शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर साहित्य महोत्सव : जानकी मन्थनदेखि मैथिली साहित्य र एसिड आक्रमणसम्मको चर्चा

बिहीबार, २० फागुन २०७७, २० : ५१
बिहीबार, २० फागुन २०७७

जनकपुर । जनकपुर साहित्य महोत्सवको दोस्रो दिन जानकी मन्थनदेखि मैथिली साहित्यको इतिहास र एसिड आक्रमणका घटनासम्मको चर्चा भएको छ । जनकपुरधाममा आयोजित महोत्सवमा बिहीबार मैथिली भाषा तथा संस्कृतिको इतिहास, जानकी, जनकपुरधामको पर्यटनका साथै महिला सशक्तिकरणसम्मका विषयमा मन्थन भएको हो ।

‘जानकी मन्थन’बारे चर्चा गर्दै मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा प्रवचन दिएका थिए । उनले विभिन्न रामायणमा उल्लेख जानकी जन्म र व्यक्तित्वको विषयमा वर्णनात्मक ढंगले प्रस्ट पारेका थिए । 

साहित्यकार डा. विमलले माता जानकीले सम्पूर्ण नारीमात्र नभई मानव जगतलाई त्याग र संयमताको भावको पाठ सिकाएको र मिथिला क्षेत्रका लागि यो अनुकरणीय रहेको बताए ।

उनले मिथिलाको विषयमा समेत चर्चा गरे । उनले रामराज्य अर्थात् सुशासनको नमूना मिथिलाले नै दिएको बताए । उनले भने, ‘भगवान रामले अयोध्यामा शासन गरेपछि मात्रै रामराज्यको चर्चा भयो र उनी असल राजाको छवि बनाउन सफल भए, भगवान रामले मिथिलाबाटै सुशासनको कला सिकेर अयोध्यामा लागू गरे ।’

‘जाऔँ जनकपुर सुदर्शनजीसँग’ विषयमा भएको मन्थनमा मानसी अग्रवालले जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन् । जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग कुरा गरिरहँदा अग्रवालले जनकपुरधामको सौन्दर्यताको वर्णन गरिन् । 
यद्यपि पर्यटकलाई जनकपुरधाममै टिकाउनका लागि कुनै पनि ठोस योजना नरहेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

आफु नेपालको मनाङ, मुस्ताङ, रारा ताल र जनकपुरधाम घुम्न लालयित रहेको र जनकपुरधाम आएपछि यो सपना साकार भएको बताउँदै उनले यहाँका मन्दिरहरूमा रहेका मनमोहक कलाकृतिले आकर्षित गरेको बताइन् । मानसीले यहाँको लोक नृत्य झिझिया, मिथिला चित्रकला र लस्सी असाध्यै मन परेकोसमेत सुनाइन् । 

उनले भनिन्, ‘यी तीन चिजले मलाई यति आकर्षित ग¥यो कि मैले यहाँको नृत्य झिझिया र मिथिला चित्रकला सिकेँ, लस्सी दिनमा ३ पटकसम्म खान्थेँ ।’

यद्यपि जनकपुरधामका यी धरोहरहरुलाई प्रचार प्रसार गर्न नसक्दा जनकपुरधामको पर्यटनले फट्को मार्न नसकेको मानसीले बताइन् । ‘मैथिली साहित्य र इतिहास’ विषयमा डा. रामावतार यादव र रोशन जनकपुरीले बहस गरेका थिए । 

डा. यादवले मैथिली भाषामाथि आफ्नैले पटक पटक आक्रमण गर्दा यसले आफ्नो समृद्धि गुमाउँदै गएको तितो यथार्थ चित्रण गरे । उनले मैथिली भाषा मेरो हो भन्नेहरुले नै यसको संरक्षण तथा सम्वर्द्धनमा चासो नदेखाएपछि यस्तो अवस्था सिर्जना भएको बताए । 

उनले भने, ‘मैथिली भाषाको मिठास अझै जीवित छ भने यसको श्रेय विदेशी विद्वानहरुको हातमा जान्छ न कि हाम्रो ।’ साहित्यकार जनकपुरीले मैथिली भाषाको अस्तित्व अहिले पनि गाउँघरमा रहेका कथित तल्लो तप्काका व्यक्ति, मजदुर किसानहरुले बचाएको बताए । उनले मैथिली भाषामा संस्कृत भाषा हावी हुँदै गएपछि यसले आफ्नो निजत्व गुमाएको यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताए ।

एसिड बेच्नेलाई जन्मकैदको सजाय माग

जनकपुर साहित्य महोत्सवमा ‘सौन्दर्य भित्र : सौन्दर्य बाहिर’ विषयमा भएको मन्थनमा एसिड आक्रमणबाट पीडित आरती साहलाई पनि सहभागी गराइएको थियो । आरतीले एसिड हमलाकारीलाई जस्तै एसिड बेच्नेलाई पनि कडा कारबाही हुनुपर्ने माग गरेकी छन् । उनले एसिड प्रहार गर्ने तथा एसिड बेच्ने दुवैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन् । 

आरतीले बिना लाइसेन्स पनि व्यापारीहरुले पैसाको लालचमा एसिड बिक्री गरिरहेकाले एसिड प्रहारका घटना बढेको बताइन् । आफ्नो पुरानो तस्वीर देखाउँदै उनले भनिन्, ‘यो आरती (तस्वीरमा भएकी) मरिसकेकी छ र अब यो आरती जीवित छ ।’ एसिड प्रहारपछिको आफ्नो स्वरुपमा बाँच्नका लागि आफूलाई समाजको सहयोगको आवश्यकता रहेको उनले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप