शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

शुक्रबार, २१ फागुन २०७७, १४ : ०६
शुक्रबार, २१ फागुन २०७७

हेटौंडा । सङ्घीय सरकारले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । सङ्घीय सरकारले करिब रु सात अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा  औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो  । सरकारले हेटौँडा उपमहानगरपालिका वडा १३ र १४ मा पर्ने औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । नयाँ औद्योगिक क्षेत्रको पूर्वमा मयुरधाप, पश्चिममा कालापानी, उत्तरमा रातोमाटे डाँडा र दक्षिण उत्तरपानी चुरे वन क्षेत्र पर्दछ । यो औद्योगिक क्षेत्र हेटौँडा बजारभन्दा तीन किलोमिटर पश्चिममा पर्छ ।

सो औद्योगिक क्षेत्र स्थापनाका तत्कालका लागि सबै व्यवस्थापकीय काम हालको हेटौँडा औद्योगिक क्षेत्रअन्तर्गत व्यवस्थापन कार्यालयले जनाएको छ । नयाँ बन्ने औद्योगिक क्षेत्रमा एकीकृत सेवा पुर्याइने लक्ष्य लिइएको छ । एउटा उद्योगलाई आवश्यक पर्ने सबै खाले कर, उद्योग, भन्सारलगायत अन्य  आवश्यक कार्यालयको सेवा कार्यालयसमेत सोही औद्योगिक क्षेत्रभित्र स्थापना गर्ने परिकल्पनासहित मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ ।
पञ्च वर्षीय योजनाअनुसार पाँच वर्ष सबै पूर्वाधार निर्माण काम सम्पन्न गर्ने गरी मयुरधाप औद्योगिक क्षेत्र स्थापनाका योजना अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए । पहिलो चरणमा २०० बिघामा फैलिएको जग्गामा सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो । विसं २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३०० बिघा क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्रमा पुर्वाधार स्थापना पश्चात् सातदेखि १४ रोपनीको आकारमा ६२ औद्योगिक प्लटको औद्योगिक परिसरमा करीब पाँच दर्जन बढी उद्योग प्लान्ट राख्न सकिने गरी योजना तयार गरिएको छ । औद्योगिक क्षेत्रपरिसरमा ६२ औद्योगिक प्लट छुट्याइएको छ भने छुट्याइएको प्रत्येक प्लटमा सातदेखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ । 

सो औद्योगिक क्षेत्र स्थापना पश्चात् नयाँ उद्योगसँगै विशेष गरी काठमाडौँका विभिन्न घना बस्तीमा रहेका विभिन्न उद्योग कलकारखानालाई स्थानान्तरण गर्ने उत्तम विकल्पसहितको औद्योगिक क्षेत्रको रुपमा विकास हुने अपेक्षा गरिएको हेटौँडा औद्योगिक क्षेत्रका व्यवस्थापक र कँडेलले जानकारी दिनुभयो । मयुरधाप औद्योगिक क्षेत्रभित्र विसं २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापनासमेत गरिएको थियो । सो क्षेत्रमा मन्दिर, वन तथा बस्ती पर्ने भएपछि २०७३ वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयुरधापको १३४.८६ हेक्टर (१९९.१२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्र स्थापना अन्तर्गत पूर्वाधार निर्माणका लागि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । चालु आर्थिक वर्ष ०७७÷०७८ भित्रै मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याकङ्नसम्बन्धी अध्ययन कार्य सम्पन्न गर्ने गरी काम अन्तिम चरणमा पुर्याइएको हो । वातावरणीय प्रभाव मूल्याकङ्नपश्चात् पूर्वाधार निर्माणको काम अघि बढाइने छ । उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयले पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने बताइएको छ । सोहीअनुसार प्राप्त हुने बजेटका आधारमा पूर्वाधार निर्माणको कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाइने योजना रहेको हेटौँडा औद्योगिक क्षेत्रअन्तर्गत व्यवस्थापन कार्यालयका व्यवस्थापन कँडेलले बताए ।

मयुरधाप औद्योगिक क्षेत्र स्थापना पश्चात् विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ । स्थापित उद्योग कलकारखानाबाट राज्यलाई कर सङ्कलनमा टेवा पुग्ने विश्वास लिइएको छ । औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप