ad
केन्द्रीय संस्करण
विचार/दृष्किोण

विप्लवको उत्थान र जनक्रान्तिको विश्राम

person explore access_timeफागुन २१, २०७७ chat_bubble_outline0

 

माओवादी आन्दोलनमा जन्मिएको आशातित नेतामध्ये एक थिए– विप्लव उर्फ नेत्रविक्रम चन्द । विद्यार्थी आन्दोलनबाट पार्टी राजनीतिमा स्थापित भएका विप्लव कुनै बेला माओवादी आन्दोलनका युवाहरुका बीच एक आदर्शपात्र थिए । विप्लवको नाम क्रान्तिको बिम्ब थियो । यही पुँजीका साथमा थिए उनी । ठकुरी परिवारमा जन्मेर राजतन्त्रविरुद्धको आन्दोलनमा नेता र फौजी कमिसारको रूपमा उनको उदय भएको हो । माओवादी जनयुद्ध प्रारम्भ हुँदा ललितपुर जिल्ला समितिका सचिव रहेका विप्लव कर्णाली उपब्युरो इन्चार्जको रूपमा पश्चिम गएपछि माओवादी पार्टी राजनीतिमा स्थापित भएका थिए । कर्णालीमा कार्यक्षेत्र भएपछि त्यहाँ उनको नेतृत्वमा भएको फौजी सङ्घर्षको सफलताले उनलाई पार्टी केन्द्रीय समितिको सदस्य बन्ने अवसरको ढोका खुलेको थियो । केन्द्रीय समिति सदस्यका रूपमा उदय भएपछि विप्लवले राजनीतिमा कहिल्यै पछाडि फर्कनुपरेन । उनको राजनीतिक यात्रा विजय उत्सव मनाउँदै अघि बढ्यो । जो स्वाभाविक पनि थियो । माओवादी जनयुद्धको आधार क्षेत्र रोल्पा रुकुमको इन्चार्ज बनेर काम गर्ने सुवर्ण अवसर उनले प्राप्त गरे ।

राजा ज्ञानेन्द्रले पूर्ण रूपमा सत्ता हातमा लिएर शाही सैनिक फासीवाद लागू गरेपछि माओवादी शक्ति र संसदवादी शक्तिबीच कार्यगत एकताको वस्तुगत आवश्यकताबारे बाबुराम भट्टराईले बहस प्रारम्भ गरे । माघ १९ को कदमपछि त्यो कुरा पुष्टि भयो ।

मैसुर बैठकपछि भएको पटना गिरफ्तार काण्डले माओवादी हेडक्वाटर नेपाल फक्र्यो । त्यतिबेला विप्लव आधार क्षेत्र इन्चार्ज थिए । त्यही हैसियतमा प्रचण्डलगायत माओवादी शीर्ष नेताको सामीप्यता उनले प्राप्त गरे । उनका समकक्षी नेताहरु वर्षमान पुन पूर्वतिर थिए बादलको चियोचर्चा गर्न । कूलप्रसाद केसी गिरफ्तार भएपछि प्रचण्डले पुनलाई बादलको क्षेत्रमा खटाएका थिए ।

व्यक्तिगत रूपमा विप्लवको स्वभाव आफ्नो पारिवारिक विरासतबाट मुक्त नभएको त्यतिबेलाका एक जनमुक्ति सेनाका उच्च कमान्डर भन्छन् । उनी भन्छन्, छङछङ चुरा बज्ने हातबाट पस्केको खाना खानुपर्ने आधुनिक हतियारसहित उनी हिँड्ने बेला राजा महाराजाको सुरक्षामा जस्तो खट्नुपर्ने उनको महत्त्वाकाङ्क्ष यस्तो थियोे । हुन पनि त्यो सामन्ती संस्कार विप्लवमा ज्यादा देखिन्छ जानकारहरु भन्छन् । एक रोल्पाली कार्यकर्ता भन्छन्, आफू चढिरहेको गाडी थवाङमा हामीले ढुङ्गा बोकेर बनाएको हलमा सजाएर राखिएको छ । उनमा कति ठूलो अहम् छ ती कार्यकर्ता भन्छन् ।

जनयुद्धको अन्तिम समयमा आधार क्षेत्रको इन्चार्जका रूपमा काम गर्दा प्रचण्डको निकट हुने मौका पाएका उनले शान्ति प्रक्रिया थालनीपछि भने आफू प्रचण्डबाट टाढा हुनुपर्ने अवस्था देखे । किनभने मध्य क्षेत्रका इन्चार्जको जिम्मेवारीमा रहेका आफ्ना प्रतिस्पर्धी वर्षमान पुनः स्वाभाविक रूपमा प्रचण्डको बढी निकट हुन पुगे । ६२÷६३ को जनआन्दोलनको समयमा काठमाडौँ वरिपरिको इन्चार्ज हुँदा पुनले देशभित्र र बाहिरसमेत आफ्नो राजनीतिक सम्बन्ध बिस्तार गरिसकेका थिए । त्यसले विप्लवमा निकै ठूलो छटपटी सुरु भइसकेको थियो । त्यो छटपटीबाट उनले आफूलाई कसरी सुरक्षित गर्ने भन्ने अहं प्रश्न उभिएको बेला पहिलो संविधान सभाको निर्वाचनमा भाग लिएन । निर्वाचनमा भाग नलिएका उनका केही सहकर्मीसँग गठबन्धन बनाएर आफ्नो अलग अस्तित्व निर्माण गरे, जसमा कुलप्रसाद केसी सोनामहरु पनि थिए ।

पहिलो संविधान सभाको निर्वाचनपछि नारायण काजी समूहसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विवाद उत्पन्न भयो । सुरुमा एकता विरोधी रहेका विप्लव एकाएक एकता पक्षधर बने । कारण थियो प्रचण्डले उनलाई पार्टीको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको जनवर्गीय सङ्गठनको इन्चार्ज बनाउने अश्वासन । अन्ततः विप्लव एकताको पक्षमा उभिएर एकता विरोधीहरुलाई भने पचाइन्छ । त्यसबेला एकता गर्न हुन्न भन्ने एक नेता भन्छन् विप्लवलाई जनवर्गीय सङ्गठनको इन्चार्ज बनाएर प्रचण्डले विप्लवलाई आफूतिर ताने । 

माओवादी पार्टी सत्तारोहणसँगै आफ्ना समकक्षीहरु मन्त्री र सांसद बने । विप्लव सत्ता राजनीतिबाट कट्दै गए । समकक्षीहरु मूलधारको राजनीतिमा बलियोसँग स्थापित भए । अन्ततः विप्लवले पार्टीभित्र बखेडा निकाल्न थाले । जनयुद्धको धङ्धङी बाँकी नै रहेकोे ठूलो कार्यकर्ता पङ्क्ति विद्रोहको रोमान्सवादमा सजिलै फस्छ भन्ने कुरा विप्लवलाई ज्ञान थियो । उसले पार्टीभित्र जनविद्रोहको लाइन बनाउन जोड दिन थाल्यो । आफूले मात्रै त्यो कर्म गर्न नसक्ने कुरा राम्रोसँग बुझेका उनले मोहन वैद्यलाई आफ्नो अभिभावक चुने । वैद्यको छत्रछायाँमा बसेर माओवादीभित्र बितण्ड सुरु गरेर आफूलाई अलगधारको नेताका रूपमा स्थापित गरे । खरिपाटी बालजु र पालुङटार विस्तारित बैठकमा वैद्यसहितको समूहले माओवादीलाई क्रान्तिको गोलचक्करमा घुमाइरहे ।

माओवादी आन्दोलनको कारण सत्ताच्युत भएको सम्भ्रान्त वर्गले यो समूहलाई स्थापित गर्न ठूलो बल लगायो । माओवादी आन्दोलन ध्वस्त पार्न योभन्दा उत्तम अर्को विकल्प थिएन । फरकधारबाट नेकपा एमाले नेता केपी ओलीलाई र माओवादी आन्दोलनभित्रबाट विप्लवलाई प्रयोग गर्न सफल भयो । ओलीले घोर दक्षिणपन्थी धारबाट र विप्लवले वामपन्थी अतिवादी धारबाट माओवादी आन्दोलनमा हमला गरिरहे ।

पहिलो संविधान सभाबाट संविधान बन्न नदिन यो प्रवृत्ति सफल भयो । त्यसपछि मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन गरेर २०६९ मा अलग पार्टी बनाए । त्यहाँ बादलसमेत थिए । दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी पार्टीलाई चुनाव हराउन सबै हर्कत प्रयोग गरे । काङ्ग्रेस एमाले उम्मेद्वारहरुसँग व्यापक चन्दा असुली ग¥यो । हालका गृहमन्त्री बादलसमेत त्योबेला यो बहिष्कार अभियानका कमान्डर थिए ।

क्रान्तिकारी रोमान्सवादलाई आफ्नो पहिचान बनाएका विप्लव वैद्यसँग पनि टिक्न सकेनन् । बूढाहरुले क्रान्ति गर्ने भएनन् भन्दै २०७१ मा आफ्नै नेतृत्वमा अलग पार्टी बनाए । उनको साथमा थिए कालिकोटका खड्गबहादुर विश्वकर्मा । पटक पटक मन्त्री भएर पनि चर्चा योग्य कुनै काम नगरेका विश्वकर्मा विप्लवपछि दोस्रो बरियताका नेता बने ।

विप्लवले पार्टी बनाएको केही समयपछि नेपालको मोबाइल सेवा प्रादयक कम्पनी एनसेलको कर विवाद सार्वजनिक भयो । यो कर विवादलाई उसले आर्थिक स्रोतमा बदल्ने प्रयास ग¥यो । यो समूहले एनसेलसँग एक अर्ब रूपैयाँ लिने निर्णय ग¥यो । एनसेलले भने जति पैसा नदिएपछि उसले एनसेलको टावर ध्वस्त पार्ने मूर्खतापूर्ण काम ग¥यो । विज्ञान प्रविधिको युगमा सामन्य टावर भत्काएर खास असर पु¥याउन सक्दैन भन्ने ज्ञानसमेत नरहेका यो समूहले एनसेल हेडक्वाटरमा नै बम विस्फोट गरायो । जसका कारण सर्वसाधरण नागरिकको ज्यान गयो । त्यसै बेलाबाट विप्लवको खास पत्तनको यात्रा सुरु भयो ।

खड्ग ओली सरकारले ऊमाथि नाटकीय प्रतिबन्ध लगायो । देशभर सर्च एन्ड एरेस्ट अभियान चलाएर उसका गतिविधि नियन्त्रण गर्न सरकार सफल भयो । प्रतिबन्ध विरुद्धमा देशका सबै राजनीतिक शक्तिले आवाज बुलन्द ग¥यो । तर भुइँफुट्टा तानासाह बन्ने रुमानी सपनामा रहेका ओलीले कसैलाई सुनेन । योबीचमा कुमार पौडेलहरु राज्यपक्षबाट मारिए । मोरङमा विप्लव समूहले शिक्षकको घाँटी रटेर हत्या ग¥यो । नेता कार्यकर्ताको गिरफ्तारी मात्रै होइन अमूर्त राजनीतिक लाइन गणतन्त्र सङ्घीयता विरोधी राजापरास्त रायमाझी पथले विप्लव समूहलाई फस्टाउने अवसर पाएन । ऊ निरन्तर ओरालो यात्रामा थियो । भरपर्दो कार्यकर्ताको अभाव नेतृत्वभित्रको आपसी द्वन्द्व कमजोर जनआधारजस्ता पक्षले विप्लव कुनै न कुनै ढङ्गले शान्तिपूर्ण अवतरण खोजिरहेका थिए । कतिसम्म भने अब धेरै फस्नुहुन्न खुला हुने वातावरण बनाउनुप¥यो भन्ने तर्क स्वयं विप्लवको थियो ।

यहीबेला संसद् विघटनपछि राजनीति संवैधानिक र नैतिक प्राधिकारबाट च्यूत भएका केपी ओली सरकारले विप्लव समूहसँग वार्ता गर्ने भनेर प्रोपोगन्डाको एउटा कार्ड फाले । ओलीलाई माओवादी आन्दोलन ध्वस्त पार्न सहयोगी भूमिका खेलेका विप्लवलाई प्रचण्डविरुद्ध प्रयोग गर्ने गतिलो हतियारका रूपमा एक पटक प्रयोग गर्न सकिन्छ भन्ने भित्री मनोवैज्ञानिक पक्षले काम गरेको छ ।

संसद् विघटनपछि सिङ्गो देश ओलीको प्रतिगामी कदमविरुद्ध जुरमुराएर उठेको बेला विद्रोही पक्षको स्वाभाविक काम प्रतिगमन विरोधी ओलीविरुद्ध सङ्घर्ष हुनुपर्ने थियो । तर गणतन्त्र विरोधी ओलीसग घाँटी जोड्न पुग्ने विप्लव हर्कतले विप्लवमाथि माओवादी आन्दोलन ध्वस्त पार्न भूमिका खेलेको आरोप मात्रै होइन भन्ने पुष्टि हुन्छ । यो विप्लव अतिवादको अवसान हो । व्यक्तिगत कुण्ठा र रिसरागबाट जन्मिएको उनको एकीकृत जनक्रान्ति ओलीपथीय प्रतिगमनमा गएर टुङ्गिनु दुःखद् संयोग हो । नेपाली समाजका लागि विप्लवको अवसान राम्रो कुरा हुँदै होइन । तर उनको महत्त्वाकाङ्क्षा र गलत राजनीतिक बाटोले उनलाई अवसानकै बाटोमा लैजाने निश्चित थियो । तर भन्नुपर्छ आफूलाई सच्याउ र प्रतिगमनको मतियार नबन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.