शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहेत्तर सम्बन्धका कारण कैलालीका व्यापारी शिवचरणको हत्या

सुपारी दिने महिला पक्राउ
बिहीबार, २० फागुन २०७७, १९ : ५२
बिहीबार, २० फागुन २०७७

काठमाडौँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका शिवचरण राना ‘छोटु’को हत्यामा संलग्न एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहिबार जिल्ला प्रहरी कार्यालय कैलालीले हत्यामा संलग्न आरोपी जयन्ती चौधरीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । रानाको हत्यामा मुख्य योजनाकार रहेकी ३७ बर्षिय चौधरीले नै ‘सुपारी’ दिएको प्रहरीको दाबी छ । 

जयन्तीले आफुलाई मानसिक तनाव दिएकाले हत्याको योजना बनाएको प्रहरीलाई साविती बयान दिएकी छिन् । उनले हत्याको योजना बनाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए । 

जयन्तीले नाता पर्ने युवक र सहकर्मीलाई प्रयोग गरेर छोटुको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । उनीहरु दुवै फरार छन् । योजनाकारसँग उनीहरुको सम्बन्ध र रिसिइबीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

विवाहेत्तर सम्बन्ध
गेटा आँखा अस्पताल अगाडि शिवचरणको किराना पसल थियो । पसल चलाउन थालेपछि मुख्य आरोपी जयन्ती र मृतक नजिकिएका थिए  । उनीहरुबीच विवाहेत्तर सम्बन्ध रहेको बताइएको छ । 

अनैतिक सम्बन्ध रहेको कुरा गाउँमा गाईं–गुईं भएपछि स्थानीय पञ्च बसरे दुई लाखमा मिलापत्र गरिएको थियो । र, सम्बन्ध टुंग्याइएको थियो । 

मिलापत्र गरेपछि टाढा भएजस्तो गरेपनि उनीहरु पुनः नजिक भए । सम्बन्ध बढ्दै जाँदा झैझगडा हुने, एकअर्काप्रति शंका उपशंका बढ्न थाल्यो । एकअर्काले ‘विश्वासको परिक्षण’ गर्ने गरेको र  आर्थिक लेनदेनको हुँदै आएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । 

मृतक छोटु भनिने रानाले अर्कै महिलासँग सम्बन्ध राखेको थापा पाएपछि जयन्ती विक्षिप्त भइन् । आफूप्रति इमान्दार नभएपछि बदला लिनका हत्याको योजना बनाएको उनले प्रहरीलाई बताएकी छिन् । 

‘मुख्य आरोपीले यसअघि पनि पटकपटक रानाको हत्या गर्ने योजना बनाएको देखिन्छ’ डिएसपी प्रतिक विष्टले भने–‘अन्तिम प्रयास स्वरुप सुपारी दिएको अनुसन्धानबाट खुलेको छ ।’ 

आरोपीले रानाले प्रयोग गर्ने सवारी, बाटो र पसल आउजाउ गर्ने समयको बारेमा फरार दुईजना आरोपीलाई जानकारी गराएकी थिइन् । 

गत फागुन १४ गते राति आरोपी र हत्यामा संलग्न अन्य दुईजना पुरुषले फोनमा कुरा गरेर हत्या योजना बनाएका थिए । योजना अनुसार जयन्तीका आफन्त र सहकर्मीले शनिबार बिहान छोटुको हत्या गरेका थिए । 

फागुन १५ मा  शिवचरणको शव टाउकोमा धारिलो हरियार प्रहार गरिएको, रगत बगिरहेका अवस्थामा गेटा मेडिकल कलेज नजिक नालामा भेटिएको थियो । 

सम्बन्धित समाचार 

कैलालीमा व्यापारी हत्या: चार दिनसम्म हत्याराको पहिचान खुलेन​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप