शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिग्रिएको कम्युनिष्ट भन्दै प्रचण्डले दिए ओलीलाई ‘कुहिएको अण्डा’को संज्ञा

माधव नेपालले ओलीलाई भने–धेरै फूर्ति नदेखाउनुहोस्
शनिबार, २२ फागुन २०७७, १६ : ०१
शनिबार, २२ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा”को संज्ञा दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरू बिग्रिए पछि कामै नलाग्ने गरि कुहिएर जाने बताए । कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । 

 माओले बिग्रिएका कम्युनिष्टलाई ‘कुहिएको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा” भएको जिकिर गरे । 
उनले भने, “एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुदैन । कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले  र कुहियो भने त्यो भन्दा नराम्रो कोहीपनि हुदैन । केपी ओली त्यही कुहिएको अण्डा हो । कुहिएको गन्हाएको अण्डालाई खादैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ । तपार्इं हामी चाही स्वस्थ्यवद्र्धक जीवनशिल तत्व हो ।”
प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए । 
उनले भने, “मैले प्रतिक्रान्तिको षडयन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै विजयी भएको अवस्था हो । ”
उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे । उनले नेत्र बिक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुदै उनलाई स्वागत  गर्न प्रतिक्षारत रहेको बताए । 

“विप्लव जी पनि(उहाँ) अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आई पुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्तत उहाँ यही ठाउँमा,यही लाइनमा ,यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ म बाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिएँ । एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । ”
अर्का अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरे । 

उनले भने “केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् । नभए इतिहासमा तपाई सधैंभरी कलंकित मात्रै हुनुहुनेछ । धेरै फूर्ति नदेखाउनुहोस् । तपाईंका फूर्ति देखाउने दिन गए । ”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे । 

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको बताए । 
उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरु प्रति कर्के नजर नलगाउन चेतावनी दिए । 

नेत्रविक्रम चन्द विप्लव राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफुहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप