर्षकी कला राई ( नाम परिवर्तित) मनोरञ्जन थिएटरमा काम गर्छिन् । उनलाई आफ्नो बाबु को हुन थाहा छैन, आमाको मृत्यु भइसकेको छ । नागरिकता नपाउँदा भोगेको समस्या सुनाउँदा उनका आँखाबाट झन्डै आँशु खसेन् । एउटा सिम कार्ड किन्नदेखि हरेक प्रशासनिक कामका लागि नागरिकता खोजिन्छ, त्यस्तो बेला आफू अनागरिक हुनुको पीडा शब्दमा व्यक्त गर्न नसक्ने उनले बताइन् । 

उनले भनिन्, ‘दुःख गरेर अलि अलि कमाएको पैसा बैंकमा लगेर राखौँ भनेपनि नागरिकताबिना खाता खुल्दैन । स्थानीय तहमा बल्ल बल्ल जन्म दर्ताको प्रमाणपत्र त बनाएँ तर नागरिकता लिन खोज्दा बाबुको नाम सोध्छन् । के म यो देशको नागरिकता पाउन लायक छैन र ? आमाको नामबाट नागरिकता नपाउँदा धेरै राज्यविहीन भइरहेका छन् ।’

बौद्ध रामहिँटीकी बिमला तामाङले भने नागरिकता लिन फरक खालको समस्या भोगिन् । सुकुम्बासीको जग्गा जमिन नहुँदा स्थायी ठेगाना नहुने कारण नागरिकताका लागि स्थायी ठेगाना माग्दा समस्या परेको उनको अनुभव छ । उनले भनिन्, ‘नागरिकता बनाउनका लागि स्थायी ठेगाना लिएर आउनुस् भन्ने गरेका छन् । सुकुम्बासीको स्थायी ठेगाना नै कहाँ हुन्छ र ? मेरो परिवारको कुरा गर्ने हो तीन पुस्तादेखि फरक फरक ठाँउमा बसोबास हुँदै आएको छ । स्थायी ठेगाना छुट्याउन लालपुर्जा माग्छन्, सुकुम्बासीले कहाँबाट ल्याउने ?’

उनले नागरिकता सम्बन्धी ऐनमा स्पष्ट व्यवस्था नभएका कारण समस्या परेको उल्लेख गरिन् । 

३७ वर्षअघि तुलसा अमात्यले हल्याण्डका नागरिकसँग बिहे गरेकी थिइन् । बिहेपछि पनि उनी सधै नेपाल नै बसिन् । उनले नागरिकता लिन जीवनमा धेरै संघर्ष गर्नुपरेको सुनाइन् । जिल्ला प्रशासन कार्यालयले बिदेशी पति भएकोले हल्याण्डमा नागरिकता नलिएको प्रमाण माग्ने र नेपाली नागरिकता दिन नमानेको उनले बताइन् ।

 बिहेपछि उनका श्रीमान भिसा रकम तिरेर नेपालमै बसेका छन् । उनले आफूले त दुःख पाइन नै नेपालमा जन्मिएका र नेपालमै बस्न चाहने आफ्ना छोराछोरीलाई समेत नागरिकता दिलाउन नसकेको सुनाउँदा उनका आँखाबाट आँशु झरे । 

उनले केही व्यक्तिले नागरिकता नपाउँदाको पीडाकै कारण आत्महत्या समेत गरेको उल्लेख गरिन् । नागरिकता ऐनमा नागरिकता प्राप्तिका लागि आइपर्ने विभिन्न जटिलताहरुको ख्याल गरी त्यससम्बन्धी कानुनी व्यवस्था नगर्दा माथि प्रस्तुत गरिएका प्रतिनिधिमूलक समस्या धेरैले भोग्नु परेका छ । 

विधेयक साढे २ बर्षदेखि संसदीय समितिमा 
प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले गएको असारमा समितिबाट विधेयक पास गरेर प्रतिवेदन तयार गरेको छ । तर असारमा छिट्टै बर्षे अधिवेशन सकिएको कारण नागरिकता ऐन संसोधन गर्न बनेको विधेयक अघि बढ्न सकेन । हिउँदे अधिवेशन शुरु हुने बेला गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गत फागुन ११ सर्वोच्चले पुनर्वहाली नगरेसम्म शून्यताको अवस्थामा रह्यो । अब संसद बैठक सुचारु भएसँगै नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाउन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

 २०७५ साउनमा संघीय संसदमा नागरिकता सम्बन्धी विधेयक दर्ता भएको थियो तर बैबाहिक अंगीकृत नागरिकता कसरी, कति समयपछि दिने भन्ने बारेमा लामो विवाद चलेको थियो । अन्ततः बैबाहिक अंगीकृतलाई ७ बर्ष नेपालमा बसोबासका आधार अंगीकृत नागरिकता दिनेबारे बहुमत सदस्यले अनुमोदन गरेका थिए । 

राज्यव्यवस्था तथा सुशासन समितिबाट पास भएको विधेयकमा २०६५ मंसिर ९ गतेभित्र निवेदन दिई नेपालको संविधान प्रारम्भ हुनुभन्दा पहिले जन्मका आधारमा नागरिकता पाएका नागरिकको सन्तानले बाबु र आमा दुवै नेपाली नागरिक भएमा १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिले वंशजका आधारमा नागरिकता पाउने र आमा नेपाली तथा बाबु विदेशी नागरिक भएको व्यक्तिले पनि अंगीकृत नागरिकता प्राप्त गर्ने लगायतका विषयमा सहमति जुटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप