सकसपूर्ण अवस्थामा देशको अर्थतन्त्र, ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकको सूचीमा नेपाल
कोरोनाको कारण मुलुकको आर्थिक वृद्धिदरमा ठुलो धक्का लागेको छ । केन्द्रीय तथ्याङ्क विभागलाई आधार मान्ने हो भने गत वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक रह्यो । अझ कोरोनापछिको लकडाउनका कारण उक्त दर १५.४ प्रतिशतमा खुम्चियो । गत वैशाखमा २.२७ प्रतिशतको आर्थिक वृद्धिदरको आँकलन गरेको विभागले जेठ महिनाबाट आर्थिक गतिविधि नियमित हुने अनुमान गरेको थियो । तर असारसम्मै बन्दाबन्दीको अवस्था रहेपछि देशको आर्थिक वृद्धिदरमा ठूलै झट्का लागेको छ ।
कोरोनाले नेपालको अर्थतन्त्रमा खासै असर नगरेको, आर्थिक वृद्धिदर न्यून भए पनि माइनसमा नजाने तर्क भइरहेकै बेला सरकारकै एउटा निकायले आर्थिक वृद्धिदरको कहालीलाग्दो चित्र सार्वजनिक गरेको हो । जबकि भूकम्पमा समेत मुलुकको आर्थिक वृद्धिदर माइनसमा गएको थिएन ।
आर्थिक वर्ष २०७२/०७३ (सन् २०१५/१६) मा गएको भूकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा झरेको थियो । अर्थविद् डा. शंकर शर्मा कोरोनाका कारण अर्थतन्त्रमा ठुलो क्षति पुगेको बताउँछन् । भूकम्पको बेलामा पनि ऋणात्मक नभएको र त्यसपछिका तीन वर्ष पुनर्निर्माणका कारण आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले भने, ‘भूकम्प एक पटक आएको र सीमित क्षेत्रमा मात्र असर गरेको हुनाले आर्थिक वृद्धिदर ऋणात्मक तिर जान पाएन तर अहिले कोरोनाको प्रभाव लामै समय रह्यो, यसले राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव परेकाले आर्थिक वृद्धिमा झट्का लागेको हो ।’
नेपाल कृषि प्रधान देश भए पनि कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान घट्दै जाँदा विभिन्न माहामारी र प्रकोपको असर सिधै गैर कृषि क्षेत्रमा पर्दा त्यसले आर्थिक वृद्धिमा प्रहार गरेको उनको भनाइ छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल लकडाउनले देशको आर्थिक वृद्धिमा ठुलो असर गरेको बताउँछन् । उनी भन्छन्, ‘साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेर सोहीअनुसार आर्थिक गतिविधि चलाएका थियौं तर चैतपछिको अवस्था फेरिँदा अर्थतन्त्रमा ठूलै असर परेको छ ।’
कोभिडले सबैभन्दा बढी असर आवास तथा भोजन सेवा र यातायात तथा भण्डारण क्षेत्रमा परेको छ । आवास तथा भोजन सेवामा २५.७ प्रतिशतले आर्थिक वृद्धिदर खुम्चने अनुमान छ भने भण्डारण तथा यातायात क्षेत्रमा १३.४ प्रतिशतले खुम्चने अनुमान छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका १९० सदस्यमध्ये नेपाल लगायत २३ देशले महामारीका बाबजुद पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान थियो । तर ती सबै अनुमानलाई सरकारको निकायले गलत साबित गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत आर्थिक वृद्धि ४.६ प्रतिशतले खुम्चने अनुमान छ । जानकारहरु झण्डै ४० वर्षपछि नेपालको अर्थतन्त्र ऋणात्मक हुन पुगेको बताउँछन् ।
अर्थतन्त्रको आकार ३९ खर्ब नाघ्यो
अहिले देशको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । नयाँ आधारदर अनुसार अर्थतन्त्रको आकार बढेको छ । गत वर्ष ३८ खर्ब ५९ अर्ब रुपैयाँ थियो । आधार वर्ष परिवर्तन गर्दा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५.४२ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा १४.०७ प्रतिशतको धनात्मक परिवर्तन हुँदा अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुग्ने केन्द्रीय तथ्यांक विभागको भनाइ छ ।
सन् २०१०÷११ लाई नयाँ आधार वर्ष कायम गरेर यसपटकको राष्ट्रिय लेखा तथ्याङ्क प्रकाशित गरिएको हो । यो पाँचौ आधार वर्ष हो । यसअघि १९६४/६५, १९७४/७५, २०००/०१ लाई आधार वर्ष मानेर प्रतिवेदन प्रकाशित हुँदै आएको थियो ।
आधार वर्ष परिवर्तन हुँदा स्थिर मूल्यमा समेत परिवर्तन हुने हुँदा स्थिर मूल्यलाई आधार मानेर गणना गरिने विगतका राष्ट्रिय लेखा तथ्यांकमा समेत परिवर्तन हुन्छ । यसै आधार वर्षको आधारमा प्रतिव्यक्ति आम्दानीसमेत घटेको देखिन्छ । अहिले प्रतिव्यक्ति आम्दानी ११३४ डलर छ, जबकि अघिल्लो वर्ष ११५९ डलर थियो ।