शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानका अर्बपतिले निःशुल्क चन्द्रमामा लैजाने भएपछि तीन लाखले दिए आवेदन

शुक्रबार, २१ फागुन २०७७, ११ : ५६
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर सिर्जना गरेपछि विश्वका विभिन्न मुलुकबाट तीन लाखभन्दा बढीले आवेदन दिएका छन् । ​मीजावाले सन् २०२३ मा हुने चन्द्रमाको ६ दिने यात्राका लागि आठ जनालाई निःशुल्क लैजाने घोषणा गरेका छन् । यसका लागि उनले आवेदनसमेत माग गरेका छन् । आवेदन माग गरेलगत्तै विश्वका विभिन्न मुलुकबाट चन्द्रमामा जाने इच्छासहित आवेदन दिनेको ओइरो लागेको हो ।

जापानी अर्बपति मीजावाले एलन मस्कको स्पेसएक्ससँगको सहकार्यमा चन्द्रमामा जाने तयारी गरेका हुन् । यसका लागि उनले सहयात्रीका रुपमा आठ जनालाई लैजान चाहेका छन् ।

‘डेली मेल’का अनुसार हालसम्म तीन लाखजनाले मीजावासँग चन्द्रमामा जानका लागि आवेदन दिइसकेका छन् । तीमध्ये धेरैजसो भारतीय छन् । त्यसपछि क्रमशः अमेरिका, जापान, फ्रान्स र ब्रिटेनका नागरिक आवेदन दिनेमा अग्रपंक्तिमा छन् ।

चन्द्रमामा जाने ‘क्रु’मा सामेल हुनका लागि १४ मार्चसम्म आवेदन दिन सकिने छ । आवेदनमाथि २१ मार्चसम्म ‘स्क्रिनिङ’ हुने र आवेदकको छनोट प्रक्रिया सुरु हुने जनाइएको छ । निर्णायक अन्तरवार्ता र मेडिकल परीक्षण भने अर्को वर्ष हुनेछ ।

यसअघि मीजावाले कलाकारको टोलीलाई चन्द्रमामा लैजाने योजना बनाएका थिए । उक्त योजना रद्द गर्दै उनले एक चन्द्रमामा जानका लागि एक प्रेमिकाको खोजी पनि गरेका थिए । उनको प्रेमिकाका रुपमा चन्द्रमामा जानका लागि २७ हजारभन्दा बढी युवतीले आवेदनसमेत दिएका थिए । तर ती योजनालाई रद्द गर्दै उनले विभिन्न मुलुकबाट आठ जनालाई चन्द्रमामा लैजाने योजना बनाएका हुन् ।

स्रोतः डेली मेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप