शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: विज्ञप्ति

शनिबार, २२ फागुन २०७७, १० : ३४
शनिबार, २२ फागुन २०७७

 

 

-भुवन रोका “मित्रजी”

मागेको कलमबाट
मागेकै कापीको पानामा
एउटा नागरिकको विज्ञप्ति निस्किन्छ
“म सार्वभौम देशको नागरिक हुँ।”

छिमेकीले पोत्देको कालोपत्रे सडकमा
छिमेकीले नै फालेको कालो गाडी चढेर
अनुदानमा बनेको 
त्यो खोलामाथिको पुलमा बसेर
अनुदानबाट नै बन्न लागेको 
नहरको उद्घाटन गरेर 
नेताको विज्ञप्ति निस्किन्छ
“म विदेशीको इसारामा चल्दिन।”

बारुदको थुप्रोबाट
बन्दुकको नाल तेर्स्याएर
राँके जुलुसको झिल्काले 
सिङ्गो बस्तीका मनहरू जलाएर
चल्दै गरेको 
कारखानामा ताला लगाएर 
बल्दै गरेको 
गाउँलेको चुल्हो निभाएर 
फल्दै गरेको 
खेतबारीको खुसी फाँडेर 
जल्दै गरेको 
सपनाको खरानी बाँडेर 
एउटा विद्रोहको विज्ञप्ति निस्किन्छ
“म शान्ति खोजिरहेको छु।”

हतार हतार आफ्ना छोराछोरीलाई
महङ्गो निजी विद्यालय पुर्याएर 
पक्ष र विपक्षको जुलुसमा
सहरको एकदुई फन्को मारेर 
सरकारी शिक्षकको विज्ञप्ति निस्किन्छ
“म शिक्षाको रुपान्तरणको अभियानमा छु।”

किनारमा बसेर 
बगिरहेको कोसी हेर्दै 
कर्णालीको चौडाइ
अनि 
त्रिशुलीको गहिराइ नाप्दै 
जलश्रोत बिभागको विज्ञप्ति निस्किन्छ
“खानेपानीको अभाव” 
साथै 
“लोडसेडिङको तालिका”

अब 
अचम्म लाग्दैन 
यदि यस्ता विज्ञप्ति निस्के भने
“हवाईअड्डाबाट जहाज उड्दैनन्”
“सडकमा गाडी गुड्ँदैनन्”
“बग्ने छैन धाराबाट पानी”
“नफर्किन सक्छिन् पधेराबाट सानी”
“वकिलले सकेन संबिधानको बहस गर्न”
“डाक्टरको जानुहोस् बिरामी पर्न”

हिजो पनि निस्कियो 
आज पनि निस्कियो 
निस्किरहनेछ निरन्तर सिंहदरबारबाट 
सरकार हराएको विज्ञप्ति


खोटाङ, नेपाल 
हाल: टोकियो, जापान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप