शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'काँग्रेसले इन्जुरी टाइममा गोल गर्छ, पोल बाहिर गोल जान दिदैनौँ'

बिहीबार, २० फागुन २०७७, २१ : २७
बिहीबार, २० फागुन २०७७

नेपाली काँग्रेसले वर्तमान राजनीतिक विषयमा ठीक समयमा निर्णय लिने बताएको छ । विहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेको थियो ।

काँग्रेसभित्र पुनःस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ ।

सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु काँग्रेस पक्ष निर्णायक हुने गरि परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।

पदाधिकारी बैठकको अनिर्णयसँग काँग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए ।

उनले भने, 'बैठकमा साझा धारणा बनाउने र ठीक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठीक ढंगले निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौ । तर ठोस निर्णय संसदीय दलको बैठकमा  सांसदहरुको धारणाका साथ गर्छौ ।'


काँग्रेसले परिपक्व रुपमा संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्ने शर्माले बताए । 'अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाई नै गरेर जान्छौ भन्ने कुरा । काँग्रेसले अपरिपक्व रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्छ । गोल पोष्ट भित्रै गोल गर्ने गरि ठीक ढंगले राख्छौ । पोल बाहिर गोल जान दिदैनौँ । भोलि संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठीक समयमा ठीक निर्णय गर्छ,'उनले भने ।
 
काँग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा प्रचण्ड माधव समूहले नेपाली काँग्रेसका पदाधिकारीसँग छलफल गर्ने बताएको छ ।

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप