शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ओलीलाई कुनै प्रकारको सहयोग गर्न सकिँदैन’

उहाँले राजीनामा दिनुभयो भने ठीकै छ, नत्र प्रतिनिधिसभाबाट गलत्याएर प्रधानमन्त्रीबाट हटाउँछौँ : मनिष सुमन
शुक्रबार, २१ फागुन २०७७, १० : ००
शुक्रबार, २१ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक किचलो साम्य पार्न नसकेपछि पुस ५ गते प्रतिनिधिसभा नै विघटन गरे । केही महिना सत्ता लम्याउने सोचले चालेको उनको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । अहिले प्रतिनिधिसभा पुनःस्थापना त भएको छ तर राजनीति भने अझै ट्र्याकमा आउन सकेको छैन । प्रधानमन्त्री ओलीले आफ्ना गतिविधि झन् बढाएका छन् । नेकपाको विवाद झन् बल्झिँदै गइरहेको छ ।

अदालतले दिएको निर्देशनअनुसार फागुन २३ गते प्रतिनिधिसभाको बैठक बस्न गइरहेको छ । साथै नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव लैजाने तयारी गरिरहेको चर्चा पनि सुनिन्छ । यसमा काँग्रेस र जनता समाजवादी पार्टीको के भूमिका हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेश सभा सदस्य मनिष सुमनसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चालेको कदमपछिको राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?

–सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चाल्नुभएको कदमलाई सम्मानित सर्वोच्च अदालतले खारेज गरेको त तर प्रधानमन्त्री अहिले पनि एकदमै गैरजिम्मेवार रूपमा प्रस्तुत भइरहनुभएको छ । रोम जलिरहँदा निरो बाँसुरी बजाउँदै थिए रे ! त्यस्तै पुस ५ गतेको कदमबारे सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो निर्णय सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्थ्यो । आफ्ना स्वजन र परिजनका बीच हाँसोमा व्यस्त हुनुहुन्थ्यो । त्यसपछि पनि उहाँले दिनहुँजसो वक्तव्य दिने, बाहिर जाने, असभ्य तरिकाले प्रस्तुत हुँदै आउनुभएको छ । मलाई सुरक्षा थ्रेट छ, तलमाथि हुनसक्छ जस्ता इमोसनल कुरा उहाँले गर्दै आउनुभएको छ । उहाँ कहिले के बोल्ने, कहिले के बोल्ने गर्नुहुन्छ । उहाँको अभिव्यक्तिले नै अत्यन्त गैरजिम्मेवार रूपमा प्रस्तुत भइरहेको प्रष्ट हुन्छ ।

पुस ५ गते उहाँले चालेको कदमलाई त सम्मानित अदालतले बदर गरिदिएको छ । यस्तो निर्णय आएपछि उहाँले विगतका नेताहरूबाट सिक्नुपर्थ्यो । तर त्यसो गर्नुभएन ।

नैतिकवान् नेता अझै पनि नेपालमा छन् । हिजोका दिनमा बाबुराम भट्टराईले संविधान सभा विघटन गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुभयो र उहाँकै पहलमा खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भयो । रुक्माङ्गत कटवाल काण्ड हुँदा प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललगायतका थुप्रै नेताहरूका दृष्टान्त छँदैछन् । त्यसरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।

सबै कुरा हेर्दा उहाँ साँच्चै गद्दाफी बन्न खोज्नु भएको छ । उहाँ सद्दाम हुसेन बन्न खोज्नुभएको छ । देशमा एकल शासन गरौँ भन्ने सोच उहाँमा सुरुदेखि नै देखिन्छ । त्यसका लागि उहाँले सबै संयन्त्र प्रयोग गर्नुभयो । हाम्रै पार्टीका एकजना सांसदलाई अपहरणको प्रयास भयो । त्यो अपहरणमा उहाँको मुख्य हात देखिन्छ । सत्ता उन्मादमा उहाँले यस्ता धेरै काम गर्दै जानुभयो । धन्न सर्वोच्च अदालतले उहाँको कदममा ब्रेक लगायो । ओली अझै नैतिकताहीन भएर लाग्नुभएको छ ।

उहाँले जुन संसद् विघटन गर्नुभयो त्यही संसदको लोगो लगाउन मिल्दैन । फागुन २३ गते बस्न गइरहेको संसद् बैठकमा सहभागी हुन उहाँलाई लाज लाग्छ कि लाग्दैन ? यी सबै कुरामा नैतिकता देखाएर राजीनामा दिएर बाटो खोलिदिनुपर्छ ।

झण्डै दुई तिहाइ बहुत भएको प्रधानमन्त्री, देशकै सबैभन्दा ठूलो पार्टी नेकपाका अध्यक्ष र सबै शक्ति छेउछाउ हुँदाहुँदै केपी शर्मा ओलीले यस्तो कदम चाल्नुको मनसाय के हुनसक्छ ?

–अब त कम्युनिस्टसँग नै सावधान रहनुपर्ने देखियो । कम्युनिस्ट शासनका धेरै सुन्दर पक्ष छन् र धेरै कुरूप पक्ष पनि छन् । कम्युनिस्टहरूले परिवर्तनकारी, उदारवादी, सिद्धान्तवादी कुरा गरेर भोट बटुल्छन् । भोट बटुलिसकेपछि फेरि त्यसलाई कुनै ‘वाद’मा रूपान्तरित गर्न खोज्छन् । पहिला पनि धेरै कम्युनिस्ट तानाशाह सत्तामा पुगे र सत्तामा पुगेपछि एकल तानाशाही शासन सुरु गरे । त्यसैको प्रारूप केपी शर्मा ओली हुनुहुन्छ । केपी ओलीको पार्टीलाई जनताले झण्डै दुई तिहाइ मत दिए । त्यही मतका आधारमा उहाँ प्रधानमन्त्री बनेपछि सुरुकै दिनदेखि संविधानमा व्यवस्था हुँदै नभएका काम गर्न थाल्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्र कहाँ छ– बालुवाटार । राष्ट्रिय अनुसन्धान केन्द्रको कार्यालय कहाँ छ– प्रधानमन्त्री कार्यालयमा । सम्पत्ति शुद्धीकरणको कार्यालय कहाँ छ त– प्रधानमन्त्री कार्यालयमा, रक्षा मन्त्री पनि आफै बन्नुभयो, प्रधानमन्त्री भएर दल विभाजन गर्ने अध्यादेश ल्याउने, अध्यादेश ल्याएर संवैधानिक परिषद्को अधिकार सङ्कुचित गर्ने, यी सबै कुरा हेर्दा उहाँ साँच्चै गद्दाफी बन्न खोज्नु भएको छ । उहाँ सद्दाम हुसेन बन्न खोज्नुभएको छ । देशमा एकल शासन गरौँ भन्ने सोच उहाँमा सुरुदेखि नै देखिन्छ । त्यसका लागि उहाँले सबै संयन्त्र प्रयोग गर्नुभयो । हाम्रै पार्टीका एकजना सांसदलाई अपहरणको प्रयास भयो । त्यो अपहरणमा उहाँको मुख्य हात देखिन्छ । सत्ता उन्मादमा उहाँले यस्ता धेरै काम गर्दै जानुभयो । धन्न सर्वोच्च अदालतले उहाँको कदममा ब्रेक लगायो । ओली अझै नैतिकताहीन भएर लाग्नुभएको छ । आफ्नो ज्यानलाई खतरा छ, ज्यान तलमाथि हुनसक्छ जस्ता अभिव्यक्ति दिनु र उहाँको पछिल्लो क्रियाकलाप र अभिव्यक्तिले उहाँले पुनः अर्को कुनै कदम चाल्न खोज्नुभएको देखिन्छ । भारतमा इन्दिरा गान्धीले यस्तै अभिव्यक्ति दिनुहुन्थ्यो । पछि इमर्जेन्सी लगाउनुभयो । पूरै गणतन्त्रलाई धरापमा पार्ने प्रयास गर्नुभएको थियो । तर सक्नुभएको थिएन । आफै रक्षा मन्त्री, आफै प्रधानमन्त्री, आफ्नै सरकारको सुरक्षामाथि भरोसा छैन प्रधानमन्त्री ओलीलाई ।

उहाँले चाल्नुभएको गतिविधिको विरोधमा सबै दलले आन्दोलन गरे । नागरिक समाज सडकमा आए । तैपनि उहाँ टसमस हुनु भएन । उहाँको पछाडि कुनै शक्तिको हात छ ?

–उहाँका पछाडि कुनै शक्ति छैन । उहाँको शक्ति भनेको गणित हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभाको संसद् सचिवालयले अहिलेसम्म एउटै पार्टीका रूपमा चिन्छ । निर्वाचन आयोगले पनि त्यही भनेको छ । अर्थात् उहाँ अहिले पनि शक्तिशाली पार्टीको अध्यक्ष र झण्डै दुई तिहाइ मतको भएको प्रधानमन्त्री हुनुहुन्छ । संसदीय दलको नेता पनि उहाँ नै हुनुहुन्छ । प्रतिनिधिसभाको गणितले उहाँलाई अझै हौस्याइरहेको छ । पार्टीकै कतिपय नेताले पनि उहाँलाई फर्काइरहेका छन् । केही दिन पहिले शिक्षा मन्त्रीले उहाँलाई फुटबल खेलाडी पेलेसँग तुलना गरेर अभिव्यक्ति दिनुभयो । उहाँका वरिपरि रहेका नेताहरूले पनि उहाँलाई त्यस्तै त्यस्तै सल्लाह दिँदै आउनुभएको छ । त्यसले उहाँमा सनक झन् बढ्दै गइरहेको छ । त्यही सनकले बल पुर्याइरहेको छ ।

नेकपाको अर्काे समूह अर्थात् प्रचण्ड–माधव पक्षसँग संसद्, केन्द्रीय समिति, स्थायी कमिटी र सचिवालय लगायत सबै निकायमा बहुमत छ, ओली अल्पमतमा हुनुहुन्छ तैपनि उहाँ शक्तिशाली भएर निस्किनुभएको छ, कोही त साथ दिँदै होला नि उहाँलाई ?

–प्रचण्डसँग बहुमत छ कि छैन त्यो कुरा थाहा छैन तर कानुनले त्यस्तो भनेको छैन । कानुनले अहिलेसम्म ओली नेकपाको अध्यक्ष, बहुमत प्राप्त संसदको प्रधानमन्त्री हुनुहुन्छ । भोलि गएर टाउको गन्ने कुरा आयो भने के हुन्छ, त्यो पछिको कुरा हो । अहिलेको अवस्थामा चाहिँ कानुनले पनि उहाँलाई बहुमतको नेता देखाएको छ ।

सबैभन्दा ठूलो कुरा कुर्सी हो । प्रधानमन्त्रीको कुर्सी आफैमा शक्तिशाली हुन्छ । त्यो कुर्सीमा बसेपछि यी सब मेरै हुन् । प्रहरी प्रशासन, सेना, सुखसुविधाले सनकको हार्मोन विकसित भएको हो । उहाँमा अहङ्कार भरिएको छ । यो जगतमा मभन्दा शक्तिशाली अरू कोही छैन भन्ने ठानिरहनुभएको छ ।

मेराविरुद्ध बोल्नेलाई म तह लगाइदिन्छु भनेर घमण्ड नगरे हुन्छ । जनता जागिसकेका छन् । साढे तीन सय वर्षको राजाको शासनलाई जनताले सहजै हटाइदिए, ओली को हो र ! उहाँको यो अहङ्कार केही दिनका लागिमात्र हो । फागुन २३ गते संसद्को बैठक बस्दैछ । त्यसपछि घटनाक्रमलाई हेर्दै जानु होला । प्रतिनिधिसभाबाट उहाँले राजीनामा दिनुभयो भने ठीकै छ नभए जनताले चाहेअनुसार नै प्रतिनिधिसभाबाट गलत्याएर प्रधानमन्त्रीबाट हटाउँछन् ।

यो हार्मोनले उहाँलाई कति दिनसम्म टिकाइराख्छ जस्तो लाग्छ ?

–गद्दाफीको अन्त्य कसरी भयो ? अमिनको अन्त्य कसरी भयो ? सद्दाम हुसैनको अन्त्य कसरी भयो ? यत्रा ठूल्ठूला शासकहरूका विरोधी नै थिएनन् तिनीहरूका देशमा । तर उनीहरूलाई त जनताले फालिदिए ।

नेपालमा त अझै सङ्घीय लोकतान्त्रिक व्यवस्था छ । प्रतिनिधिसभा पुनर्जीवित भएर आएको छ । प्रेस स्वतन्त्रता छ । यस्तो मुलुकमा कोही व्यक्ति म तानाशाह भएर उभिन्छु । मेराविरुद्ध बोल्नेलाई म तह लगाइदिन्छु भनेर घमण्ड नगरे हुन्छ । जनता जागिसकेका छन् । साढे तीन सय वर्षको राजाको शासनलाई जनताले सहजै हटाइदिए, ओली को हो र ! उहाँको यो अहङ्कार केही दिनका लागिमात्र हो । फागुन २३ गते संसद्को बैठक बस्दैछ । त्यसपछि घटनाक्रमलाई हेर्दै जानु होला । प्रतिनिधिसभाबाट उहाँले राजीनामा दिनुभयो भने ठीकै छ नभए जनताले चाहेअनुसार नै प्रतिनिधिसभाबाट गलत्याएर प्रधानमन्त्रीबाट हटाउँछन् ।

मलाई प्रधानमन्त्रीबाट हटाइयो भने पुनः तीन करोड जनताको मतबाट प्रधानमन्त्री भएर आउँछु भन्नुभएको छ नि उहाँले ?

–चुनावी प्रक्रिया लोकतन्त्रको निकै सुन्दर पक्ष हो । उहाँ जनताबाट चुनिएर आउनुभयो भने धेरै राम्रो । केही राजावादीले दुई तिहाइ ल्याएर राजालाई पुनः स्थापित गर्छौं भनिरहनुभएको छ । त्यो भनेको धेरै भइसक्यो फेरि राजावादीहरू सलबलाईरहेका छन् । अहिले त्यसरी नै ओलीले पनि चुनाव आएपछि दुई तिहाइ ल्याएर प्रधानमन्त्री बन्छु भन्नुभएको छ । यस्तो फट्याइँ कुरा गर्नुभएको सबैलाई थाहा छ । उहाँले झूटा र कपोलकल्पित कुरा गरेजस्तै दुई तिहाइ ल्याएर देशमा शासन गर्नुहुन्छ भन्ने कुरा पनि कपोलकल्पित नै हो ।

त्यसोभए ओली अब चुनावबाट प्रधानमन्त्री बन्न सक्नु हुन्न ?

–पक्कै होइन । अब राजनीतिमा उहाँको अवसान भइसक्यो । नैतिकता देखाउनुभयो भने भोलि जनताले सहानुभूति देखाउन सक्छन् । उहाँ नैतिक रूपले कति पतन हुनुभएको छ भने आफैले विघटन गरेको संसदको लोगो लगाइरहनुभएको छ । साथै फागुन २३ गते बस्ने संसद बैठकमा जाने तयारी गरिरहनुभएको छ । त्यहाँ गएर भाषण गर्ने तयारी गरिरहनुभएको छ । योभन्दा नैतिकहीन व्यक्ति को हुन्छन् विश्वमा ? सर्वोच्च अदालतले उहाँको प्रतिगामी निर्णय उल्ट्याइरहँदा केक काटेर जन्मदिन मनाउनुहुने केपी ओली अब हुने चुनावमा जितेर प्रधानमन्त्री बन्ने धेरै टाढाको कुरा भइसक्यो ।

अहिले सबै पार्टीले जनता समाजवादी पार्टीलाई सम्पर्क गरिरहेका छन् । हामीले हेर्ने गणित हो । नेकपा फुटेको छैन भने त्यसमा न काँग्रेसको कुनै भूमिका रहनेछ न जसपाको कुनै भूमिका रहनेछ । नेकपा फुटेको खण्डमा पहिलो भूमिका नेपाली काँग्रेसको रहनेछ । त्यसपछि हाम्रो भूमिका रहनेछ ।

एमसीसी, वान बेल्ट वान रोड, सीमा विवाद आदि  कुराले प्रधानमन्त्री ओलीलाई यस्तो कदम चाल्न बाध्य बनाएको कुरा बाहिर आएको छ । तपाईंलाई कतिको विश्वास लाग्छ ?

–काठमाडौँका केही कोठे विद्वान् जसको जनतासँग कुनै सम्बन्ध र सामिप्यता नै छैन, तिनले  नेपालमा भए–गरेका प्रत्येक घटनाक्रमलाई देश विदेशसँग जोड्ने गर्छन् ।

हामीसँग कूटनीतिक सम्बन्ध भएका मित्र राष्ट्रले हाम्रो देशको राजनीतिलाई नजिकबाट नियालिरहेका छन् । उनीहरूले नेपालको परिस्थितिलाई गम्भीरसाथ अध्ययन गरिरहेका छन्, त्यो स्वाभाविक हो । तर हामीले घर झगडाको दोष अरूलाई दिनु हुँदैन । नेपाल सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । हामी आजसम्म कसैको गुलाम भएका छैनौँ र आफ्नो परिवर्तन आफैले ल्याएका हौँ । हामीले विश्वमा उत्कृष्ट गतिविधि गरेका उदाहरण छन् । हुनै नसक्ने कुरालाई पनि हामीले गरेर देखाइदियौँ । जस्तो, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, राजतन्त्र हटाउने, संविधान सभाबाट संविधान बनाउने जस्ता कठिन कार्य सहज रुपमा सम्पन्न गरिसकेका छौँ । यो संविधानले देशमा समानुपातिक समावेशी व्यवस्था, धर्म निरपेक्षता जस्ता कुरा समेटेको छ । यो विषय कसैले कल्पनासम्म गरेको थिएन । तर हामीले गरेर देखाइदियौँ । त्यसमा कुनै विदेशी शक्तिको हात वा सहयोग थिएन । साथै प्रधानमन्त्री ओलीको यो कदमलाई कुनै विदेशी शक्तिले सहयोग गरेको छैन ।

नेकपामा घरझगडा भइरहेको छ । त्यो घरझगडामा तपार्इंहरूको साथ कसलाई हुन्छ ?

–अहिलेसम्म कसलाई साथ दिने भन्ने कुराका वातावरण तयार भएको छैन । फागुन ११ गते संसद् पुनस्र्थापना भएको छ । २३ गते पुनस्र्थापित संसदको बैठक बस्दैछ । अहिले सबै पार्टीले जनता समाजवादी पार्टीलाई सम्पर्क गरिरहेका छन् । हामीले हेर्ने गणित हो । नेकपा फुटेको छैन भने त्यसमा न काँग्रेसको कुनै भूमिका रहनेछ न जसपाको कुनै भूमिका रहनेछ । नेकपा फुटेको खण्डमा पहिलो भूमिका नेपाली काँग्रेसको रहनेछ । त्यसपछि हाम्रो भूमिका रहनेछ । यद्यपि जनता समाजवादी पार्टी सरकारमा गइहाल्ने अवस्था छैन । गणितीय हिसाबले सरकारमा जाने हाम्रो हैसियत छैन । हाम्रो उद्देश्य भनेको रेशम चौधरीको रिहाइ, संविधान संशोधन हो । त्यो कुरामा सहमति मुख्य हो ।

अर्को कुरा, नेकपा विभाजन भएकै छैन । अहिले त्यही घर झगडा मात्र भइरहेको छ । विभाजित भएपछि मात्र कसलाई सघाउने भन्ने कुराको छिनोफानो हुन्छ । अहिले हाम्रा लागि दुवै सापनाथ र नागनाथ हुन् ।

ओली समूहले नेकपाको आधिकारिकता पायो भने जसपा नेपालको सहयोग हुन्छ कि हुँदैन ?

–त्यो कुरा अहिल्यै भन्न सकिँदैन । तर के कुरामा स्पष्ट हुनुपर्छ भने केपी ओलीले पुस ५ गते चाल्नुभएको कदमको हामीले घोर विरोध गर्यौँ । २० वटा विरोधसभा गर्यौं । ती सबै कार्यक्रमको एउटै उद्देश्य थियो ओलीबाट देशको उन्मुक्ति । यो अवस्थामा पुनः ओलीलाई समर्थन कसरी गर्न सक्छौँ ? उनैलाई प्रधानमन्त्री कसरी बनाउन सक्छौँ ? हाम्रो पनि त नैतिकताको कुरा छ । त्यसैले ओलीलाई कुनै प्रकारको सहयोग गर्न सकिँदैन । अरू कुनै पक्ष आयो भने विचार, सिद्धान्त र हाम्रा मागको बारेमा छलफल भएर सहमति हुन सक्छ । अनि कार्यान्वयन भयो भनेमात्र हामी विचार गर्न सक्छौँ ।

दुई पार्टीको एकीकरण भए पनि न केन्द्रमा संसदीय दल समायोजन भएको छ, न त प्रदेशमै । त्यसको प्रभाव सरकारमाथि पनि परेको छ । अब प्रदेश सभाको नयाँ अधिवेशन हुनुभन्दा पहिले संसदीय दलको समायोजनको टुङ्गो लगाउनुपर्छ । समायोजन भएपछि बन्ने संसदीय दलको नेताको नेतृत्वमा नयाँ मुख्यमन्त्री बन्नेछ ।

अब तपार्इंकै पार्टीको कुरा गरौँ । पार्टी एकीकरण भएको ११ महिना बितिसक्यो, अझै समायोजन टुङ्गिएको छैन, समस्या कहाँ भइरहेको छ ?

–साँच्चै भन्ने हो भने सोचे जसरी पार्टी समायोजन प्रक्रिया अगाडि बढेको छैन । त्यसका विभिन्न कारण छन् । पहिलो कारण त कोरोना महामारी नै हो । दोस्रो कारण प्रधानमन्त्री ओलीको पुस ५ को कदम नै हो । त्यसको विरोधमा हामी आन्दोलनमा थियौँ । यति हुँदाहुँदै पनि समायोजनका काम अगाडि बढिरहेका छन् । केही दिनमा सबै कुरा टुङ्गिनेछ भनेर विश्वास गरौँ । सबै जिल्ला तहमा समायोजनको काम द्रुतगतिमा अगाडि बढेको छ । । जनवर्गीय सङ्गठनको समायोजनको काम अगाडि बढेको छ । आठवटा जनवर्गीय सङ्गठनको काम अगाडि बढेको छ ।

तपाईं प्रदेश २ का प्रदेशसभा सदस्य पनि हुनुहुन्छ र त्यहाँ पार्टीले सरकारको नेतृत्व पनि गरेको छ । तर सरकारको बारेमा बेलाबेलामा निकै टीकाटिप्पणी हुने गरेको छ । यस्तो किन हुन्छ ?

–बाहिर हुने गरेका टिप्पणीलाई नै तपाईंले उठाउनुभएको छ । हो, प्रदेश २ मा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएको छ । सरकारका राम्रा कामको प्रशंसा गरिरहेको हुन्छु । साथै नराम्रा कामको आलोचना पनि गरिरहेको हुन्छु । अर्थात् गलत र सही कुन हो प्रस्ट भन्ने आँट मैले राखेको छु । जहाँसम्म सरकारको कुरा छ । दुई पार्टीको एकीकरण भए पनि न केन्द्रमा संसदीय दल समायोजन भएको छ, न त प्रदेशमै । त्यसको प्रभाव सरकारमाथि पनि परेको छ । अब प्रदेश सभाको नयाँ अधिवेशन हुनुभन्दा पहिले संसदीय दलको समायोजनको टुङ्गो लगाउनुपर्छ । समायोजन भएपछि बन्ने संसदीय दलको नेताको नेतृत्वमा नयाँ मुख्यमन्त्री बन्नेछ । पात्र फेरिए पनि सरकार जनता समाजवादी पार्टीको नै रहन्छ । त्यसले आफ्नो काम गतिशील रूपमा अगाडि बढाउनेछ ।

तपाईंले सरकारको प्रशंसा गर्नुभन्दा बढी आलोचना गर्नुभएको छ, असन्तुष्टि चाहिँ केमा हो ?

–मैले आलोचना मात्र होइन, प्रशंसा पनि गर्ने गरेको छु । सरकारले प्रदेश प्रहरी ऐन ल्यायो, मैले तारिफ गरेँ । लोक सेवा ऐन ल्यायो, त्यसको पनि तारिफ गरेँ । यस्ता थुप्रै कामको प्रशंसा गरेको छु । तर सरकारले गरेका गलत कामको आलोचना पनि गरेको छु । त्यहाँका मन्त्रीहरूले कहिलेकाहीँ बोलेका ती छाडा कुरा, गलत व्यवहार, सरकारको रेडबुक हेर्दा सरकारको अनुहार देखिन्छ । ती कुरा जहाँ गलत भएको छ, त्यसको मैले विरोध गरेकै हुँ र गरिरहन्छु । जनताले सरकारका गतिविधि टुलुटुलु हेरेर बस्न मलाई पठाएको हैन । जनताको हकमा हुने कामको बारेमा बोल्नुपर्छ । त्यहाँका विपक्षीले नबोलेपछि बोल्ने मनिष सुमन नै हो भन्ने कुरा जनताले पनि बुझेको छ ।

मनिष सुमनले टड्कारो रूपमा कुरा गर्नु, सरकारको आलोचना गर्नुको कारण मुख्यमन्त्री पदका लागि हो भन्छन् नि, के साँच्चै हो ?

–म पार्टीको कार्यकर्ता हुँ । पार्टीले जिम्मेवारी दिन कुनै कञ्जुस्याइँ गरेको छैन । थुप्रै पद दिएको पनि छ । त्यसमा म सन्तुष्ट छु । तसर्थ सरकारको आलोचना गर्नुमा मलाई मुख्यमन्त्री वा कुनै पद चाहिएको छैन । त्यसका लागि मैले त्यसो गरेको होइन । जनताले मलाई जे जिम्मेवारी दिएका छन्, त्यो पूरा गरिरहेको छु ।

नेकपाका दुई पाइलटले राम्रोसँग जहाज चलाउन सकेनन् र बीचमै दुर्घटनाग्रस्त बनेको छ । जसपामा पनि दुई जना पाइलट छन्, त्यो पनि बीचमै दुर्घटना हुने हो कि ? के लाग्छ तपाईंलाई ?

–जनता समाजवादी पार्टीमा त्यस्तो दुर्घटना हुँदैन, विश्वास गर्नुस् । कारण के हो भने नेकपामा थुप्रै अवसर थिए । छोरी–बुहारीलाई मन्त्री बनाउनु थियो, ओम्नी ग्रुप जस्ताबाट विभिन्न हिसाब किताब पनि लिनु थियो । तर जसपा नेपालमा त्यस्तो केही छैन । जसपा नेपालमा कुनै अवसर छैन । न प्रधानमन्त्री बन्नुछ न मन्त्री नै । एक दुईवटा मन्त्रीका लागि पार्टीलाई दुर्घटनाग्रस्त बनाउँछन् भन्ने लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप