शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१८ पटक लड्दा पनि मैले रामचन्द्रजी प्रधानमन्त्री हुनुहुँदैन भनेको थिइनँ : देउवा

शनिबार, २२ फागुन २०७७, १४ : ३६
शनिबार, २२ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफू लालायित नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विपी कोइराला सामुदायिक अस्पतालको १३ औं साधारणसभामा उनले भने, ‘केही राजनीतिक कुरा उठिहाल्यो मैले नबोलि पनि भएन । बोल्नै पर्यो । हामी सरकारमा जान लालायित छैनौं, मेरो कुरा सुन्नुहोस् । एउटा कुरा के छ भन्नु हुन्छ भने विपक्षी दलको नेता भनेको ‘प्राइमिनिस्टर इन वेइटिङ’ हो नि । सरकार असफल हुँदा उसैको टाउकोमा आउँछ । पहिलो कुरा मैले हुँदैन भनेको छु ।’

तर देउवा प्रधानमन्त्री हुन्छ कि भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई चिन्ता हुन थालेको उनको भनाइ छ ।  ‘ मैले प्रधानमन्त्री हुदिनँ भन्दा पनि प्रधानमन्त्री हुन्छ कि भनेर रामचन्द्रजीलाई चिन्ता लागि सक्यो । उहाँ प्रधानमन्त्री हुन १८ पटक चुनाव लडेका हुन् । १८ पटक लडेको छ, लडेको छ । सफल हुनु भएन । मैले रामचन्द्र हुनुहुँदैन भनेको थिइनँ । उहाँ हारेको छ, हारेको छ ।’

देउवाअघि बोलेका पौडेलले काँग्रेस सरकारमा जान नहुने भन्दै प्रतिपक्षीको हैसियत बिर्सन नहुने बताएका थिए ।  यसबारे देउवाले भने, ‘अहिले हाम्रो हैसियतै छैन भन्नुहुन्छ । विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्री हो । तै पनि मैले प्रधानमन्त्री खान्छु भनेकै छैन । म प्रधानमन्त्री हुन्छु कि भनेर चिन्ता नगर्नुहोस् । हाम्रो म्यान्डेट नै थिएन । हारेको पार्टी थियो भन्ने होइन विपक्षीसँग सरकार बनाउने म्यान्डेट हुन्छ ।’
फरक प्रशंगमा सभापति देउवाले अब पार्टीको महाधिवेशन एक दिन पनि नसर्ने बताए । ‘पार्टी एक बनाएर लानुछ । छिटो नेपाली काँग्रेसको अधिवेशन गरौं । पार्टीको महाधिवेशन एक दिन पनि सर्दैन । भनेकै दिनमा गरिन्छ ,’ देउवाले भने ।
तर पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ । ‘जितेपछि मात्तिने र हारेपछि आत्तिन हुँदैन । हार स्वीकार गर्नुपर्छ,’ उनले भने ।
यस्तै उनले पार्टीको अधिवेशनपछि नेविसंघको पनि अधिवेशन गरिने बताए । देउवाले भने, ‘पार्टीको अधिवेशन भएको भोलिपल्ट नेविसंघको कार्यसमितिलाई हटाइदिऊ । पार्टीको अधिवेशन गरेपछि त्यसको अधिवेशन गर्नु राम्रो हुन्छ ।’ पार्टीका भ्रातृ संगठनमा नेताहरुको हस्तक्षेप पढेको देउवाले बताए ।

‘सबै नेताले नेविसंघमा हाल हालेका छ, महिला संघमा हात हालेका छन् । उनीहरुले निर्णय गर्नै पाउँदैनन् । अनि कसरी हुन्छ ?,’ देउवाको प्रश्न छ । काँग्रेस नेता पौडेल, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार गठन, पार्टी महाधिवेशन र भ्रातृ संस्थाबारे प्रश्न उठाएपछि देउवाले उक्त कुरा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप