शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा ऋषितुल्य विभूति अर्थात् ‘मानसाग्नि’

शनिबार, २२ फागुन २०७७, ०९ : ४४
शनिबार, २२ फागुन २०७७

ज्ञानविज्ञान, धर्मसंस्कृति र मानवसेवामा समर्पित अर्का एक जना व्यक्ति नेपाल राष्ट्रले पनि पाएको छ । व्यक्तिगत स्वार्थभन्दा धेरै नै माथि उठेको, राजनीतिक खिचातानीबाट अत्यन्तै टाढा बसेको र धनमोहको सोचभन्दा अलग्गै भएको मान्छे पनि यही नेपालमा रहेका छन् । जनउपकारमा निर्लिप्त भएका मान्छेको खडेरी परेका बेला हाम्रा नेपालमा डा. हरिप्रसाद पोखरेल अर्थात् पनि मानव जनघनत्वभित्रै छन् भन्दा छाती गर्वले फुल्ने गर्छ । त्यस्ता परोपकारी व्यक्तित्व हाम्रा अघि देखा पर्दा हामीलाई अझै हामी छौँ, अझै हाम्रो नैतिक रीतिरिवाज छ र अझै हामी सकिएका छैनौँ भन्ने लाग्छ । अनि त्यस्ता व्यक्तिले झनै आफ्नो नाउँ अलप गरेर ‘मानसाग्नि’बाट आफूलाई चिनाएको अर्थले के बुझाउँछ भने डा. हरिप्रसाद पोखरेल ‘वसुधैव कुटुम्बकम’का समेत अर्का एक जना प्रतिनिधि पात्र पनि हुन् । कहीँकतै आफ्नै नाउँ लेख्नु या भन्नु नै पर्‍यो भने पनि उनी केवल ‘हरिप्रसाद’ मात्र लेख्छन् र त्यही मात्र भन्छन् । सकेसम्म उनले आफ्नो थर प्रकट गरेको मैले चाहिँ सुनेको छैन र देखेको पनि छैन । 

मान्छेको बोली पनि कतिसम्म नरम हुँदो रहेछ भन्ने जान्नका लागि ‘मानसाग्नि’को नजिक पुग्नै पर्ने हुन्छ । मान्छेको पोसाक लगाउने तरिका हेर्न पनि तिनै ‘मानसाग्नि’लाई भेट्नैपर्ने हुन्छ । अनि मान्छेले कति खाँदा ऊ बाँच्छ भन्ने जान्न पनि ‘मानसाग्नि’सँगै बसेर खाना खानुपर्ने हुन्छ । एउटै मान्छेभित्र गुणैगुणको झुप्पो पनि हुँदो रहेछ भन्ने जान्नका लागि हाम्रा लागि ‘मानसाग्नि’ नै सग्लो साक्षी देखिन्छन् ।
खुट्टाले टेकेर नै सबैतिर पुग्ने एउटा मान्छेको नाउँ के हो भन्दा हामी शताब्दीपुरुष डा. सत्यमोहन जोशीको नाउँ उल्लेख गर्थ्यौं । जोशीभन्दा झन्डै आधा शताब्दी कान्छाका रूपमा त्यही पैदलयात्री शैलीमा समेत जोडिएका अर्का औतारीलाई म योगपुरुष डा. हरिप्रसाद पोखरेल भन्थेँ । सवारी साधन नचढी नहुने ठाउँमा मात्र यी दुई भाइ पैदल हिँड्दैनन् । यदि होइन भने र एक दुई घण्टामा गन्तव्य पुगिन्छ भने उनीहरू पैदलै हिँड्नमा जोड दिन्छन् । हिँडेरै सत्यमोहन दाइले सय वर्ष कटाए र हिँडेरै डा. पोखरेलले आफूलाई उमेर छिप्पिँदा पनि झनै कलिलो कायामा रूपान्तरण गरिरहे ।

नेपाली परिवेशमा डा. हरिप्रसाद भन्ने नाउँ नै काफी रह्यो । यस नाउँका लागि न व्याख्या चाहिन्छ न त परिभाषै चाहिन्छ । एउटा पहाडी गाउँबाट सहर पसेको ठिटो नेपाली परिवेशमा प्रिय, भरपर्दो र जनउत्थापक पात्र पनि बन्न सक्तो रहेछ भन्ने प्रमाण ‘हरिप्रसाद’ पनि देखिए । उनी जनहृदयमा सेवा गरेर पसे ।  त्यति मात्र नभएर उनी साहित्य लेखेर पनि जनजनका मनमा बसे । महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीका अनुसार नेपालको धर्म संस्कृति, समाजसेवा र साहित्यमा ‘मानसाग्नि’को आसन बलियो छ ।’ हरिप्रसादलाई जतिले चिने, जाने उनको योगदानको बयान नगर्ने चाहिँ बिरलै होलान् । वास्तवमा उनलाई जतिले बुझेका छन् त्यतिले नै मानेका छन् । किनभने उनी कर्मवीर, धर्मवीर र जनवीरका अर्का साक्षात नमुना पनि हुन् ।

आफ्नो मौलिक चिन्तनका प्रिय हरिप्रसाद निबन्ध, प्रबन्ध र कवितामा पनि उत्तिकै उर्वर देखिन्छन् । लेखनका माध्यमबाट पनि उनले न कसैलाई फुर्क्याउनु परेको छ र न कसैलाई खसाल्नुपरेको छ । वास्तवमा उनले आफ्नो जीवनशैली नै पनि प्रकृतिलाई नै चढाइसकेका छन् । यति हुँदाहुँदै पनि उनी साधु, सन्त र ऋषिका आसनमा चाहिँ बसेका छैनन्; तर उनी साधु, सन्त र ऋषिकै प्रतिनिधि पात्रका रूपमा स्थापित भने भएका छन् ।

मानव जीवन भोग्नहरूका लागि प्रेम, स्नेह र सहयोगको अजस्र धारालाई खन्याउन सक्ने एउटा विशिष्ट गुण भएका व्यक्ति नै हरिप्रसाद पोख्रेल हुन् । उनको मनमा सधैँ गण्डकी, कोसी, कणर्णालीको अविरल प्रेम बगिरहेको हुन्छ । उनको प्रेम एक जनामा मात्र सीमित छैन, उनी सबैका प्रेमी हुन् । समाजसेवामा डुब्दाडुब्दै उनले आफ्नो जीवनलाई समेत युगल बनाउन सकेनन् । विवाह बन्धन उनका लागि सपनामा पनि रहेन । ती सबै प्रपञ्चको ऊर्जा छोडेर उनी जनहितमा नै समर्पित भइरहे ।

मान्छे सादा जीवन उच्च विचारका पनि हुन्छन् भने मानसाग्निलाई पनि म त्यही कोटीमा राख्न चाहन्छु । कसैलाई कुनै अप्ठ्यारो पर्‍यो, कसैका घरमा समस्या पर्‍यो र कोहीलाई केही चाहियो भने उनी त्यहाँ विनासर्त पुग्न सक्छन् । उनका लागि धन, सम्पत्ति, जग्गाजमिन, घर, परिवारभन्दा जनहित ठूलो हुने गरेको मैले देखेको छु । उनका लागि सेवा आत्मसन्तुष्टिको खुराक रहेछ भन्ने पनि मैले जानेको छु ।

मानसाग्निले विवाह गरेनन् तर उनी हरेक बिहेको निम्तोमा पुग्ने गर्छन् । चाहे बिहेको अघिल्लो दिन पुगेर सहयोग गर्नु परोस् र चाहे बिहेपछि गएर शुभकामना दिन परोस् । उनी कसैको पनि जीवनको भलाइ, उत्थान र प्रेरणा दिन नै अग्रसर भइरहेका हुन्छन् । उनी मानव जीवनमा सधैँ खुसी, सुखी र शान्ति छाउनुपर्छ भन्ने पाठ पढाउन सक्रिय देखिन्छन् । उनी मेरो जीवनमा नै पनि अर्को एउटा शक्तिका रूपमा उभिएका छन् ।

युवा अवस्थामा म आफूलाई वीर देखाउन अरूका लुगा पनि लगाएर हिँड्थेँ । त्यतिखेरको मेरो अवस्थासँग मैले मानसाग्निलाई जोडेँ भने अहिले पनि म लाजले पानीपानी हुन्छु । बाल्यकाल वा किशोरकालमा नै मेरो ज्ञान सङ्कलनमा अभिजात्य पहिरन, खानपान, रहनसहन र वाणी नै उच्चताको प्रतीकका रूपमा प्रवेश भयो । जसले गर्दा उनको जस्तो खान्की, पहिरन, रहनसहन र बोलीचालीको भाषा नै अहिले आएर पनि मेरा लागि निकै टाढाको महाविद्यालय झैँ नै भएको छ । तर म अहिले यस्तो अवस्थामा आइपुगेको छु– अब मैले मानसाग्निको जस्तो लोभलाग्दो सहज रहनसहन र भेषभूषाको अवलम्बन गर्न भने सक्तिनँ । अनि म उनका समस्त सद्गुण सम्पन्न व्यक्तित्वलाई श्रद्धा, आदर, सम्मान र अभिनन्दन चाहिँ गर्छु ।

डा. हरिप्रसाद पोखरेलको खास परिचय भन्नुपर्दा उनी प्राकृतिक चिकित्सक हुन् । उनी प्राकृतिक चिकित्सकको भारी बोकेर नेपाली समाजलाई सजिलो ज्ञान, विज्ञान र परिश्रम सिकाउने गुरु बाबु नै भएका छन् । उनी नेपाली समाजका एक जना त्यस्ता भरपर्दा मान्छे हुन् जसलाई राष्ट्र प्रमुख अथवा जुनसुकै सरकार प्रमुखले पनि राष्ट्रका लागि आवश्यक नौ रत्नमध्येका एक रत्नका रूपमा आफ्ना छेउमा राख्ता पनि हरिप्रसादको रापले नै धेरै विषयको विशिष्ट ज्ञान बटुल्न सक्छ । उदाहरणका लागि भन्ने हो भने श्रीखण्डको जङ्गलमा भएका कुकाठबाट पनि श्रीखण्डकै वासना आउने गर्छ । वास्तवमा हरिप्रसाद त्यही श्रीखण्ड हुन् । तर दुर्भाग्यग्रस्त हाम्रो राज्यसत्ता या सरकारले उनको सदुपयोग गर्न सकेको छैन । त्यति मात्र होइन सरकारमा आसितहरूले सके उनको नाउँ पनि सुनेका छैनन् ।

नेपाली परिवेशमा कसैलाई नबिझाउने, नजिस्काउने र नबिगार्ने एउटा अर्को मान्छेको नाउँ काड्नु पर्‍यो भने पनि डा. हरिप्रसादकै नाउँसमेत पनि लिनुपर्ने हुन्छ । इमानदार, योग्य र आफ्नो काममा मन, वचन र कर्मले समर्पित हुने व्यक्तिहरूको लेखाजोखा गर्नुपर्दा पनि अर्का एक जना हरिप्रसादलाई नै पनि अघि सार्नु पर्ने हुन्छ । उनको इमानदारिता, कार्यकुशलता र भावनालाई राष्ट्रले ठाउँ दिनु वाञ्छनीय हो तर हाम्रो राष्ट्रले राष्ट्र धरोहर, नेपालका विभूति योगी नरिहरिनाथलाई समेत चिन्नै नसकेको दुखद दृष्टान्त हामीसँग नै छ । योगी नरहरिनाथले यही आधुनिक नेपालमा ‘नेपाल, नेपाल र जय नेपाल’को ध्वनि उच्चारणका साथ निर्वाण प्राप्त गरेको समाचार पनि आलै छ । नेपाल राष्ट्रले न त उनको कायाको सम्मान गर्न सक्यो नत उनका कृतिकै जगेर्ना गर्न सक्यो । यस सती श्रापित मानिने मुलुकमा राष्ट्रवादी व्यक्तित्वहरूको पहिचानै तिरोहित पार्ने धमिराले सताउने गरेको छ । यतिबेला तिनै योगीका अर्का प्रतिनिधि पात्र डा. हरिप्रसाद पनि राष्ट्रबाट संरक्षित छैनन् भन्दा पनि त्यति अपत्यारिलो हुँदैन । त्यसैले डा. हरिप्रसाद जेजति छन् आफै मात्र छन् । उनले राष्ट्रहितका लागि जे गर्दैछन्, एक्लो बुताले गरिरहेका छन् ।  

डा. हरिप्रसाद प्राकृतिक चिकित्साका एउटा संस्था हुन् । वर्तमान यथार्थमा अरूद्वारा ओडिएको भए पनि नेपाली धरामा उभिएर ‘विश्वका लागि योग विज्ञान नै साझे महाऔषधि हो’ भनेर सर्वप्रथम उद्घोष गर्ने विश्व मानव पनि डा. हरिप्रसाद नै हुन् । विश्व योग दिवस नै उनकै परिकल्पना हो । उनको त्यो अमूल्य भावना, कृत्य र परिणाम हाम्रो नेपालले अझै ग्रहण गर्न सकेको छैन । उनको पौरखको सुगन्धलाई नेपाल सरकारका उच्च ओहदामा बसेका जुनसुकै जागिरे र नेताले ग्रहण गर्न सके नेपाली माटोको सुगन्धमै परिवर्तन गर्न सकिने थियो । किनभने एक व्यक्तिले देखाएको बाटोलाई यदि सरकारी तन्त्रका सहस्र आँखाले हेरिदिने हो भने वा पहिल्याई दिने हो भने सो विचार शक्तिशाली भएर राष्ट्रका चौतर्फी कुनामा पुग्न सक्छ । एक व्यक्तिको विचार सरकारको प्रशासकीय यन्त्रमा गाँसिन सकेमा उक्त विचार चौतर्फी प्रतिपादित र प्रतिपालित हुनसक्छ । अनि त्यस्तो विचार प्रत्युत्पादक भएर राष्ट्र नै महाज्योति भएर चम्कन सक्छ । तर युगौँदेखि दुर्भाग्यकै मात्र शिकार भइरहेको हाम्रो मुलुकका सौभाग्य सूचक डा. हरिप्रसादलाई राष्ट्रले जसरी चिन्नुपर्ने हो त्यसरी चिन्न सकेको छैन । मणिको मूल्य बुझ्ने औकात हाम्रो राष्ट्र हुन सकेका छैन । मलाई थाहा छैन कहिलेसम्म आफ्नो प्यारो राष्ट्रका सन्दर्भमा यस्तै नकारात्मक विचार मात्रै हामी नेपालीले बोकिरहनु पर्ने हो ।

हामी नेपालीले भोगिरहेको विडम्बनापूर्ण नेपाली समयमा डा. हरिप्रसाद हाम्रा आस्थाका धरोहर हुन् । यस भूमिमा उनको उज्ज्वल कर्म रोपिएको छ । यस कारण हाम्रो भूमिमा सुन्दर फूल अवश्य फुल्ने छ र त्यसको सुवासले राष्ट्र मग्मगाउने छ । तसर्थ उनी हाम्रा लागि सार्थक स्वप्न द्रष्टा पनि हुन् । त्यसैले हाम्रा लागि उनी पूज्य छन् । उनी हाम्रा अर्का पुरोधा हुन् । हाम्रो राष्ट्रका उनी एक जना अर्का जिउँदा विभूति नै पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप